अमर गिरी महत्त्वपूर्ण समकालीन कवि हुनुहुन्छ । पाँच दशकदेखि कविता सृजनामा सक्रिय रहँदै आउनुभएका उहाँले समालोचना र निबन्धमा पनि कलम चलाउनुभएको छ । उहाँका घामछेक्ने पहाड (२०५५ ) तर पनि हामी जीवित छौँ (२०६१ ), दुःसाध्य समय (२०६४ ), शब्दहरूको बिचमा (२०७१), समय संवाद (२०७३) र रातमा कलम (२०८२) कविता सङ्ग्रह र आधा दर्जन समालोचनका कृति प्रकाशित छन् । समय, शब्द र संवाद (२०८२) उहाँको निबन्धात्मक कृति हो। उहाँले आधा दर्जन कृतिको सम्पादन, सहसम्पादन गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट कवितामा विद्यावारिधि गर्नुभएका उहाँ गम्भीर अध्येता र चिन्तक हुनुहुन्छ । प्रगतिशील लेखक सङ्घको अध्यक्ष, चलचित्र विकास बोर्डको अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्य एवम् काव्य विभाग प्रमुख, भाषा आयोगको सदस्य , राष्ट्रिय गान चयन कार्यदलको सदस्यका रूपमा उहाँले सम्पादन गरेको भूमिका उल्लेखनीय रहेको छ ।
उहाँका कवितामा संवेदनाको गहिराइ । अनुभूतिको तिक्ष्णता, भाव गाम्भीर्य र विचारको प्रौढता पाइन्छन् । सरल, कलात्मक र गम्भीर कविता लेख्नु ,जीवन एवम् समकालीन यथार्थका विविध पक्षलाई काव्यिक अभिव्यञ्जना दिनु उहाँका विशेषता हुन्। उहाँका कविताको केन्द्रमा प्रगतिवादी चेतना पाइन्छ । यस पटक हामीले उहाँका एक दर्जन अप्रकाशित कविता पाठकका निम्ति प्रस्तुत गरेका छौँ -सम्पादक ।
भाषाको आवास
भाषामा छु
भाषाको आवासमा
रचना गरिरहेछु
आफ्नो अस्तित्वको ।
प्रेम भाषामा रचेँ
दुःख भाषामा पोखेँ
भाषामा रोएँ
भाषामा हाँसे
निराशामा बचायो भाषाले
अँध्यारोमा हात समाएर
बाटो देखायो ।
भाषा नभएको भए ।
आमा कसरी भन्थेँ
बा कसरी भन्थेँ
कसरी बोलाउँथेँ प्रियजनहरुलाई
यस विराट् जगत्को
अपरिमित ब्रह्माण्डको
सौन्दर्यलाई व्यक्त गर्न
कुनै शब्द
हुने थिएनन् मसँग
भाषाबिना
कस्तो हुँदो हो मेरो मस्तिष्क ?
म भाषाबाट जगत्लाई हेर्छु
र पुनः सृजना गर्छु
लड्छु भाषाबाट
आफ्नो हकका निम्ति
भाषा प्रेम मात्र होइन
क्रोध पनि हो
आँसु मात्र होइन
ज्वालामुखी पनि हो
दुःख मात्र होइन
हतियार पनि हो
सुन्दर संसारका निम्ति
लड्छु भाषाबाट
भाषाबिना असम्भव देख्छु
नयाँ रचना ।
भाषा छ र म छु
म छु र भाषा छ
भाषा छ र
मैले सबैभन्दा बढी
प्रेम गर्ने कविता छ
म भाषाको आवासमा छु
यस कठिन समयमा
भाषाको रक्षार्थ
लडिरहेछु भाषाबाट ।
आमा भन्नुहुन्थ्यो
थाकेर बसेको छु चौतारीमा
हावा चलिरहेछ
हावाको सरसराहट
लागिरहेछ एक मिठो सङ्गीत
हल्का बादल छ आकाशमा
पन्छी उडिरहेछन्
सुदूर क्षितिजतिर
घाम हाँस्दै
मेरा अङ्गहरूमा झरिरहेछ ।
उकालो चढिरहेका
ओरालो झरिरहेका पाइतला
गाई चराइरहेका गोठाला
उनीहरूले गाइरहेका गीत
घाँस काटिरहेका हात
पसिना बगिरहेका अनुहार
गुञ्जिरहेका गीत
उडिरहेका पुतली
कति सुन्दर लागिरहेछन्
कति !
