- रामचन्द्र कार्की
आज जेष्ठ १५ गते, १९ औं गणतन्त्र दिवस । नेपाली इतिहासको एउटा यस्तो स्वर्णिम र गौरवशाली दिन, जसले सदियौंदेखि कायम रहेको सामन्ती राजतन्त्रको अन्त्य गर्दै जनताका छोराछोरी राष्ट्रको सर्वोच्च स्थानमा पुग्न सक्ने प्रणालीको उदय गरायो। २०६५ साल जेष्ठ १५ गते ऐतिहासिक संविधान सभाको पहिलो बैठकले झन्डै २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको विधिवत् अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। यो केवल व्यवस्था परिवर्तन मात्र थिएन, नेपाली जनताको सार्वभौमसत्ता र आत्मसम्मानको नयाँ युगको सुरुवात थियो।
यो राजनीतिक उचाइ र अभूतपूर्व परिवर्तन रातारात सम्भव भएको होइन। ऐतिहासिक १० वर्षे महान जनयुद्ध, हज्जारौंको बलिदानीपुर्ण संघर्ष, त्यसको सुदृढ वैचारिक नेतृत्व र शान्ति प्रक्रियाको महत्वपूर्ण भूमिका रहेको छ। २४० वर्ष लामो बलियो राजतन्त्रको जरा हल्लाउन सामान्य आन्दोलन पर्याप्त थिएन। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा भएको जनयुद्धले नै नेपाली समाजमा राजनीतिक चेतनाको उभार ल्यायो। यस युगान्तकारी परिवर्तनका प्रमुख पिता वा संवाहक नेता पुष्पकमल दाहाल 'प्रचण्ड' हुन्। उहाँकै दूरदर्शी नेतृत्व, साहस र रणनीतिक चातुर्यताका कारण मुलुक दश वर्षको जनयुद्ध र त्यसपछिको ऐतिहासिक शान्ति प्रक्रिया हुँदै गणतन्त्रको विन्दुसम्म आइपुगेको हो। प्रचण्डकै नेतृत्वमा उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका मानिसहरूले आफ्नो अधिकारका लागि आवाज बुलन्द गर्ने आँट पाएका हुन्।
ऐतिहासिक शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको सबैभन्दा बलियो आधारशिला तत्कालीन नेकपा (माओवादी) र सात राजनीतिक दलबीच भएको ऐतिहासिक १२ बुँदे समझदारी नै थियो। उक्त समझदारीमा सात राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डले ऐतिहासिक हस्ताक्षर गर्नुभएको थियो। सोही १२ बुँदे समझदारीको जगमा २०६२/६३ सालको ऐतिहासिक १९ दिने दोस्रो जनआन्दोलन आँधीबेहरी जस्तै उत्कर्षमा पुग्यो र राजतन्त्र घुँडा टेक्न बाध्य भयो। जनआन्दोलन सफल भई मुलुक पूर्ण रूपमा शान्तिको मार्गमा अघि बढेपछि, २०६३ साल मंसिर ५ गते भएको 'बृहत् शान्ति सम्झौता' मा पनि कोइराला र प्रचण्डले नै हस्ताक्षर गरेर युगान्तकारी परिवर्तनको ढोका खोल्नुभयो। यस ऐतिहासिक दिनमा जनआन्दोलनका नायक स्वर्गीय कोइरालाको साहसिक र अभिभावकीय योगदानप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछु।

गणतन्त्रका नायकहरू
यसैगरी, तत्कालीन नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले शान्ति प्रक्रिया, १२ बुँदे समझदारी र गणतन्त्रको वातावरण निर्माण गर्न खेलेको सकारात्मक र समन्वयकारी भूमिका नेपाली इतिहासले सधैं सम्झिरहनेछ। इतिहासको सुन्दर संयोग, तिनै नेता प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत गराउँदै नेपाली कम्युनिस्ट पार्टी पुनर्गठन गरेर देश र एजेन्डाको रक्षाका लागि सहकार्य भइरहेको छ।
