म बहुलाएको छु - पूर्ण विराम
समाइरहँदा राजदण्डलाई आफ्नो हातले
लखेटिरह्यो राजाले मेरो निद्रा
म थकित भइनँ र थाकेको बहाना बटुलेर
निद्रामा लठ्ठिएन मेरो आँखा
केही अपवादलाई छोडेर सबैले भने जस्तो
गतिलो पोशाक र कथित स्वादिष्ट व्यञ्जन भेट्टाएपछि
केहीले आफैं फुटालेका छन् आफ्ना कानका जालीहरू
छालाका नौला पुतलीहरू हुँदै
छालाका पुतलीहरूका अगाडि निद्राको ब्याख्या गर्दागर्दै
नजिकैको जङ्गलमा बसेर चराको चिरबिर सुन्न
र महँगो थालमा आफ्नो रुचि बमोजिम
भोजन पस्किन अकाट्य आदेश दिन ।
सूर्य वरिपरि नै चलायमान छन् श्री तीनका आकृतिहरू
रुखका अधिकांश हाँगामा क्यालिगुलाहरू रबाफिला मुद्रामा छन्
छिन्नभिन्न भएका ताराहरूलाई हेर्दै
सदैव टिनको कुल्फीमा चुरोट खाइरहँदा म बहुलाएको छु
आरामपूर्वक चाँदीको हुक्कामा ओठ जोड्न नपाएकोमा
म निमेष( निमेषमा बहुलाएको छु।
पहाडका सिक्रीहरूले मलाई बाँधिरहेका छन्
ती सिक्रीहरूमा म आफ्नो देश देख्ने
आफ्नै आँखा देखेर बहुलाएको छु
सिक्री छिनाल्न नसक्ने आफ्ना कमजोर हातहरूमा
म पला- पलामा बहुलाएको छु ।
कपासको सट्टामा अफिम उमार्ने
समाइरहँदा राजदण्डलाई आफ्नो हातले
असाध्यै कन्जुस भएर मेरो अगाडि उभियो राजा
एक चिम्टी पनि मलाई निद्रा बक्सिस दिएन राजाले
छोडेपछि राजाले राजदण्डलाई आफ्नो हातबाट
सोझै सङ्ग्रहालय पुग्ने सडकमा
दियो राजाले दानवीर कर्ण भएर बक्सिसमा मलाई निद्रा
बक्सिसमा पाएको निद्रा उपयोग गर्न नसकेकोमा
आगोको मुखमा अकस्मात् पलाएको बुध्दिबङ्गाराले
मैले पाएको बक्सिसपत्र चुइङ्गम ठानेर
चपाएकोमा म कथित उत्सवहरूमा
कहिले कालो टोपी कहिले रातो टोपी लगाएर बहुलाएको छु।
सडकमा हिँड्दा हिँड्दै बहने हावाको स्पर्शमा म बहुलाएको छु
कुनै युवतीको पातलो खास्टो हावाले उडाएर अर्को पेटीमा पछार्दा
मलाई टिपेर लिएर आइज भन्ने तुच्छ वचन सुन्ने
आफ्नै स्वस्थ कान देखेर बहुलाएको छु
गल्लीमा हिँड्दा पनि म बहुलाएको छु
प्लास्टिकको झोला फुटेर स्याउ गल्लीमा छरिँदा
आफू चुपचाप उभिएर मलाई स्याउ टिप् भन्ने
कडा आदेश दिने नवजात महारानीको अगाडि
म आफ्नै परिचयपत्र हेर्दै गल्लीमा उफ्रिँदै बहुलाएको छु।
कफी खाँदाखाँदै क्याफेमा बहुलाएको छु
सदैव सौन्दर्य जोगिन्छ भन्ने वाहियात धारणा जन्माएर
किलोपेट्राले झैं कहिल्यै कोल्टे परेर नसुत्ने
युवतीका कुरा सुनेर बहुलाएको छु
सदैव सौन्दर्य जोगाउन केवल उत्तानो परेर सुत्ने गरेका
युवतीका तस्बिर मनले खिचेको हुनाले
म आफ्नै मन सम्झेर बहुलाएको छु
कहिल्यै निद्रा नपाइने र सदैव बहुलाउनु पर्ने यो मुलुकमा
मरिसकेकी आमालाई बारम्बार प्रश्न राख्दै
म बहुलाएको छु।
पूर्ण विरामका प्रकाशित पुस्तकहरू
१. आफन्त- कथा सङ्ग्रह २०३७ साल
२. झ्यालसँगको झ्यालिन्चा - कथा सङ्ग्रह २०४१ साल
३. पानीमाथि पानी - कथा सङ्ग्रह २०४४ साल
४. इतिहासका किल्लाहरूमा -कविता सङ्ग्रह २०४३ साल
५. गोविन्दले ठिक भन्यो- कविता सङ्ग्रह पहिलो पटक २०५० साल
६. गोविन्दले ठिक भन्यो - कविता सङ्ग्रह दोस्रो संस्करण २०६४ साल
७. ए ! मेरो आदरणीय लेकाली फूल - कविता सङ्ग्रह २०६४ साल
८. लड्न जन्मेकाहरूले - कविता सङ्ग्रह २०६४ साल