२०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते

प्रगतिशील साहित्यको भविश्य त निश्चितरुपले उज्यालो हुन्छै हुन्छ, दुई वर्गको युद्ध संगसंगै दुई वर्गको संस्कृति पनि त जुध्छ-पारिजात

बिहिवार , जेठ ८, २०७७

शिरिषको फूल उपन्यासलाई जनविरोधी उपन्यास भनेर घोषणा गरिसकेको छु-पारिजात  अगस्त १९८२ को पहिलो सप्ताह नेपाली साहित्यको विशिष्ट प्रगतिशील उपन्यासकार पारिजात दार्जिलिङ आउँनु भएको थियो । मणिप्रसाद, मणिकुमार राई र प्रेम अभावको पारिजातसित खुल्ला बातचित भएको थियो ।  त्यसैको ऐतिहासिक अंश सन २०२० मा अर्थात चालीस बर्ष पश्चात लकडाउनको समयलाई उपयोग गर्दै जस्ताको त्यस्तै साहित्य प्रवाहमा पुनः प्रकाशन गरिएको छ । तर पनि योे अन्तरवार्ता उहाँहरुले विषय वस्तुको सन्दर्भलाई हेर्ने हो भने आज भरखरै लिनु भए जस्तो लाग्छ । उहाँहरुलाई धन्यवाद छ  अन्तरावार्ताको पहिलाको शीर्षकलाई परिवर्तन गरेकोमा क्षमापार्थी छु।  अन्तरवार्ताको पहिलाको शीर्षकलाई परिवर्तन गरेकोमा भने क्षमा पार्थी छु- जय कार्की, editor, www.communistonline.com प्रगतिशील साहित्य भन्नाले के बुझिन्छ ? उत्तरः प्रगतिशील साहित्यको परिभाषा धेरै लामो हुन्छ तैपनि यहाँ छोट्करीमा के भन्न सकिन्छ भने प्रगतिशील साहित्यको पाश्र्व प्रगतिवादी चिन्तनको धारा बगिरहेको हुन्छ । प्रगतिवादी चिन्तन भन्नाले कति कुरा यस्तो पनि हुनसक्छ कसैले समाजमा व्याप्त रुढिको विरुद्ध लेखेको हुन्छ, कतिले जातिप्रथाको बिरुद्ध लेखेको हुन्छ, कसैले जीवनमा एउटा नयाँ अर्थ खोजेको हुनसक्छ अथवा कुनै पनि शोषणको, अन्धविश्वासको विरुद्ध हुनसक्छ । त्यसलाई हामी प्रगतिवादी चिन्तनमा राख्न सक्छौं अथवा प्रगतिवादी चिन्तनमा अटाउँन सकिन्छ । किनभने, यस्तो कुरो समाजमा काम लाग्ने कुरो हो । कुनै नयाँ कुराको खोज पनि प्रगतिवादी चिन्तनमा आउँछ । प्रगतिशील  साहित्य भन्नाले एउटा सैद्धान्तिक भूमिका अंगालेर शोषित, पीडित बहुसंख्यक जनताको र उनीहरुको समाजमा रहेको बस्तुगत परिस्थिति अनुरुपको साहित्य लेख्नु हो र ती शोषित, पीडित जनतालाई उँभो लगाउँन अनि क्रान्तितर्फ लैजानको निमित्त जुन साहित्य लेखिन्छ त्यसलाई प्रगतिशील साहित्य भनिन्छ । प्रगतिशील साहित्यको एउटा आफ्नै छुट्टै किसिमको अनुशासन र नैतिकता हुन्छ तापनि चिन्तनका जम्मै अभिव्यक्तिहरुलाई भने प्रगतिशीलतामा गाँस्नु हुँदैन । जस्तो कहिलेकाँही लेखनाथ पनि प्रगतिशील देखिएलान् त्यसको मूल्याँकन हुनुपर्छ तापनि उनी प्रगतिशील साहिहत्यिक चैं होइनन् । तपाईको पहिलो साहिहत्यिक रचना र वर्तमान रचनाहरुमा निकै अन्तर छ । प्रगतिशील लेखनमा ओर्लन कुन कुन घटनास्थितिहरुले तपाईलाई प्रेरित गरायो अनि प्रगतिशील साहित्य लेखनमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?  उत्तरः मेरो पहिलेको लेखन (साहित्य रचना) र वर्तमान लेखनमा निसन्देह फरक छ, त्यो पाठक र समाालोचकहरुले थाहा गरिदिउँन् । ती रचनाहरुको पछि मेरो जीवनको पद्धतिले पनि काम गरेको छ । मेरो बाँच्नुको प्रक्रियाले पनि काम गरेको छ । मैले तपाईहरुलाई अघिल्लो भेटमा पनि भनेकै थिएँ म दार्जिलिङमा एउटा सम्पन्न परिवारमा जन्मेर हुर्केको अनि नेपाल गएर बसेकी साहित्यकार हुँ । म सित वर्ग चरित्रको छाप थिँदै थियो । वर्ग चरित्रले जहिले पनि काम गरिरहेको हुन्छ त्यो तपाईहरुलाई थाहा छ । त्यसकै कारण भनुँ मेरो अल्लारे उमेरमा यस्तो साहित्यको रचना गरें जसले समाजमा कुनै ठोस काम गरेन, राम्रो थिएन पनि । शैलीगत पक्षमा राम्रै थिए, यसै भन्छन् समालोचकहरु । यसैले म समाजमा, शोषक वर्गहरुमा भएको त्यसबेलाको व्यवस्थित कुनै पनि पार्टी अथवा सत्तासित कहिल्यै झुकिन तथापि मेरो लाइन स्पष्ट पनि थिएन । भ्रमहरु थुप्रै थिए, बिभ्रान्तिहरु थिए । त्यसपछि म बिरामी भएँ । बिरामी भएपछि म निराश किसिमको कविता लेख्थे मेरो आफ्नै चारित्रिक विशेषता रहेछ । त्यसको पनि मूल्याँकन हुनुपर्छ । ... अनि “शिरीषको फूल” लेखें । त्यो विसंगतिपूर्ण, निस्सारता, शून्यवादी अर्थहीनताले भरिएको उपन्यास थियो जस्ले समाजलाई उँभो लाग्नु होइन, समाजलाई सक्दो विगाथ्र्यो । युवा पिँढीलाई बिगाथ्र्यो । त्यसलाई म आफैंले जनविरोधी उपन्यास भनेर घोषणा गरेको छु । यसको अस्तित्व नभए पनि हुन्छ त्यो अहिले मरेको छैन । त्यसपछि “महताहीन” मा आएँ । महत्ताहीनमा आएपछि मलाई आक्रोश । कुण्ठाहरु बढेर गयो । त्यसपछि “बैंसको मान्छे” मा आएँ । मेरो जीवनक्रम, जीवन प्रक्रियाले पनि केही नयाँ कुरो खोज्दै थियो, एउटा सही बाटो खोज्दै थियो । त्यस समय म “राल्फा” मा थिएँ, सही बाटोमा थिएँ । “बैंसको मान्छे” सम्म आउँदा म बाटो खोज्दै नै थिएँ  किनभने त्यो मेरो संक्रमणकालको उपन्यास हो । “बैंसको मान्छे” देखि मैले आफैंमा लेनिनबाद, माओ विचारधारामा ढाल्ने कोशिश गरें र त्यसको अध्ययन गरें । त्ससको अध्ययन पछि मैले क्रमशः मेरो विचारधारा सुल्झिएको पाएँ । मेरो जीवनका “कंप्लिकेशन” संग मेरो जीवनमा भएका समस्याहरु हल हुँदै गएको मैले पाएँ र मैले आफुलाई व्यक्तिदेखि समूहमा ल्याउँदै गएँ । यसकारण त्यसपछि लेखेको  साहित्य चाहीं प्रगतिशील साहित्यधारातिर रहेको छ । सम्पूर्ण रुपले सफल नभएकै होस् । तर म त्यसलाई सफल पार्ने र जनतासम्म पु¥याउँने प्रक्रियामा अझसम्म प्रयत्नशील छु तपाई वर्तमान आफ्नो लेखनमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? उत्तरः आफ्नो लेखनमा म सन्तुष्ट भईसकेको छैन । हालको मेरो लेखन धेरैभन्दा धेरै पाठकहरु समक्ष पुग्छ भन्न सक्तिन । मेरो शैलीगत स्तर माथिल्लै छ र बढीभन्दा बढी पाठकहरुमा पुगेछ भने अनि त्यसको प्रतिक्रिया मेरो आउन थालेछ भने मलाई सन्तोष हुन्छ । तपाईंको अघिल्लो साहित्य लेखनलाई कुन दृष्टिले हेर्नुहुन्छ ? उत्तरः मेरो पहिलेको लेखनलाई शिरीषको फूलसम्म झण्डै महत्ताहीनसम्म भनौं जनविरोधी(रहेको छ भन्ने–वेदना) दृष्टिकोणले नै हेर्छु  । कति मेरा कविताहरु पनि यस्तै निराश किसिमका छन । मान्छेमा निराशा हुँदैन भन्ने होइन, मान्छेमा निराशा हुन्छ, विसंगति