नेपालका सन्दर्भमा लुसुन भाग एक- निनु चापागाईं
चीनका महानतम आधुनिक साहित्यकार लु सुन तत्कालीन चीनमा अति लोकप्रिय साहित्यकार त थिए नै उनी विश्वव्यापी रूपमा परिचित चीनका साहित्यकारमध्ये अग्रणी पनि थिए । तत्कालीन चीनको सामाजिक–आर्थिक परिस्थिति अनुरूप सामाजिक–आर्थिक अवस्था भएका थुप्रै देशहरूमा चीन बाहिर पनि उनको प्रभाव पैmलिएको पाइन्छ र नेपालमा पनि उनको निकै ठुलो प्रभाव रहेको छ । नेपालमा जे जति विदेशी साहित्यकारहरू लोकप्रिय रहेका छन् तिनमा लु सुनको नाम शीर्ष स्थानमा आउँछ । हामी यस लेखमा नेपालमा लु सुनलाई कसरी हेरिन्छ र उनको मूल्याङ्कन समग्रमा कसरी हुने गरेको छ भन्ने कुराको चर्चा गर्दै छैनौं । लु सुनलाई नेपालमा पहिले, पहिले अर्थात् सुरु सुरुमा कसरी हेरिन्थ्यो र त्यतिखेर लु सुनको प्रभाव कस्तो थियो भनेर अवलोकन गर्ने प्रयास गर्दै छौं । यसका लागि लु सुनका बारेमा प्रकाशनमा आएको नेपाली भाषाको पहिलो पुस्तकलाई आधार बनाउनु उचित देखिन्छ । नेपाली भाषामा लु सुनका बारेमा प्रकाशित भएको सम्भवतः सबभन्दा पहिलो किताब ल्यू स्युनको सम्झनामा (१९६७) शीर्षकको कृति हो । यसभन्दा पहिले पत्रपत्रिकाहरूमा लु सुनका बारेमा केही लेखहरू प्रकाशित भएका छन्, तर पुस्तकाकार कृति भने प्रकाशनमा आएको थिएन ।
यो कृति विभिन्न लेखकहरूको भाषण र लेखहरूको सङ्कलन हो । यसमा सात जना लेखक–कविहरूको विचार र धारणााहरू सङ्कलित छन् । वास्तवमा यस कृतिलाई नेपालमा सर्वप्रथम मनाइएको लु सुनको जन्मजयन्तीको अभिलेखीकरण भन्न सकिन्छ । लु सुनको ८५ औं जन्मजयन्ती आजभन्दा बाउन्न वर्ष अघि सन् १९६६ मा मनाइएको थियो । यसको आयोजना नेपाल चीन मैत्री पुस्तकालयले गरेको थियो र यसमा ठुलो सङ्ख्यामा लेखक–साहित्यकार लगायत जनताको पनि उपस्थिति रहेको थियो । यही कार्यक्रमको अभिलेखीकरण यस पुस्तकमा भएको छ । नेपाली वाङ्मयमा साहित्यकार लुसुनको चर्चा करीब छ दशक अघिदेखि हँुदै आएको छ । थाहा पाएसम्म साहित्यकार गोविन्द्रप्रसाद लोहनीले सर्वप्रथम १९५३ फरबरी (२००९ फागुन) मा लुसुनको सन्दर्भ आजको चीन नामक आप्mनो कृतिमा उठाएका छन् । जनवादी क्रान्तिपछिको नयाँ चीनमा विकसित भएका सर्वांगीण पक्षका बारेमा जानकारी गराउने उद्देश्यले लेखिएको यस कृतिको तेस्रो उपशीर्षक शिक्षा, संस्कृति, साहित्य, कला, धर्म आदि अन्तर्गत लुसुनको चर्चा आएको छ र उनले यसमा लुसुनलाई सामन्ती समाजको साहित्य र संस्कृतिमाथि हमला गर्ने, सांस्कृतिक क्रान्तिका जनक भनेर चिनाएका छन् । उनले भनेका छन् : ‘स्कुल कलेजमा पुँजिवादी जनवादी विचार पढाइन्थ्यो, तर देशको उत्पादन व्यवस्था र समाजको गठन भने सामन्ती थियो (नेपालमा पनि आज ठीक यस्तै अवस्था छ) । सांस्कृतिक क्रान्तिका जनक लुसुनले सामन्ती समाजको साहित्य र संस्कृतिमाथि हमला गर्न थाले । कन्फुसियस दर्शन नै सामन्ती समाजको मुख्य दर्शन थियो । त्यसैले माक्र्सको ‘धर्मको आलोचना सारा आलोचनाहरूको प्रारम्भ हो’ भन्ने उक्तिलाई चरितार्थ गर्दै प्रगतिशील तत्वहरूले कन्फुसियस दर्शन माथि नै प्रहार गर्न थाले ।’ यही वर्ष (२०१०) साहित्यकार श्यामप्रसादले लेखक कसरी बन्ने ? शीर्षकको कृतिमा जनताका साहित्यकारहरूले आप्mनो जमात बढाउन र नयाँ साहित्यकारलाई प्रेरणा र सहायता गर्नुपर्छ भन्ने सन्दर्भमा विश्वका अन्य लेखकहरूको पङ्क्तिमा लुसुनको नाम उल्लेख गरेका छन् । उनले भनेका छन् : ..यस्ता सबै कुरामा पुराना लेखक–कविहरूले नयाँ सिकारुहरूलाई प्रेरणा र सहायता दिने गर्नुपर्छ । लियो टल्सटाय, तुर्गनेव, मैक्सिम गोर्की, निकोलाई नेक्रासोव, लुसुन, भारतेन्दु हरिचन्द, महावीरप्रसाद द्विवेदी, रवीन्द्रनाथ ठाकुर आदि जनताका साहित्यकारहरू आप्mनो जमात बढाउन भरमग्दुर चेष्टा गर्थे ।’ साहित्यकार लुसुनका बारेमा नेपाली पाठकहरूलाई सर्वप्रथम सबभन्दा बढी जानकारी दिने काम कोशराज रेग्मीद्वारा लिखित ‘लुसुनको जीवनीको छोटो अध्ययन’ शीर्षकको लेखले गरेको देखिन्छ । १९५६ (२०१३ कार्तिक) मा जन सांस्कृतिक सभा, संखुवासभाको मुखपत्र ‘नौलो पाइलो’ मा प्रकाशित यस लेखमा लुसुनको साहित्यिक यात्राका बारेमा अलि बढी जानकारी दिने काम भएको छ र यसमा लुसुनका सामाजिक आलोचनामा केन्द्रित निबन्धहरूलाई खुकुरीको धारजस्तै सारै तिखो भनेर चित्रण गरिएको छ । १९६१ (२०१३) मा प्रकाशित प्रो. निरञ्जन भट्टराईको चीन र त्यससित नेपालको सम्बन्ध शीर्षकको किताब जम्मा ३२ वटा प्रमुख शीर्षकका विभाजित छ र त्यसको २७ सौं शीर्षक लुसुन रहेको छ ।
यसमा प्राध्यापक भट्टराईले ‘अखिल राष्ट्रव्यापी प्रभाव भएका’ भनेर मानिएका ‘ठुला लेखक’ ‘लुसुनको जीवनको परिवर्तनमा सिंगो चीनको मानसिक परिवर्तन देखिने हुनाले चीनको वर्तमान युगको इतिहासमा उनको अध्ययन प्रमुख मानिएको छ’ भनेका छन् । लुसुनलाई ‘चिनियाँहरूले लेखक, विचार र क्रान्तिकारीका रूपमा सम्मान’ गरेको र उनका ‘लेख र विचारले चीनमा नयाँ युगको सिर्जना’ गरेको उल्लेख गरेका छन् । यस लेखमा भट्टराईले चिनियाँ जनताको शारीरिक उपचार गर्ने अठोट लिएर डाक्टरी पढ्न जापान पुगेका लुसुन शारीरिक स्वास्थ्यभन्दा ठुलो कुरो मान्छेको मन स्वस्थ हुनुपर्ने रहेछ र त्यसलाई परिवर्तन गर्न लेखक बन्नु सर्वाेत्तम छ भनेर कसरी लेखक बन्न पुगे भन्ने तथ्यको उद्घाटन पनि गरेका छन् । लेखकका रूपमा लुसुनले मान्छेले मान्छे खाने युगको वर्णन गरेको, ‘रोगी समाजका अभागी मान्छे’का लागि ‘ओखती’ बनाएको, रोग निको पार्ने तीतो ओखतीको रूपमा समाजका धेरै खराबीतिर औंल्याएको र त्यसबाट बच्ने प्रेरणा लिन चीनको प्रत्येक दोषलाई कोट्याई, कोट्याई देखाएर त्यसबाट बच्न राजनीतिक, आर्थिक र सामाजिक सबै किसिमबाट सच्चरित्र हुनुपर्छ भनेको र अन्तमा माक्र्सवादलाई एक मात्र ओखती ठानी माक्र्सवादी सिद्धान्तका आधारमा साहित्य सर्जना गराउने संस्थाका प्रमुख चुनिएको जस्ता विवरणहरू यसमा दिएका छन् । १९६१ (असोज २०१८) मा श्यामप्रसादहरूको सम्पादनमा निस्कने साहित्य त्रैमासिक साहित्यिक पत्रिकाले लुसुनका बारेमा केही विस्तारका साथ व्यवस्थित तरिकाले जानकारी दिएको छ । नेपालमा लुसुनका कृति उपशीर्षक अन्तर्गत लेखिएको यो लेख जन्म, बालखकाल र शिक्षा, कृति र विशेषता, जीवनका आखिरी वर्षहरू र जनगणतन्त्रको स्थापनापछि जस्ता चार उपशीर्षकमा बाँडिएको छ र लुसुनको साहित्यिक यात्रालाई छोटकरीमा चिनाउन सक्षम छ ।
प्रारम्भिक अवस्थामा लुसुनलाई चिनाउन प्रयत्न गर्ने रचनाहरूमध्ये यसलाई बढी प्रभावकारी र सटीक मान्न सकिन्छ । लुसुनका रचनाहरू नेपालका भाषाहरूमा अनुवाद हुन थाल्नुभन्दा अघि लुसुनका बारेमा भएका चर्चाको यो सानो विवरण हो । त्यस यता नेपालका विभिन्न भाषामा लुसुनका सम्बन्धमा साहित्यिक पत्रिका तथा साप्ताहिक समाचार पत्रहरूले अनेकौं चर्चा परिचर्चा र थुप्रै गम्भीर प्रकृतिका लेखहरू प्रकाशित गरेका छन् । थुप्रै पत्रपत्रिकाले लुसुनका लेखहरूको अनुवाद गरेका छन् र कतिपयले लुसुन विशेषाङ्क समेत निकालेका छन् । कैयौं साहित्यिक पत्रिकाहरूले उहाँको सम्मान र सम्झना गर्दै उहाँको चित्रलाई आप्mनो आवरणका रूपमा राखेका पनि छन् । लेखहरूका माध्यमबाट मात्र लुसुनलाई चिनाउने काम भएको छैन, नेपालमा उहाँको सम्झनामा विभिन्न कविहरूले आप्mना रचना समेत निर्माण गरेका छन् । नेपालमा लुसुनका रचनाहरूको अनुवाद हुन थालेको एकाउन्न वर्ष भयो । लुसुनका रचनाको पहिलो प्रकाशन नेपाली भाषामा नभएर नेवारी भाषामा भएको हो । काठमाडौं नगर पञ्चायतको मुखपत्र ‘जन चेतना’ले लुसुनका रचनाको अनुवाद सबभन्दा पहिले प्रकाशित गरेको हो । ‘दुख्खमा सन्तोष कसरी लिने ?’ शीर्षकको निबन्ध यस पत्रिकाले नेवारी भाषामा १९६२ (२०१९ पुष १६) मा प्रकाशित गरेको थियो । नेपाली भाषामा लुसुनका रचनाको पहिलो प्रकाशन गर्ने पत्रिका पनि यही नै हो । यस पत्रिकाका १९६३ र १९६५ सालका विभिन्न अङ्कमा लुसुनका अरू चारवटा रचनाको प्रकाशन भएको पाइन्छ । यी रचनामा तीनवटा निबन्ध र एउटा कथा पर्दछन् । १९६३ मा नै श्यामप्रसाद लगायतले सम्पादन गरेको साहित्यिक पत्रिका ‘साहित्य’ले वामपन्थी लेखकहरूको मोर्चाको विषयमा विचारहरू (२०२०, साउन) र प्रतिभाका