२०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

शेषमणि आचार्य-सांस्कृतिक परिचर्चा चाडबाडको रौनक, सांस्कृतिक रुपान्तरणको सपना

शनिवार , आश्विन १९, २०८१

नेपाली घर आँगनमा अहिले चाडपर्वको माहोल तातिरहेको छ।नेपालीहरू सांस्कृतिक सम्पदाको हिसाबले निश्चय नै सम्पन्न समुदायभित्र पर्दछन्।

 

१/. संस्कृतिको पक्षमा- नेपाली घर आँगनमा अहिले चाडपर्वको माहोल तातिरहेको छ।नेपालीहरू सांस्कृतिक सम्पदाको हिसाबले निश्चय नै सम्पन्न समुदायभित्र पर्दछन्।अहिले यस देशमा हिन्दु,बौद्ध,किराँत मुस्लिम समुदायहरू आआफ्ना धार्मिक रीतिरिवाज मनाउन लागिरहेका छन्।यहाँ सम्म कि क्रिस्चियन धर्मावलम्बी नेपालीहरूको सङ्ख्या पनि बढिरहेको छ।यी सबै समुदायका  मुख्य धार्मिक उत्सवहरू तिनका पर्वको रूपमा रहेका छन्।यस अवधिमा विभिन्न जातिका नेपालीहरू आफ्नो परम्परालाई जोगाउने नाउँमा आफ्नो समय,सम्पत्ति,(कमाइ)र विश्वासलाई आँखा चिम्लेर समर्पण गर्दै छन्।यी विभिन्न चाडपर्वहरूमा वुद्ध जयन्ती वर्षको अन्तिम समयको पर्व(चाडपर्वको चक्रमा) रहेको छ।तैपनि एउटा संयोग छ,हरेक चाडपर्वहरू एकै लहरमा देखिन्छन्।यसो हुनुमा वातावरणीय कारण पनि हुन सक्छ। नेपाली समाजले मनाउने गरेका धेरै पर्वहरूमा सिङ्गो नेपाली समाजलाई कुनै न कुनै प्रकारले प्रभाव पार्ने चाडहरूमा दशैँ तिहार चर्चित पनि छन्।यिनै चाडपर्वका साथसाथ अन्य धर्मका पर्वहरू पनि आफ्नो तरिकाले मनाइन्छन्,। नजिकैको चाड दशैँ,विजया दशमी मुखमै छ।यस पर्वको समयमा हामी आपसमा शुभकामना साटासाट गर्दछौँ,व्यापारिक प्रतिष्ठानहरू व्यापार प्रवर्द्धनको नाउँमा विज्ञापनको ओइरो लाग्छन्। केही वर्ष अगिसम्म छिमेकको कुनै खुसियालीमा अर्को आँगन जोडिएको छिमेकी पनि सरिक हुन्थ्यो,टोलवासीहरू अङ्कमाल गर्दथे,तिनले आपसी भाइचारा बढाएको महसुस हुन्थ्यो।अहिले त्यो परम्परा लोप भइरहेछ,।जातीय द्वन्द्व, सांस्कृतिक घोचपेच चल्न थालेको छ।नस्लीय गन्ध गनाइरहेछ।एउटाले अर्कोमाथि विजय वा दमनको रूपमा यिनलाई व्याख्या गरिएको पनि छ।चाडपर्वमा  संस्कृतिको झलक पाइन्छ, तापनि यिनको कुनै ऐतिहासिक प्रमाण छैन,यिनको उत्पत्तिको कुनै प्रामाणिक दस्तावेज प्राप्त छैन। यसलाई आफ्नो सुविधा अनुसारको व्याख्या गरिएको छ। तर एउटा कुरा के भन्न सकिन्छ भने मानव जातिका पुर्खाहरू अनेक सम्प्रदायमा रहे।ती समय,भूगोल,मौसम जस्ता कुराले प्रभावित भए,उनका रङ्ग,स्वभाव ,भाषा,भेष बन्दै गए।प्राचीन समयमा बुझ्ने गरिएको 'भारतवर्ष'अहिले बुझिने 'भारत'मात्र हैन,यसको प्राचीन अस्तित्वमा अहिले भारतीय उपमहाद्वीपका देशहरूको निर्माण भयो।कुनै देश केही वर्षअघि मात्र निर्मित भए,तर नेपाल भने एक प्राचीनतम देशको रूपमा परिचित छ।एउटा देशभित्र एउटा भूगोल हुने नै भयो,त्यसमा मानव समुदाय पनि रहनु नै पर्यो।प्रकृति भै हाल्छ,तर सबै ठाउँमा एउटै स्वभावको प्रकृति हुने कुरा भएन। जसलाई पर्यावरणीय विविधताको रूपमा बुझ्न सकिने भयो।लामो समयसम्मको जीवन बाँच्न मान्छेले गरेको सङ्घर्षको प्रतिबिम्ब जीवनमा देखा पर्नु स्वाभाविकै हो।जङ्गली अवस्था र पछि कृषि युग,अनि औद्योगिक युग सबैमा मान्छेका रीतिरिवाज बन्दै बढ्दै,फेरिँदै,आए।तिनले नै संस्कृतिको स्वरुप लिन सक्यो।मानिस जब गुफामा रहन वाध्य थिए,घुमन्ते जीवन यापन गर्दै थिए,उनले अनेक रहस्यमय अनुभूति गर्न थाले,जसको वास्तविक उत्तर मिल्न सक्ने थिएन।अनि रहस्यको रूपमा काल्पनिक कथाहरू देखा परे।कति कुरा अन्धविश्वास नै थिए,कति कुरा जीवन-सङ्घर्षका उपज पनि थिए। २/. आदिम मानवको कल्पनामा संस्कृति -------------------------------------------- प्राचीन समयमा मानिसहरूको एउटा समूह जबर्दस्त रूपमा देखा पर्यो, जसबाट'आर्य संस्कृति 'बन्यो।यसै गरी अरु अनार्य समुदायको पनि संस्कृति बन्दै गए,जसलाई अपनाइँदै आइयो।जुन प्राग् ऐतिहासिक कालको कुरा हो।यसैले यसबारे प्रष्ट प्रमाण नपाए पनि अनुमानकै विषय बन्दै आयो। हाम्रो समाजमा अहिले आर्य नस्ल र आर्यबाहेक इतर जसलाई अनार्य भनेर समेटियो।तिनका संस्कृतिहरू  समावेश भएका छन्।आर्य समुदायले धेरैजसो अङ्गीकार गरेको परम्परालाई हिन्दु परम्परासित जोडिएको छ, यसकारण अहिले चर्चा गरिएको दशैँ चाड यसैमा बढी अल्झिएको छ। यद्यपि हिन्दुहरूले अपनाएका चाड बाडमा इतर सम्प्रदायका विश्वास र आचरण पनि जोडिँदै आए।त्यो यसरी मिश्रित भयो त्यसको भेद पनि पहिचान हुन गाह्रो हुन थाल्यो।जस्तो शिव आर्य देवता हैनन्,उनी अनार्यमा गनिन्छन्,तर हिन्दुहरू त्रिदेवको रूपमा उनलाई ग्रहण गर्दछन्।यस्तै नेपाली समाजमा प्रचलित तिज,रक्षाबन्धन(जनै पूर्णिमा)हरूको पनि मिश्रित स्वरूप छ।तिज एकातिर हिन्दु नारीहरूको चाड भनिन्छ भने,त्यो अनार्य देव महादेवसँग जोडिएको छ। अहिले हामीकहाँ प्रचलित अनेक संस्कृतिहरू हजारौं वर्षका विश्वास र दिनचर्यासित पनि जोडिएका छन्।यिनमा अनेक मिथकहरू मिस्सिँदै गए।भाष्य अनेक निर्माण भए।वास्तवमा यिनको जग कविला अवस्था र कति त त्यसभन्दा अगि देखि नै बसेका हुन्,जसरी एउटा सानो  मूलबाट बगेको पानीमा अनेक मूल,मुहान,खोल्सा खाल्सी मिस्सिँदै नदी बन्छ,त्यसमा पनि वृद्धि हुँदै हुँदै यसले समुद्रमा मिस्सिने ल्याकत राख्दछ।