कार्यकर्ताको कमी र पिंढीबीचको खाल्डो- निर्मल लामा
पार्टीमा कार्यकर्ताको खाँचो भएको छ, निकै नै खाँचो छ । एक जनाले थुप्रै थुप्रै कामको जिम्मेवारी बोक्नुपर्दा काम राम्ररी हुन सकेको छैन ।पार्टीलाई सकृय पार्ने योजना र निर्णयहरु थपिदै छन । हामीसंग मान्छेको कमी छ । हामी क्रान्तिकारी मान्छे देख्दैनौ वा पाउदैनौ । सन १९०५ को क्रान्ति अघि क्रान्तिकारी कामको जिम्मा लिने मान्छे छैन भनी गुनासो पोख्ने रुसी कामरेडहरुलाई झपार्दै लेनिनले के भन्नू भएको थियो भने " मान्छेको कमी छैन बरु हाम्रो दृष्टिकोणमा खोट छ। लाखौंलाख मजदुर, युबक र बिद्ध्यार्थीहरु क्रान्तिकारी जोखिम बोक्न, केही काम गर्न खोजिरहेका छन । तिनीहरुलाई हामीले काम दिन सकेनौ भने निश्चय पनि गेपन (रुसी पादरी मजदुर नेता) र मेन्शेभिक (अवसरबादी ) हरुले काम दिएर तिनीहरुलाई लानेछन ।"
त्यसैले लेनिन भन्नुहुन्छ : "हामीलाई युबा शक्तिको खाँचो छ । जसले आबश्यक मान्छे पाइदैन भन्ठान्छ, त्यसलाई गोलि ठोकी दिने पक्षमा छु। रुसी जनता अपारका छन् । हामीले निडर भएर के मात्र गर्नुपर्छ भने तिनीहरुलाई दृढकासाथ व्यापक रुपमा भर्ना गरौँ, झन दृढतासाथ झन् व्यापक रुपमा भर्ना गरौँ, फेरि झन दृढ्तासाथ झन व्यापक रुपमा भर्ना गरौं "- लेनिन संकलित रचना भाग ८ पृष्ठ १४६। यहाँ नेपालमा आज हामी पनि क्रान्तिकारी कार्यकर्ताको कमी बोध गरिरहेका छौँ । वास्तविकता के हो भने नेपाली जनता, खासगरी युबक, बिद्ध्यार्थी र स्रमिक बर्ग क्रान्तिकारी जोखिम बोक्न, केही गर्न उत्सुक छन् , मजदुरहरु : स्वत: स्फुर्त रुपमा संगठित भएर कारखाना, यातायात, प्रेस, होटल हड्ताल गरिरहेका छन्, शिक्षक - बिद्ध्यार्थी संघर्षमा उत्रिरहेका छन् ।

- निर्मल लामाका केही रचनाहरु पेज नम्बर ३१२ बाट