अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय पदाधिकारी समितिको विस्तारित बैठक सम्पन्न
काठमाडौं - अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय पदाधिकारी समितिको विस्तारित बैठक केन्द्रीय कार्यालय, पेरीसडाँडामा सम्पन्न भएको छ। संघका अध्यक्ष कमरेड दीपक के.सी.को अध्यक्षतामा सम्पन्न बैठकमा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष कमरेड जगत बहादुर सिंखडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
बैठकमा महासंघका उपाध्यक्ष कमरेड सोम तामाङ, महासचिव कमरेड शालिकराम काफ्ले, उपमहासचिव कमरेड रामचन्द्र कार्की उपमहासचिव कमरेड माधव पाण्डे तथा महासंघ गण्डकी प्रदेश कमिटीका अध्यक्ष कमरेड रुद्र गौतम लगायत विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। बैठकमा सातै प्रदेशबाट संघका केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।

बैठकको सुरुवातमा संगठनमा विभिन्न जिम्मेवारीमा बहाल रहेकै अवस्थामा २०८३ वैशाख २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित कमरेडहरू नरबहादुर राना, अर्जुन पौडेल, भक्तबहादुर प्रधान (राज), नविना खड्का र विकास गिरीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
बैठकमा संगठनको आगामी कार्यदिशा, सांगठनिक सुदृढीकरण तथा यातायात क्षेत्रमा श्रमिकका अधिकार स्थापित गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। त्यस क्रममा संगठनका विभिन्न तहबाट भएका कामको रिपोर्टिङ, प्रशिक्षण तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल भएको थियो।
बैठकले संगठनको कार्ययोजना तथा जिम्मेवारी बाँडफाँडलाई विशेष प्राथमिकता दिएको छ। प्रदेश समितिहरूको सम्मेलनका लागि मिति निर्धारण, जिल्ला समितिहरूको सम्मेलन, सदस्यता वितरण तथा नवीकरणलाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय गरिएको छ। साथै पार्टीसँग सम्बन्धित संगठनात्मक तथा राजनीतिक कामलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत छलफल गरिएको छ।
त्यसैगरी कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत विभिन्न क्षेत्रमा संगठन विस्तार तथा जिम्मेवारी प्रदान गर्ने विषयमा छलफल गरिएको छ। पेट्रोलियम, मालवाहक ढुवानी, सरकारी तथा पार्टी नेतृत्वका सवारी चालकसँग सम्बन्धित क्षेत्रका श्रमिकलाई संगठनमा आबद्ध गर्दै आवश्यक जिम्मेवारी प्रदान गर्ने विषयलाई समेत बैठकले प्राथमिकतामा राखेको छ।
बैठकमा संगठनको आर्थिक अवस्थालाई सुदृढ बनाउने विषयमा पनि महत्वपूर्ण छलफल भएको छ। विभिन्न कमिटीका निष्क्रिय बैंक खाताहरूलाई सक्रिय बनाउने, केन्द्रीय सदस्य तथा साधारण सदस्यको लेवीलाई व्यवस्थित गर्ने, मजदुर कल्याणकारी कोषलाई प्रभावकारी बनाउने तथा कार्यालयको आय–व्ययलाई पारदर्शी र व्यवस्थित बनाउने विषयमा आवश्यक निर्णय गरिएको छ।
यातायात व्यवस्था तथा श्रमिकका अधिकारसँग सम्बन्धित विषयमा पनि बैठकले विशेष चासो व्यक्त गरेको छ। सवारी तथा यातायातसम्बन्धी विद्यमान ऐन, नियम तथा व्यवस्थालाई श्रमिकमैत्री बनाउन पहल गर्ने तथा यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा योजनामा प्रभावकारी रूपमा समेट्दै सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन सुनिश्चित गर्न आवश्यक पहल गर्ने निर्णय गरिएको छ।
बैठकले यातायात क्षेत्रमा कार्यरत श्रमिकका पेशागत, आर्थिक तथा सामाजिक अधिकारको संरक्षण गर्दै संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। आगामी दिनमा संगठन विस्तार, सदस्यता वृद्धि, श्रमिकका समस्या समाधान तथा अधिकार प्राप्तिका लागि आवश्यक संघर्षका कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाउने निष्कर्ष बैठकले निकालेको छ।
यातायात श्रमिकको हित र अधिकारका लागि संगठनको भूमिकालाई थप प्रभावकारी बनाउँदै समग्र यातायात क्षेत्रलाई श्रमिकमैत्री बनाउन सम्बन्धित निकायसँग समन्वय, संवाद तथा आवश्यक दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।