ती खोल्साखाल्सीमा शुद्ध पानीमात्र बगेको हुँदैन,फोहर,धमिलो ढल नल पनि सँगै बगिरहेको हुन्छ,केही अगि बगेको धमिलो प्रवाह केही पछि सङ्लो जलप्रवाह बन्दछ।तर उसभित्रको फोहर पूर्ण शुद्धीकरण भइसकेको हुँदैन।संस्कृति परापूर्व कालदेखि सामाजिक जीवन,सङ्घर्ष र प्रतिद्वन्द्वीताको प्रतिबिम्ब हो।यो कुनै समयको विजयको पराजयको अभिव्यक्ति पनि हुन सक्छ।तर ती अप्रमाणित वा काल्पनिक विषयलाई अहिले प्रतिशोधको नजरले हेर्न कति उपयुक्त हुन्छ, प्रश्न उठ्न सक्छन्। ३/. संस्कृतिको स्रोत- हामीकहाँ प्रचलित संस्कृतिको स्रोत सामन्तवाद,र कविला विश्वास हुन्।अब हजारौ वर्ष व्यतीत भैसकेको छ,तैपनि यसको प्रभाव रहिरहेको छ।अहिले हामी त्यही जगमा आधुनिक युगको नाउँमा पूँजीवादी युगको प्रभावमा छौँ।पुरातन कालमा संस्कृति जीवन अस्तित्वको निम्ति मानिसले गरेको संघर्षका अनुभूतिसँग जोडिँदै अनेक विश्वास,अनुमान र अन्धविश्वासको कुहिरोमा अलमलिँदै आएको छ।दशैँलाई नै हेर्दा पनि अहिले यो एउटा जातिले अर्को जातिमाथि गरेको निर्ममताको संझनामा मनाइएको चाड हो भनिन्छ,यसले गर्दा समाजमा केही वर्षदेखि चलिआएको सौहार्द्रता खलबलिएको पनि छ।तर अब हामीले नयाँ मान्यता,नयाँ परम्पराको जग बसाल्नुपरेको छ।यसमा न त पुरानो जति सबैलाई कत्लेआम गरेर सम्भव छ न त त्यसलाई आँखा चिम्लेर अङ्कमाल गर्न सकिन्छ।यद्यपि रीतिरिवाज एकैचोटी राजनीतिक क्रान्ति जसरी फेरिन सक्दैनन्,यो इतिहासले बुझाइसकेको कुरा छ। ४/. केही ऐतिहासिक अनुभवको चर्चा- ---------------------------------------- एकपटक तुर्कीमा अतातुर्क (राष्ट्रपिता)कमाल पासाले सामन्ती राजतन्त्रलाई समाप्त गरेर क्रान्तिको नेतृत्व गरे।उनको राजनीतिक क्रान्ति त सफल भयो तर विजयको उन्मादमा उनले समाजमा जरो गाडेर बसेका परम्पराको जबर्दस्त समाप्त गर्ने काम हतारमा गरे,जसले उनलाई जनताबाट अलगथलग बनायो,उनी आखिर पराजित भए,मुलुक भयानक प्रतिगमनको सिकार बन्यो‌।सोभियत सङ्घमा समाजवादको स्थापना पछि पौने एक शताब्दी बितिसक्दा पनि,समाजवादी सोभियत सङ्घले मानव जातिको मुक्तिको युग सुरु गरिसक्दा पनि त्यहाँका चर्चहरूमा जनताको भिड रहिरह्यो।चीनमा जनवादी क्रान्तिताक जनमुक्ति सेना तिब्बत प्रवेश गर्दा दलाइ लामाहरूको प्रचारले तिब्बती जनता धेरै दिनसम्म आफ्नो घरमा आएनन् , जनमुक्ति सेनाको धेरै प्रयासपछि जनता घर फर्के र  जनमुक्ति  सेनालाई स्वागत समेत गरे।साँस्कृतिक क्रान्तिको समयमा पनि त्यहाँका धार्मिक परम्परालाई समाप्त पार्न सकिएन।यसै गरी कम्पुचियामा पनि यस्तै अवस्था देखियो। वास्तवमा पोलपोट वा ख्मेर रुजमाथि  यस्तै निहुँमा बढी दमन गरियो,कतिपय काल्पनिक  दोष थोपरेर वास्तविक सत्यलाई छोपिएकै छ। केही वर्ष अगि तालिवानले बामियान  बौद्ध मूर्तिहरू माथि निर्मम दमन जसरी गर्यो त्यसले स्वयं उसलाई राम्रो गरेन।नेपालकै सन्दर्भ लिने हो भने पनि एकीकरण अभियानमा पृथ्वीनारायण शाहले काठमाँडौ उपत्यका र अरु भूभागको संस्कृति  र परम्परामा दमन गरेनन्। ५/. सांस्कृतिक रुपान्तरणको चर्चा गर्दै गर्दा- ------------------------------------- अहिले हाम्रो समाजमा पनि एकातिर क्रान्तिकारी रुपान्तरण हरेक क्षेत्रमा आवश्यक छ।तर त्यो भिड बनेर आउँदैन।एउटा राजनीतिक व्यवस्थाको निम्ति सङ्घर्ष गर्दा त्यसको निशानाको दायरा सीमित शासक वर्ग हुन्छ र त्यसले दिने फाइदा बहुसङ्ख्यक वर्गहरू हुन्छन्,तर संस्कृतिको क्षेत्रमा यो बाहिर त्यसरी देखिँदैन‌।संस्कृति सबै जनताको पक्षमा हुँदैन तर वहुसंख्यक जनता यसरी बुझिरहँदैनन्।हो कार्लमार्क्सले भनेझैँ नै"धर्म एउटा अफिम हो।"तर यसरी मात्र बुझेर पुग्दैन।धर्मको नशामा सबभन्दा बढी त सोझा सिदा सादा गौप्राणी जनता नै अलमलिएका छन्,उनीहरूका विश्वासलाई काँडो उखेले झैँ निकाल्न सकिन्न।यसमा सारै सानो समूहमात्र  यस्तो विषयमा जानकार हुन्छ,तर ठुलो समूहलाई यसरी हेर्न मिल्दैन। यसकारण हामीले एउटा बिचको बाटो नै अपनाउनुपर्छ।हामीले पुरानो विषयलाई त्यसरी नै जोगाउन सक्छौँ,यो जति आवश्यक छ। प्राचीनताको नाममा सबै सफा र फोहरलाई बटुल्न सक्दैनौँ,तिनलाई छान्नैपर्छ,केलाउनै पर्छ।हामीले सामन्तवादमा संस्कृतिको नाममा अनेक अन्धविश्वासको विकास गर्यौँ,यसका पक्ष विपक्षमा  तर्कवितर्क गर्यौ,आक्रोश त पोख्यौँ तर त्यसको समाधान पहिल्याउन सकेनौँ।हामी ऋषिमुनि बन्ने रहर त गर्यौँ,तर वैज्ञानिक पथप्रदर्शक बन्न सकेनौँ। फलस्वरुप सामन्ती संस्कृतिको डङ्गुरमा औद्योगिक क्रान्तिको मैदानमा पूँजीपति र श्रमिक वर्गको विभाजन रेखासम्म आइपुग्यौँ,यहाँसम्म आइपुग्दा पनि हामीले श्रमजीवी वर्गको पहिचान दिने संस्कृतिको उदय भएको देख्न पाएनौँ,अहिले हामी त्यही पुरातन जीर्ण वस्त्रलाई टालटुल गरेर लगाए जसरी सांस्कृतिक सम्पदाको बखान गर्न वाध्य छौँ। मानिसलाई जीवन मरणको सङ्घर्षमा लागिरहँदा मनोविनोद चाहिन्छ,मानसिक शान्तिको पनि एकछिन अवसर चाहिन्छ।उसलाई मनोवैज्ञानिक विश्राम चाहिन्छ, शारीरिक आराम पनि चाहिन्छ।अहिलेको तनावयुक्त समयमा केही राहत  आवश्यक पर्छ।आपसमा अनावश्यक झगडा,द्वेष,दङ्गाफसादबाट पनि मुक्ति चाहिन्छ, यसकारण यस्तो अवस्थामा शान्तिको ठुलो वृक्षमनि विश्राम पनि चाहिन्छ।हाम्रा सबै जातिका विविध संस्कार, संस्कृतिले यो समस्याको समाधान दिन सक्नुपर्दछ। अहिलेको हाम्रो संस्कृतिले हामीलाई समस्या थोपारिदिएको छ,समाधान दिएको छैन।अगि नै संकेत गरिसकिएको छ,अहिलेको संस्कृतिको मुहान सामन्ती समाज हो।तर अहिले यसलाई नयाँ पूँजीवादी समाजमा मनाइएको छ।हामीले बुझ्नुपर्ने कुरा के छ भने, सामन्ती संस्कारले वैज्ञानिक विषयलाई पनि रहस्य र अन्धविश्वासको खोल ओडाइदिन्छ,जो अद्यापि छ,अनि पूँजीवादले आडम्बर,ठुल्याइँ,रबाफ प्रदर्शन गराएर मनोवैज्ञानिक वर्चस्व कायम गर्दछ, यसकारण यी दुवै मान्यतालाई परिवर्तन गर्दै संस्कृतिको अभ्यास गर्नुपर्दछ।यिनका केही स्वस्थ पक्षलाई पहिचान गर्नु,यिनका विभेदकारी मान्यता ,फोहर दृष्टिलाई हटाउँदै पुरानोको स्मरण पनि गर्दै समाजलाई सांस्कृतिक रूपमा सम्पन्न पार्न सकिन्छ।समाज दुइ वर्गमा विभाजित त छँदै छ।जसमा हुनेखाने वर्ग र हुँदाखाने वर्ग पर्दछन्।हुँदाखाने वर्गको हातमा सीमित सम्पत्ति,नगण्य सुख,र त्यस्तै निम्न उत्पादन स्वामित्व मात्र रहेको हुन्छ, यसकारण जतिसुकै चाहे पनि हाम्रा चाडबाड संस्कृति हुँदा खाने मैत्री रहन सकेका छैनन्। हुँदा खानेहरू पनि ऋणै काडेर पनि रमाइलो गर्दछन्।,"भगवान् भरोसा"मान्दछन्।पहिलो त हुँदा खानेलाई हुने खाने बनाउने हो, जबसम्म यस्तो अवस्था आउँदैन तबसम्म संस्कृति पूर्ण अनुकरणीय हुन सक्दैन।तर हरेक अप्ठ्याराको बिच हरेक पक्षमा केही सकारात्मक प्रवृत्तिको तृण समाएर भिरबाट लड्न जोगिनुपर्छ। अहिले हामीले दशैँ वा कुनै चाडबाड,इद वा वुद्ध जयन्ती वा क्रिसमस वा ल्होसार जे होस् तिनका पछौटे चलनलाई पछ्याउने हैन,तिनभित्रका आदिम मानवीय जीवनका सदाशयतालाई समात्न सक्नुपर्दछ। ६/. नगिचै आएको बडा दशैँ,तिहार,छठ ,नेपाल सम्वत्,क्रिसमस आदिका विषयमा- -------------------------------------------------- यिनमा निकै साँस्कृतिक विविधताले युक्त चाड वडा दशैँ हो। यसलाई आर्यहरूको अनार्यमाथिको विजयको पर्व भनेर ब्याख्या गरिन्छ, वास्तवमा यो प्राक् ऐतिहासिक कालमा भएका कविलाहरूको बिचको सङ्घर्षको  मिथक हुन सक्छ।तर अब नयाँ सोचको आवश्यकता छ।हरेक जाति सम्प्रदायका प्राचीन पक्षमा रहेको एउटा कमजोरी त्यसभित्रको पछौटेपन र शासक वर्गले गरेको आफ्नो स्वार्थ अनुकूलको व्याख्या हो।अब सबै जाति सम्प्रदायका मानिसहरूमा रहेको साँस्कृतिक विशेषतामा जनताका पक्षमा हुने चलनलाई स्वीकार्नु परिमार्जन गर्दै जाने अभ्यास गर्नु नै पर्छ। हाम्रो संस्कृतिमा सामन्ती र पूँजीवादी प्रचलन हावी छ।