२०८३, कार्तिक २९ गते

२०८३, कार्तिक २९ गते

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता

कविता

शनिवार , कार्तिक २९, २०८३

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता

"भिखारी"

१.

हेर भिखारी अडिअडि आयो
करुणा दृष्टिले नजर उठायो
गाढा दुःखको मौन प्रकाश !
झीना आशाा–तार बजायो !
घाम उज्यालो आँगन पास !
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास

२.

हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निठूर !
जीवजपथमा विचरा पथरा !
काँपिरहेको थुरथुर !
झल्लर झोली बढाउँछ बबुरा !
करले अस्थिर, काँतर !

३.

बर्ष–बर्षका हेर तुषारा
शिरको उपर गिरेका !
हेर आँसुका खहरेहरुका
मुखमा खोँच परेका
दिनदिनले त्यो छातीमाथि
चिरा चरक्क चिरेका !

४.

अडिअडि धरमर स्वाँ–स्वाँ गर्दै ! !
मौन बिलौना वरिपरि गर्दै
आर्तनादको हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ, स्वरले छाती चिर्दै,
चामल एक मुठी !
जीवनभरको एक पुकारा
चामल एक मुठी !

५.

मानिससंगमा मानिसको यो
अन्तर्दिलको रोदन
भाइहरुसंग भिक्षाको यो
मुठी दयाको याचन !
घाम उज्यालो आँगनमा यो
एक अँध्यारो अवलोकन !
गुलाबहरुको हाँसोवीच यो,
एक उन्यौको रोदन ।

६.

को होला यो, कसको छोरो,
कसको बाबु गरीब ?
कुन आमाले काख लिँदामा
बल्थे दृगमा दुइ दीप ?
कुन आशाले नजर खुलायो
खुलायो
सूर्य, चन्द्रको नजर समीप ?
किन मुरझायो ? किन वैलायो ?
किन मधुरो यो जीवनदीप ?

७.

बुद्धदेवको नजर अगाडि
यही भिखारी आएथ्यो;
मूर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो;
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो;
भेष यसैले बलियो शेखी
पवित्र पारी निहुराएथ्यो ।

८.

कालो बदलबाट खसेको
अन्धकारमा भित्र बसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेको
घर,घर आँगन चारी
बोल्दछ, आर्तध्वनीमा घोल्दछ
करुणामृत दिन भारी ।

९.

युग युगभरको आँशुहरुको
सार अपार उतारी
दुःखको दिलमा ईश्वर बोल्दछ
अधर अनन्त उघारी ।
माग्दछ करुणा भाइहरुमा
आई पृथिबीवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी
 
(महाकवि लक्ष्मीप्रसाद देवकोटा November12, 1909- September 14, 1959) i