आउँछ अनेक हुन्छ तर त्यै मात्र मान्छेको जीवनको अन्तिम परिणति होइन । नियति पनि होइन । त्यस मान्छेको जीवनको अन्तिम परिणति होईन । नियति पनि होईन । त्यसअघि पनि मान्छेको गतिशीलता त बढ्छ नि । त्यसकारण मेरो त्यति ठूलो खास गल्ती पनि होइन होला भन्छु । मलाई समाजको छाप परेको हुनसक्छ । म चहान्छु तत्कालीन मेरो साहित्यको खूब आलोचना होस् । पाठकहरुले टुक्रा पारेर हेरिदिउन् । नराम्रो छ भने नराम्रो भनेर घोषणा गरिदिउन् । प्रगतिशील साहित्य लेखनमा तपाईंको शैली जनताले ग्रहण गर्न सक्छन् होला ? उत्तरः पहिले देखि हालसम्मका मेरा रचनाहरु जनताले ग्रहण गनै सक्छन् जस्तो मलाई लाग्दैन । जनता भन्नाले साधारण जनताले, केही बुद्धिजीविहरुमा चल्छ यो शैली र केही शिक्षित कार्यकर्ताहरुमा पनि चल्न सक्छ यो शैली । अल्प शिक्षितहरुलाई मेरो साहित्य मेरो शैली कठिन नै पर्ला । तर विशिष्टताबाट सामान्यतिर जाने क्रम त हुन्छै हुन्छ र मैले यसलाई सामान्य बनाउँदै लैजानु पर्छ तर त्यसो भनेर यो शैलीलाई सम्पूर्ण रुपले नकार्न हुँदैन । अध्यक्ष माओेले येनान गोष्ठिमा साहित्य र संस्कृतिबारे आफ्नो भाषणमा स्पष्ट भन्नु भा छ त्यसलाई लेखकले कलममा उठाउँदा त्यो केही परिष्कृत भएर आउँछ । जस्तो छ त्यस्तै त उठाईंदैन, अलिक त परिष्कृत हुन्छ हुन्छ । अर्को कुरा शिक्षित कार्यकर्ताहरुको पनि एउटा स्तर हुन्छ । स्तर बढाउँनुपर्छ, स्तरको गुणात्मक परिवर्तन हुन्छ । शिक्षित कार्यकर्ताहरुलाई पनि एउटा छुट्टै साहित्य चाहिन्छ । खुराक हुन्छ नि स्तरको । यसकारण मेरो साहित्यले शिक्षित कार्यकर्ताहरुलाई, बुद्धिजीविहरुलाई काम गरिरहेको छ भने म त्यसमा सन्तुष्ट हुन्छु । प्रगतिशील लेखकहरुले जनतान्त्रिक आन्दोलनमा अंश ग्रहण गर्न आवश्यक छ कि छैन ? उत्तरः प्रगतिशील लेखकहरुले जनतान्त्रिक आन्दोलनमा गंभीर रुपले ग्रहण गर्नुपर्छ । किनभने लेखकहरुको संगठन हुनुपर्छ । संगठित भएर लेख्नुपर्छ । सामूहिकरण हुनुपर्छ । प्रगतिशील लेखन भन्ने कुनै व्यक्तिबादी लेखन होइन नि । जनताको निम्ति लेखिन्छ प्रगतिशील साहित्य । त्यसैले प्रगतिशील साहित्यले जनतान्त्रिक आन्दोलनमा अंश ग्रहण गर्नैपर्छ । जब जनताको कुराहरु लेखिन्छ, जनतालाई अघि बढाउँने कुराहरु लेखिन्छ जनतालाई उकास्ने काम गरिन्छ, नयाँ समाजको निर्माणको कुरा लेखिन्छ भने जनतान्त्रिक आन्दोलनमा भाग लिनैपर्छ । अझ त्यति मात्र होईन, सर्बहाराकरण गर्दै लैजानु पर्छ । त्यसो हुँदा लेखकले जनतान्त्रिक आन्दोलनमा भाग लिन्छै लिन्छ मात्र होइन, गंभीर रुपले भाग लिनु पर्छ । दार्जिलिङ अनि नेपालको प्रगतिशील लेखकहरुमा कुनै त्यस्तो फरक देखिन किनभने सामाजिक व्यवस्था र परिवेश एउटै छ । नेपाल अर्धसामन्ति र अर्ध औपनिवेशक देश हो । यहाँको र नेपालको राजननीति पनि प्रायः एउटै छ । दार्जिलिङका नेपालीहरु भारतवर्षमा बसे तापनि वर्ग संघर्ष छँदैछ अनि नेपालमा पनि वर्ग संघर्ष चलिरहेको छ । यहाँ पनि शोषित, पीडित अनि चुसाहा वर्ग छन, यहाँ पनि छन त्यसले गर्दा