यिनमा केही समानता छ,दुबै समयमा धनसम्पत्तिको रबाफ,शक्तिको हैकम रहेको पाइन्छ, यसलाई साधारण जनताले खुसीसाथ स्वीकार्न गाह्रो हुन्छ, यसकारण थुपारिएको छ,वाध्यता छ तर अब यसले कोल्टे फेर्नुपर्ने हुन्छ। हामीकहाँ प्रचलित दशैँ पर्वलाई पुरानै पाराले मात्र हेर्न सकिन्न।तर यसको प्रवल र दुर्बल पक्षतिर हाम्रो ध्यान जानुपर्ने छ।यसपर्वमा पिङ बनाउने,रमाइलो गर्ने यो अवसर छ। यसलाई खास गरी जनजातीय संस्कारको मिश्रण भन्नुपर्ने हुन्छ।नाता र सामाजिक हैसियतले मान्य जनको हातबाट आशीर्वाद लिने चलन पुरानो हो।जनजातिको पुरानो थलोमा त्यहाँको मुखियालाई भेटी लिएर टीको थाप्ने चलन गाउँठाउँमा पाइन्थ्यो,अहिले यो क्रमशः विस्मृत हुँदै गएको छ।यो सामन्ती समाजको अवशेष थियो!अहिले पारवारिक रूपमा अग्रज पुस्ता र मान्यजनबाट टीका लिने चलन रहिरहेको छ,तर पहिलो जस्तो व्यापक छैन।बरु सामुहिक भेटघाटमा शुभकामना आदानप्रदान भने फस्टाएको छ। हाम्रो दशैँको साँस्कृतिक पाटो दुइ किसिमको देखिएको छ।पहिलो पाटो पितृपक्ष भनियो।यस पक्षका १६दिनसम्म मृतक पिताहरूको नाममा श्राद्धको कर्मकाण्ड गरिन्छ।यसमा पितालाई प्रतिनिधि बनाएर सबै पितृ(माता पिता गण)को संझना गरिएको हुन्छ,यसमा पिताको वंश र माताको वंशका तीन पुस्ते मृतकहरूलाई तर्पण दिइन्छ।तर्पण मृतकलाई संझने एउटा विधि हो। यस्तै अर्को पाटो घटस्थापनाबाट सुरु हुन्छ, जसलाई नवदुर्गा भनिन्छ‌‌।यसमा दुर्गा भवानी देवीहरूको संझना गरिन्छ।यसको व्याख्या आफ्नै प्रकारले गर्न सकिन्छ।नव दुर्गाका नामहरूमा मातृसत्तात्मक समाजको झझल्को पाइन्छ। सोह्र श्राद्धले पितृसत्तात्मक अवस्थाको झझल्को दिन सक्छ,यसलाई वैज्ञानिक अध्ययन विधिबाट बुझ्नुपर्दछ।नेपाली समाजमा प्राग् इतिहासको मातृसत्तात्मक अवस्थाको पहिलो वैज्ञानिक चर्चा पुष्पलालले गर्नुभएको हो‌।यो एउटा मार्क्सीय अध्ययन विधिमा आधारित छ। यो प्राग् इतिहासको पाटोको अझ विस्तृत अध्ययन गर्न प्रस्थान विन्दु हुन सक्छ। यस्तै अरु धेरै चाडपर्व परम्परा छन्,गुरुङ,मगर,राई लिम्बू,थारु , धेरै समुदायका  परम्परा छन्, स्थानीय रूपमा तराइको छठ र अरु,पश्चिमको गौरा आदि।यिनले तत्कालीन समयको मानिसको मनोविज्ञानको नापो गर्दछन्।तिहार विशुद्ध आर्य संस्कृतिमात्र हैन,यसले दिने सन्देश निकै मनोवैज्ञानिक छ।तिहार पछि लगत्तै आउने नेपाल सम्वत् एक मुख्य ऐतिहासिक परिघटना हो,यद्यपि कालान्तरमा यसमा केही कल्पना वा अतिरञ्जना पनि हुन सक्छन्।क्रिसमस पनि केही समयदेखि चलनमा आएको छ,मुस्लिम धर्मावलम्बीको इद,बकर इद,मुहम्मद जयन्ती , जनजातिहरुको विविध ल्होसार यी सबै जनताका संस्कृति हुन्,तर यिनलाई पनि सुधार,परिमार्जन र वैज्ञानिक नजरले हेर्नुपर्ने  भएको छ। ७/. नेपाली समाजको सांस्कृतिक रुपान्तरणको दिशा --------------------------------------------------------- समाजको आधुनिक यात्रामा यति खेर नेपाली समाज एउटा दोबाटोमा उभिएको छ‌।