संगठन विस्तारमा तीव्रता दिँदै अखिल नेपाल यातायात मजदुर संघको ट्याक्सी बिशेष समिति
काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ, उपत्यका ट्याक्सी विशेष समितिले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानलाई निरन्तरता दिएको छ। अभियानको पाँचौँ दिन समितिले इन्द्रचोक, न्युरोड गेट, महाबौद्ध, सुन्धारालगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पुगेर ट्याक्सी चालक तथा स्वरोजगार श्रमिकहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेको छ।
समितिले उपत्यकाभित्र सञ्चालित ट्याक्सी व्यवसायको संरक्षण, चालक तथा स्वरोजगार व्यवसायीको पेसागत अधिकार, सामाजिक सुरक्षा र सम्मानजनक रोजगारीका लागि संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानका क्रममा समितिका प्रतिनिधिहरूले ट्याक्सी चालकहरूले दैनिक रूपमा भोगिरहेका समस्या, चुनौती तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका व्यावहारिक कठिनाइबारे जानकारी संकलन गर्दै संगठनका गतिविधि र आगामी योजनाबारे जानकारी गराइरहेका छन्। साथै चालकहरूलाई संगठित हुँदै आफ्ना अधिकारका लागि सामूहिक रूपमा आवाज उठाउन आग्रह गरिएको छ।
वैज्ञानिकभाडादरदेखि सामाजिक सुरक्षासम्मको मुद्दा
समितिले सार्वजनिक गरेको १० बुँदे प्रतिबद्धतामा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी मिटरको वैज्ञानिक भाडादर कायम गर्न पहल गर्ने, गैरकानुनी रूपमा सञ्चालन भइरहेका मोबाइल एप्लिकेसनलाई कानुनी दायरामा ल्याई समान भाडादर कायम गर्न पहल गर्ने तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा स्वरोजगार श्रमिक र ट्याक्सी चालकलाई सहज रूपमा समावेश गराउने विषयलाई प्राथमिकतामा राखेको छ।
त्यस्तै, सम्बन्धित निकायसँग समन्वय गरी आवश्यकताअनुसार ट्याक्सी स्ट्यान्डको व्यवस्था, पिक एन्ड ड्रपका कारण हुने समस्या समाधान, निजी प्रयोजनमा दर्ता भएका तर भाडा ट्याक्सीसरह गैरकानुनी रूपमा सञ्चालन भइरहेका सवारीमाथि कारबाही तथा पूर्ण रूपमा रोक लगाउन पहल गर्ने प्रतिबद्धता समितिले जनाएको छ।
समितिले एम्बुलेन्ससरह आम सर्वसाधारणले प्रयोग गर्ने ट्याक्सीलाई विशेष सार्वजनिक यातायातको साधनका रूपमा व्यवस्थित गर्न पहल गर्ने तथा यातायात व्यवस्था ऐन निर्माण र नीति निर्माणका क्रममा सरोकारवाला संघ–संस्थाको अनिवार्य सहभागिता सुनिश्चित गर्न आवाज उठाउने जनाएको छ।
२४ घण्टा सेवा र राइड सेयरिङको विषय पनि प्राथमिकतामा
समितिको प्रतिबद्धतामा विगतमा सुरु भएको अनलाइन पटके सेवाको निरन्तरता तथा २४ घण्टे पटके सेवा सञ्चालनका लागि पहल गर्ने विषयसमेत समेटिएको छ। रोकिएको ट्याक्सी मिटरको दर्ता तथा नवीकरण खुलाउन पहल गर्नुका साथै राइड सेयरिङसम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्न आवश्यक पहल गर्ने उल्लेख छ।
त्यसैगरी, २०८३ भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोमा परी निधन तथा बेपत्ता भएका यातायात मजदुरका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने र दुर्घटनापछि ट्याक्सी चालक सदस्यहरूले भोग्नुपर्ने विभिन्न प्रशासनिक झमेलाको समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि समितिले सार्वजनिक गरेको छ।
चालकको समस्या समाधानका लागि संगठन बलियो बनाउने लक्ष्य
समितिले ट्याक्सी चालक तथा स्वरोजगार श्रमिकका समस्या व्यक्तिगत रूपमा मात्र समाधान हुन नसक्ने भन्दै संगठित शक्ति निर्माण नै अधिकार प्राप्तिको महत्वपूर्ण आधार भएको जनाएको छ।
अभियानमार्फत उपत्यकाका विभिन्न क्षेत्रमा रहेका ट्याक्सी चालकलाई संगठनमा आबद्ध गराउँदै उनीहरूका साझा समस्या पहिचान गर्ने, सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला पक्षसँग संवाद गर्ने र आवश्यकताअनुसार सामूहिक दबाब सिर्जना गर्ने समितिको योजना छ।
उपत्यका ट्याक्सी विशेष समितिका अध्यक्ष प्रकाश अधिकारीले चालक तथा स्वरोजगार श्रमिकका पेसागत अधिकार, सामाजिक सुरक्षा र सम्मानजनक रोजगारीका लागि संगठनलाई थप व्यवस्थित र बलियो बनाउँदै लैजाने बताएका छन्। समितिले संगठन सुदृढीकरण अभियानलाई आगामी दिनमा उपत्यकाका अन्य क्षेत्रमा समेत विस्तार गर्ने जनाएको छ।
मुख्य माग/प्रतिबद्धता
* वैज्ञानिक ट्याक्सी मिटर भाडादर कायम गर्ने
* राइड सेयरिङ तथा मोबाइल एपलाई कानुनी दायरामा ल्याउने
* ट्याक्सी चालकलाई सामाजिक सुरक्षा कोषमा सहज समावेश गर्ने
* व्यवस्थित ट्याक्सी स्ट्यान्डको व्यवस्था गर्ने
* पिक एन्ड ड्रपको समस्या समाधान गर्ने
* निजी सवारीलाई गैरकानुनी रूपमा ट्याक्सीसरह सञ्चालन गर्ने कार्य रोक्ने
* ट्याक्सीलाई विशेष सार्वजनिक यातायातका रूपमा व्यवस्थित गर्ने
* नीति तथा कानुन निर्माणमा श्रमिक संगठनको सहभागिता सुनिश्चित गर्ने
* रोकिएको ट्याक्सी मिटर दर्ता तथा नवीकरण खुलाउने पहल गर्ने
* दुर्घटना तथा विपद्मा परेका यातायात मजदुर र परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि पहल गर्ने। संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो।