पूर्ण विरामको कविता -आफ्नै ढुकुटीका प्रश्नहरू
जुडासहरू झुण्डेका दृश्यहरू कहिले पाइएला हेर्न
सूर्यको किरण जस्तै कहिले छरिएला जताततै
दराजमा सिन्की जस्तै भएर खाँदिएको रोम विधान
कहिले उदाउला झाँसीकी रानीको जस्तै तरवार
र अन्याय र असमानतालाई झपाछप काट्दै
निलो ओठमा कहिले नफर्किने गरेर जेलोसलाई बसाल्ला
कुन गल्लीबाट कहिले निस्केला अलेक्जेन्डरको जस्तै तराजु
र ओठ खोलेर दूधलाई दूध नै र पानीलाई पानी नै भन्ला
जुत्ता नहुनेहरूको पैतालालाई घोच्न झाङ्गिएको काँढाको घारीलाई
जरैदेखि निर्मूल पार्न महीले भरिएको ठेकी बोकेर
कहिले देखा पर्ला चाणक्य
जलकुण्डमा कहिलेसम्म लुकिरहलान् दुर्योधनहरू
र षड्यन्त्रको जाबी भित्र पारेर जल पिशाचहरूले
सुकुटी बनाएर चपाइ रहलान् राता गुलाफहरूलाई
र जलसा मनाइरहलान्
धृतराष्ट्रहरू किमति गलैंचामाथि कहिलेसम्म नाचिरहलान्
पद पाउँने बित्तिकै गान्धारीको जस्तै पट्टी बाँध्नेहरूको
जुलुस कहिलेसम्म निस्किरहला
कहिलेसम्म चढिरहनु पर्ला दुःखको भार वहन गर्दै
उकालो र ओरालो झरेकाहरूले हानेको झटारोको मारलाई
एउटा सालिक जस्तै भएर केवल सहिरहनु मात्र पर्ला
खोँचतिर लुकेका अश्विनीकुमारहरू कहिले आउलान्
म भएतिर आमूल परिवर्तनको झण्डा उठाए वापत
मर्केको मेरो हातलाई कहिले निको पार्लान्
अथर्वाले मेरो निम्ति निर्भिक भएर
कहिले मुमुक्षाको पाठ मलाई पढाउला
तथाकथित इन्द्रका धम्कीहरूलाई उडाउन
फेदीमा कहिले झर्ला सू
एटलसले कहिले सजायँ देला बज्रको भरमा शासन गर्ने
स्वघोषित इन्द्रहरुलाई र हातमा खर्रा बोकेर घोडाको लिदी समेत
सोर्न स्वघोषित इन्द्रहरु अस्तबलतिर कहिले प्रस्थान गर्लान्
पानी नपरेको दिनमा पनि शरीरलाई भिजाउने गरेर बगिरहने
आफ्नो आँखाको आँसु कुन दिन थामिएला !
सदैव दुःखले चुम्बन गर्ने मेरो गालालाई सुम्सुम्याउदै
सुखले कुन दिन स्थायी बसोबास गरेको पुर्जी
मेरो गालामा लाहा लगाएर टाँस्ला ?