एकातिरबाट हामी एउटा पार नलाग्ने अन्धकार  गन्तव्यमा पुग्न सक्छौँ जसलाई पूँजीवादी बाटो भन्न सकिन्छ ‌यो बाटो नेपाली समाजको अग्रगमनको बाटो होइन,यो दक्षिणपन्थी मार्ग हो,यो सामन्तवादको मित्र पनि हो‌।अर्को बाटो हो ,जुन वाममार्ग हो ‌।यो नेपाली समाजको वैज्ञानिक रुपान्तरणको बाटो हो। हाम्रो संस्कृति पनि वाम मार्गमा गए मात्र साँचो स्वरुपमा उभिन सक्छ।अहिले कुन बाटो जाने त्यो बहस भैरहेको छ,दुई विपरीत शक्तिहरू तानातान गरिरहेछन्,ती राजनीतिक र आर्थिक पक्षमा जति सजिलोसँग उभिन सक्छन्,संस्कृतिमा सक्दैनन्,समाजमा पछौटे र शोषणमूलक स्वभावले गहिरो जरा गाडेको छ,यो बाह्य पक्षमा आमूल परिवर्तन नआई संस्कृतिमा प्रवेश गर्न सक्दैन, जुनसुकै समाजको पहिलो पाटो भनेको उसको राजनीतिक पाटो हो,यसले सँगै आर्थिक परिवर्तनलाई पनि डोर्याउँछ,यो सामाजिक उत्पादन सम्बन्धसँग जोडिएको हुन्छ।यो बलियो हुँदै गएपछि मात्र साँस्कृतिक परिवर्तनको अनुभव गर्न सकिन्छ।तर हामीले यहीँ पनि पुरानोलाई नयाँको पक्षमा पार्न लागिरहनुपर्छ,जसको लागि प्राचीनतालाई कुचो बढारे झँँ बढार्न सकिन्न तर नाङ्लो चाले झैँ चाल्नुपर्छ, ८/. यसो गर्दा केही पक्षलाई ध्यान दिन पर्छ:-ती हुन्- --------------------------------------------------- **संस्कृति हुँदाखानेको पक्षमा हुनुपर्छ,हुँदा खानेलाई हुनेखाने बनाउने हो,हुने खानेलाई मुखमा कोर्को लगाइदिने हैन।   ** संस्कृतिमा जनतालाई विभाजन गर्ने र लडाउने गन्ध हुनुहुँदैन, ** संस्कृति फजुलखर्ची र आडम्बर देखाउने हुनु हुँदैन।यसो भएमा समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ,हाम्रा सबै जाति समुदायका संस्कृतिमा यस्ता गुण कति छन्,ती महत्त्वपूर्ण हुन्। **दशैँ र अरु सबै  पनि एउटा दोबाटोमा उभिन आइपुगेका छन्, जसलाई कसैले दाहिनेतिर  धकेल्न खोजेका छन्, कसैले बायाँतिर,हामी वास्तवमा कुन किनारामा छौँ,बुझ्ने बेला आइसकेको छ । **संस्कृतिविना मानव सभ्यताको अध्ययन हुन सक्दैन,तर यसको नाउँमा अवैज्ञानिक,पछौटे, कसैलाई थिचोमिचो गर्ने प्रकृतिको संस्कृतिलाई अपनाउन सकिँदैन, तिनलाई छोड्नुपर्छ,यसको अर्थ संस्कृतिलाई उखेल्ने हैन गोडमेल गर्ने हो।दशैँ र अरु सबै चाडबाड ,पर्वहरू पनि यही समयको प्रतीक्षामा छन्।जुन समयले हाम्रो सांस्कृतिक रूपान्तरणको सपना पूरा गर्न सक्छ। २०८१/०६/०२/०४ हाल: तनहुँ समाप्त