अमर गिरी महत्त्वपूर्ण समकालीन कवि हुनुहुन्छ । पाँच दशकदेखि कविता सृजनामा सक्रिय रहँदै आउनुभएका उहाँले समालोचना र निबन्धमा पनि कलम चलाउनुभएको छ । उहाँका घामछेक्ने पहाड (२०५५ ) तर पनि हामी जीवित छौँ (२०६१ ), दुःसाध्य समय (२०६४ ), शब्दहरूको बिचमा (२०७१), समय संवाद (२०७३) र रातमा कलम (२०८२) कविता सङ्ग्रह र आधा दर्जन समालोचनका कृति प्रकाशित छन् । समय, शब्द र संवाद (२०८२) उहाँको निबन्धात्मक कृति हो। उहाँले आधा दर्जन कृतिको सम्पादन, सहसम्पादन गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट कवितामा विद्यावारिधि गर्नुभएका उहाँ गम्भीर अध्येता र चिन्तक हुनुहुन्छ । प्रगतिशील लेखक सङ्घको अध्यक्ष, चलचित्र विकास बोर्डको अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्य एवम् काव्य विभाग प्रमुख, भाषा आयोगको सदस्य , राष्ट्रिय गान चयन कार्यदलको सदस्यका रूपमा उहाँले सम्पादन गरेको भूमिका उल्लेखनीय रहेको छ ।
उहाँका कवितामा संवेदनाको गहिराइ । अनुभूतिको तिक्ष्णता, भाव गाम्भीर्य र विचारको प्रौढता पाइन्छन् । सरल, कलात्मक र गम्भीर कविता लेख्नु ,जीवन एवम् समकालीन यथार्थका विविध पक्षलाई काव्यिक अभिव्यञ्जना दिनु उहाँका विशेषता हुन्। उहाँका कविताको केन्द्रमा प्रगतिवादी चेतना पाइन्छ । यस पटक हामीले उहाँका एक दर्जन अप्रकाशित कविता पाठकका निम्ति प्रस्तुत गरेका छौँ - सम्पादक ।
पुनर्रचना
यो रच्ने समय हो
जसले रच्नेछ
उही बच्नेछ
त्यसैले गर्नेछ
समयको पुनर्रचना
उसैबाट ध्वस्त हुनेछन्
अँध्यारा दुर्गहरू ।
समय
म उसको हृदयमा
संवेदनाको गहिराइ
र भावको गाम्भीर्य दिन खोज्छु
उसको मस्तिष्कमा
विवेकको सौन्दर्य
र विचारको सुगन्ध छर्न खोज्छु
तर पर पर भाग्छ ऊ मबाट
र अराजकताको आवासमा
आफ्नो सौन्दर्य खोज्छ
यो कस्तो समय हो कवि
उसको मस्तिष्कमा यति बेला
कुन ‘प्रेत’ सवार छ ?
सुन्दर
निधारबाट बग्दै गरेको पसिना
ठेला परेका हातहरूले पुछ्दै
जब तिमी मतिर फर्किएर मुस्कुराउँछ्यौ
सुन्दर लाग्छ्यौ
असाधारण सुन्दर
मेरी प्रिय !
श्रममा मुस्कुराउने अनुहार
किन यति सुन्दर लाग्छ मलाई ?
धार
हाम्रो जस्तै नदीको पनि बाटो हुन्छ
कहिले दायाँतिर ढल्किएर
हिड्छ ऊ
कहिले बायाँतिर
नागवेली परेर हिड्छ कहिले
कहिले सिधा
हामी उसको किनारा आबाद गरेर
जीवनका सपना बुन्छौं
जब उसको धारले रौद्र रूप धारण गर्छ
हाम्रा सपना सकिन्छन्, हामी सकिन्छौँ ।
श्रीमान् ट्रम्पहरू
पग्लिएका हिमाल
र पहिरो गएका पहाड
खडेरीले खाएका फाँट
र बाढीले निलेका बस्ती
उत्तप्त घाम र सुकेका वृक्ष
मुर्झाउँदै गरेको पृथ्वी र
मरिरहेका मानिस देखेर
पहिरो जाँदैन उनीहरूको हृदयमा
संवेदनाले होइन
मुनाफाको धातुले बनेको छ
उनीहरूको हृदय ।