नेपाल र दार्जिलिङको प्रगतिशील साहित्यमा एकरुपता छ । अर्को कुरा यहाँ पनि प्रतिभाशाली लेखकहरु छन् । भाषा पनि एउटै छ, संस्कृति एउटै छ, राजनैतिक वर्तमान परिवेश पनि एउटै छ र फरक भने मैले केही पनि पाईंन । प्रगतिशील साहित्यको भविश्य त निश्चितरुपले उज्यालो हुन्छै हुन्छ । दुई वर्गको युद्ध संगसंगै दुई वर्गको संस्कृति पनि त जुध्छ । एउटा माथिल्लो वर्गको संस्कृति हुन्छ एउटा जनताको संस्कृति हुन्छ । यो दुई वटाको द्धन्द हुन्छ जुझ्छ र पछि एउटा विकासोन्मुख हुन्छ भने अर्को पतोन्मुख हुन्छै हुन्छ । एउटाले अर्कोलाई ढाल्छै ढाल्छ, जीत चाँही प्रगतिशील साहित्यकै हुन्छ । हालै दार्जिलिङको समग्र युुवा साहित्यकारहरुलाई लिएर सृजनशील युवा साहित्यिक संस्था को गठन भएको छ । उक्त संस्थासित सम्बन्धित साहित्यिकहरु साथै दार्जिलिङका नवोदित साहित्यिकहरुलाई आफ्नो सुझाउ दिनुहुन्छ कि ? उत्तरः म दार्जिलिङ आउनासाथै हिमालचुली दैनि पत्रिकामा सृजनशील युवा साहित्यिक संस्थाका सम्बन्धमा पढें । यसप्रति म धेरै जिज्ञासु भएँ । युवाहरुको प्रगतिवादी चिन्तनबारे सबै कुरा पढें र पछि मैले तपाईंहरुलाई खोजें । किनभने मणिप्रसाद राई र मणिकुमार राईको नाम त्यहाँ देखें । म भेट्न चहान्छु, यस संस्थाबारे धेरथोर जान्न चहान्छु भनेर तपाईहरुलाई खोजें । खुशी लाग्यो यस किसिमको संस्था हुनुपर्छ, यसले लेखकहरुलाई संगठित गराउँछ । यो संस्थालाई मेरो भन्नु ता के छ र ! तपाईहरु प्रगतिवादी चिन्तन, प्रगतिशील लेखनमा प्रतिबद्ध भएको लेखकहरु हुनुहुन्छ होला यसकारण लामो कुरा भनिरहने जरुरी देख्दिन । शोषित, पीडित, बहुसंख्यक जनताको निम्ति साहित्य लेखेर सम्पूर्ण गरीब नेपालीहरुको हित गर्नोस यही चाहान्छु । त्यसमा कुनै प्रकारको विकृति, स्वार्थहरु नपरोस, कुनै पनि महत्वकाँक्षाले काम नगरोस । दार्जिलिङमा जति पनि व्याप्त विकृतिहरु छन प्रतिकृयावादी प्रतिगामी लेखकहरुको यहाँ जस्तो प्रकारको बोलवाला छ र यसलाई जितेर लैजावस । सृजनशील युवा साहित्यिक संस्थाले विशेषगरी  दार्जिलिङका युवाहरुको विकृतिलाई चैं फालोस र एउटा नयाँ संभावना ल्याओस भन्ने चाहन्छु । तपाईंसित अन्तर्वार्ता गर्ने अरुहरु कुन विषयहरुमा प्रश्नहरु गर्दैछन ? उत्तरः प्रश्नहरु झण्डै झण्डै यस्तै यस्तै राख्दैछन । एउटा समूहले प्रकाश कोविदको उपन्यास नोयो सम्बन्धमा मेरो विचार जान्न चाह्यो । नोयो को पक्षमा मैले यहाँ धेरै पाठकहरु देखें । नोयो मा राजनतिक विवाद छ किनभने यो चिन विरोधी उपन्यास हो, यसै भने । कसैले विश्वेश्वरप्रसाद कोइरालाको निधनले मलाई कति क्षतिको अनुभव भयो भन्ने प्रश्न गरे । मलाई कुनै क्षति भएन मान्छे आउँछ जान्छ । कोइरालाको प्रगतिशील साहित्यमा कुनै देन थिएन यस्कारण उनको निधनले मलाई कुनै क्षति गरेन । यसै भनेँ । सन्दर्भ श्रोतः ♦ सिलगढी, दार्जिलिङबाट फरबरी १९८४ मा प्रकाशित सामायिक संकलन छालबाट । ♦ पारिजात संकलित रचनाहरु निर्माण प्रकाशन ग्रन्थ ६ सन १९९७ बि.सं. २०५४ नाम्ची, दक्षिण सिक्किम