विदेशी र स्वदेशी शक्तिहरूको अनेकौं आशंकाका बीच ऐतिहासिक शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा प्रवेश गर्यो। २०६४ साल चैत्र २८ गते नेपालको इतिहासमै पहिलोपटक संविधान सभाको निर्वाचन सम्पन्न भयो। कुल ६०१ सदस्यीय उक्त ऐतिहासिक संविधान सभामा प्रचण्डको नेतृत्वमा रहेको माओवादी पार्टी २४० सिट सहित सबैभन्दा ठूलो दलका रूपमा विजयी भयो। यो विजय केवल सिटको संख्या मात्र थिएन, यो माओवादीले अघि सारेका एजेन्डाहरूको राजनीतिक र नैतिक विजय थियो। तत्कालीन अवस्थामा परम्परागत संसदवादी दलहरू सुरुमा गणतन्त्रको मुद्दामा पूर्णतः सहमत नभए पनि प्रचण्डको राजनीतिक सुझबुझ, एजेन्डाको प्रखरता र कोइराला तथा नेपाल जस्ता नेताहरूको आपसी समझदारीका कारण दलहरू माओवादीले अघि सारेको वैचारिक लाइनमा हिंड्न सफल भए। नतिजास्वरूप, सबै दलहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको एजेन्डामा सहमत हुन बाध्य भए, जसले जेष्ठ १५ को घोषणालाई मूर्त रूप दियो।
आज नेपाल जुन राजनीतिक जगमा उभिएको छ, त्यसका मुख्य आधारहरू माओवादी आन्दोलन र जनयुद्धकै जगमा संस्थागत भएका हुन्। गणतन्त्र दिवस मनाउँदै गर्दा हामीले प्राप्त गरेका मुख्य उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्था नै हुन्। राजकीय सत्ता राजाको हातबाट खोसिएर पूर्ण रूपमा जनताको हातमा स्थापित भएको छ भने सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको छ, जसले उत्पीडित र दुर्गम क्षेत्रका जनतालाई राज्यको मूलधारमा जोडेको छ। राज्यले सबै धर्म र संस्कृतिलाई समान सम्मान दिने वातावरण बनेको छ भने महिला, दलित, जनजाति, मधेशी, मुस्लिम र पिछडिएका क्षेत्रका नागरिकहरूले राज्यका हरेक अंग र नीति निर्माण तहमा सम्मानजनक प्रतिनिधित्व पाएका छन्।
राजनीतिमा हार-जित एउटा स्वाभाविक प्रक्रिया हो। हालै मात्र सम्पन्न भएको निर्वाचनमा पुराना पार्टीहरूले पराजय भोग्नुपर्यो। तर, चुनाव हार्दैमा एजेन्डा र आन्दोलन हार्दैन भन्ने कुरा प्रचण्डले पुनः प्रमाणित गरिदिएका छन्। संसदीय गणितमा सिट संख्या तलमाथि भए पनि, प्रचण्डले निरन्तर रूपमा गणतन्त्र, संघीयता र समावेशीता जस्ता परिवर्तनका एजेन्डाहरूको रक्षाका लागि दृढतापूर्वक पहरेदारी गरिरहेका छन्।
पछिल्लो समय निर्वाचन जितेर आएकाहरू वैचारिक र नीतिगत रूपमा परिपक्क छैनन्। इतिहास साक्षी छ-आज नेपालले उपभोग गरिरहेको यो स्वतन्त्रता र गणतान्त्रिक व्यवस्था ल्याउनमा उनीहरूको कहिं कतै कुनै योगदान छैन। वास्तविकता के हो भने, यी शक्तिहरू कुनै धरातलीय आन्दोलन वा एजेन्डाबाट होइन, सस्तो डिजिटल लोकप्रियतावाद र अदृश्य विदेशी शक्तिकेन्द्रहरूको आड भरोसामा उचालिएर आएका हुन्। जनताका वास्तविक समस्याको समाधान गर्नुको साटो सामाजिक सञ्जालमार्फत भावनात्मक ब्ल्याकमेलिङ गरेर उनीहरूले भ्रमको खेती गरिरहेका छन्। उनीहरू त केवल माओवादी आन्दोलन र प्रचण्ड, कोइराला एवं माधव नेपाल जस्ता नेताहरूको त्यागले तयार गरिदिएको लोकतान्त्रिक गणतन्त्रकाे पिंधमा उभिएर सस्तो राजनीतिक फाइदा उठाइरहेका छन्।
इतिहासको यो कालखण्डमा प्रचण्ड केवल एउटा पार्टीका नेता मात्र होइनन्, उनी समकालीन राजनीतिका सर्वोच्च नेता हुन्। नेपालको जटिल राजनीतिक परिवेशमा दक्षिणपन्थी र उग्रपन्थी दुवै धारलाई सन्तुलनमा राख्दै, सबै दलहरूलाई मिलाएर देशलाई निकास दिन सक्ने क्षमता केवल प्रचण्डसँग मात्र छ। गणतन्त्र दिवस मनाउँदै गर्दा, यो व्यवस्थालाई अझ बढी संस्थागत र सुदृढ बनाउनु आजको आवश्यकता हो। गणतन्त्रका संवाहक र यसका पिताहरूको सम्मान गर्नु इतिहासप्रतिको न्याय हो। इतिहासको यो मोडमा परिवर्तनका एजेन्डाहरूको रक्षा गर्दै, व्यवस्था परिवर्तनसँगै अब देशलाई तीव्र आर्थिक समृद्धि र सुशासनको मार्गमा लैजान फेरि पनि प्रचण्डकै जस्तो दूरगामी, ऐतिहासिक र समन्वयकारी नेतृत्वको आवश्यकता अपरिहार्य देखिन्छ।
१९ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना !