२०८३, भाद्र ४ गते

२०८३, भाद्र ४ गते

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु-पुष्पकमल दाहाल ‘प्रचण्ड’

मंगलवार , श्रावण २६, २०८३

नेपाल सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेको समाचार सुन्दा खुसी लागेको छ। यसका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। यो पहलबाट कपडा उपभोगमा रहेको हाम्रो आयातनिर्भरता कम हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।

मैले सरकारको नेतृत्व गर्दा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको थियो। त्यसैका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायतका उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको विदितै छ।

सघन गृहकार्य गरेर अघि सारिए पनि सरकारबाट बाहिरिएसँगै रोकिएको यो प्रक्रिया पुनः अघि बढ्नु सुखद कुरा हो। हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगहरूलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालनमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा नेपालले ठूलो फड्को मार्न सक्छ।

देशमा उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा यस्ता उद्योगको पुनरुत्थान महत्वपूर्ण कदम हुनेछ। सरकारलाई यस प्रक्रियालाई परिणाममुखी ढंगले अघि बढाउन आग्रह गर्दछु।

— पुष्पकमल दाहाल ‘प्रचण्ड’