आमा भन्नुहुन्थ्यो
मन अँध्यारो नभएका बेला
धेरै कुरा
सुन्दर लाग्छन् यसै गरी ।
आफैसँग प्रश्न
वर्षौंपछि उभिएर हेरिरहेछु
आफू हिंडेको बाटो ।
बाटोमा जीवनका
धेरै कुरा छुटे
तैपनि हिडिरहेँ
ढिलो हुन्छ कि भनेर
जूनलाई अङ्गालो हालेर एकछिन सुस्ताइन
खुसी हुन बिर्सिएँ
सन्तोष गायब भयो
प्रियसँग कुरा गर्दा
अबेर हुन्छ कि भनेर झस्किएँ
तर्सिएँ विजेता अर्कै बन्छ
कि भनेर
हृदयले के भन्छ, सोधिनँ
कहाँ पुग्ने हुँ
सफलताको परिभाषा के हो
एकछिन गम्भीर भएर
कहिल्यै प्रश्न गरिन ।
वर्षौंपछि पढिरहेछु
आफू हिंडेको बाटो
पढिरहेछु आफैलाई
म कहाँ पुगेँ
प्रश्न गरिरहेछु आफैसँग
र सोचिरहेछु
प्रश्न गर्न मलाई
किन लाग्यो यति धेरै वर्ष ?
मौन
मौन प्रिय लाग्छ
सायद धेरैलाई प्रिय लाग्छ
मलाई जस्तै ।
बहिरहेको हावाको आवाज र
हिडिरहेका पाइतलाका ध्वनि
आमाको गुनगुनाहट र
बजिरहेको सारङ्गी
खोलाको कलकल र
बालकको मुस्कान
अझ प्रिय लाग्छन् मौनमा
निःसृत हुन्छ तीबाट
असीम सौन्दर्य
एउटा सुन्दर कविताको
गर्भाधान हुन्छ मौनमा
र त्यो कागजका पृष्ठहरूमा
फुल्न थाल्छ ।
तर गाह्रो छ मौन रहन
मौन होइन
विस्फोट हुनुपर्ने समयमा
छु म ।
भय
भयको इतिहास पढ्नु
प्रतिरोधको इतिहास
पढ्नु पनि हो
प्रतिरोध नभएको
भयको इतिहास छैन
प्रतिरोध पढ्नु
नयाँ सृजना पढ्नु पनि हो ।
प्रतिरोध र नयाँ सृजना
सँगै छन् हजारौँ वर्षदेखि
पृथ्वी र बतास जस्तै
माटो र जरा जस्तै
उकालो र ओरालो जस्तै ।
भयको कारागारमा
बन्द गरेर मस्तिष्कलाई
सत्ता कहीँ
सुरक्षित रहेको थाहा छैन इतिहासभित्र
त्यस्तो इतिहास कही छैन ।
शान्ति
शब्दहरूको संसारमा
यति प्रिय शब्द कम छन्
तर हजारौँ वर्षदेखि
सबैभन्दा बढी
चीरहरण भएको छ
यस शब्दको
वधशालाका मालिक
सबैभन्दा धेरै
उपासक छन् यसका ।
सहर
सपनाहरू बोकेर
म सहर पसेँ
मेरा सपनाहरू चपाएर
सहर मोटायो
म दुब्लिएँ ।
व्याकरण
सत्य किन
चोरबजारमा बिक्री हुने
तेस्रो कोटीको माल जस्तो लाग्छ
विचार बनियाँ जस्तो
न्याय, नैतिकता, इमान्दारी
शाब्दिक व्यभिचार जस्ता
के यी
फेरिएका हुन् विपरार्थीमा
वा गुमाएका हुन आफ्नो अर्थ
भन कवि
के व्याकरण बदलिएको हो ?
अचानक
अचनाक जस्तो
नफर्कने गरी जाने
प्रियजनहरूको सम्झना
सायद सबैभन्दा
दुखदायी हुन्छ
दुःखको इतिहासमा ।
शोक
ऊ गएपछि
मैले समवेदना प्रकट गरेँ
गम्भीर शब्दबाट समवेदनाका
शोक बहिरह्यो हावा जस्तै
जीवित छउन्जेल हामी
परिचित भएर पनि
अपरिचित जस्तै रह्यौँ
नजिक भएर पनि
टाढाका जस्तै बन्यौ
एक अर्कोलाई हेरेर
कहिल्यै मुस्कुराएनौँ हामी ।
फूल
आफै ओइलाएर
बिस्तारै बिस्तारै
जान चाहन्छु यस धर्तीबाट
तर सभ्यताको इतिहासमा
मेरो यो हक खोसिएको
हजारौं वर्ष भइसक्यो ।
शब्द
जब पाखण्डको
भरिया बनाइन्छ शब्दलाई
शब्द मर्छ
शब्दसँगै मृत्यु हुन्छ स्रष्टाको ।