लागि कुर्दा (२०२०, मङ्सिर) शीर्षकका लुसुनका दुइवटा भाषण प्रकाशित गरेको छ । लुसुनका अति चर्चित कथाहरू ‘बौलाहाको डायरी’ (रूपरेखा–२०२०, असार) र ‘आह क्युको साँचो कथा’ (पुस्तकका रूपमा २०२० श्रावण) पनि यही वर्ष प्रकाशनमा आएका हुन् । साहित्यकार श्यामप्रसाद शर्माले सुरुका वर्षहरूमा सबभन्दा बढी लुसुनका रचनाहरू प्रकाशन भएको वर्षका आधारमा १९६३ लाई लुसुन वर्ष भन्न सकिन्छ भनेका छन् ।
लुसुनका यी सबै रचनाहरूको अनुवाद गर्ने साहित्यकार हुन् शान्तदास मानन्धर । अपवादका रूपमा रूपरेखामा प्रकाशित कथा मूर्ख र दास (२०२०, असोज) को अनुवादक गंगाप्रसाद प्रधानले गरेका छन् । प्रारम्भदेखि अहिलेसम्म नेपाली पाठकहरूलाई लुसुनका रचनाको अनुवाद गरेर उहाँलाई लोकप्रिय बनाउने श्रेय झन्डैजसो साहित्यकार शान्तदास मानन्धरलाई दिनुपर्ने हुन्छ । यही कारण उहाँलाई हामीले यस समारोहका बीच सम्मान समेत गरेका छौं । लुसुनलाई चिनाउने र लुसुनका रचनाहरूको संगालो निकालेर महत्वपूर्ण भूमिका खेल्ने संस्थाका रूपमा हामीले नेपाल चीन मैत्री सङ्घको पनि प्रशंसा गर्नुपर्ने हुन्छ । यस संस्थाले साहित्यमा लुसुनका विचारहरू (१९६५, कात्तिक २०२२), लुसुनको सम्झनामा (१९६६, भदौ २०२३), लुसुनका केही निबन्धहरू (१९६८, आश्विन २०२५) र बौलाहाको डायरी र अरू कथाहरू (१९७१, २०१८) जस्ता कृतिहरू प्रकाशित गरेको छ । प्रगतिशील लेख भण्डार, भक्तपुरले अर्काे एउटा निबन्ध सङ्ग्रह लुसुनका अरू केही निबन्धहरू (सेप्टेम्बर १९७८, भदौ २०३८) शीर्षकमा प्रकाशनमा ल्याएको छ । यी दुवै निबन्ध सङ्ग्रहमा परेका निबन्धहरूलाई लुसुनका निबन्धहरूलाई भाग १, भाग २ र भाग ३ मा बाँडेर १९९८ (२०५५) मा सिर्जनशील प्रकाशनले दोस्रो संस्करणका रूपमा प्रकाशन गरेको पाइन्छ । शान्तदास मानन्धरद्वारा अनूदित यी निबन्धहरूलाई एकै ठाउँमा समेटेर तीनवर्ष अघि मात्र (२०१०, २०६७) ४३ वटा निबन्धहरूको सङ्ग्रह साहित्य सदन नेपालले प्रकाशनमा ल्याएको छ । साहित्यमा लू सुनका विचारहरूको दोस्रो संस्करण पनि प्रकाशनमा आएको छ । केही परिमार्जन र थपघट सहित यसको प्रकाशन नवआलोक प्रकाशनले १९९९ (०५६) मा गरेको छ । बौलाहाको डायरी र अरू कथाहरू शीर्षकको कथासङ्ग्रहका अतिरिक्त रमेश सुनुवारले अनुवाद गरेका १८ वटा कथाहरूको संगालो दीप प्रकाशनले लुसुनका उत्कृष्ट कथाहरू शीर्षकमा प्रकाशित गरेको छ । लुसुनको ‘चिनिया“ पौराणिक कथाहरू’ गोपीरमण उपाध्यायले अनुवाद गर्नु भएको छ र यसलाई एशिया पब्लिकेसनले प्रकाशन गरेको छ । वाङ शिछिङले लेखेको लुसुनको जीवनी पनि नेपालीमा प्रकाशित भएको छ । यसको अनुवादक साहित्यकार खगेन्द्र सङ्ग्रौलाले गरेका छन् भने निरञ्जन गोविन्द वैद्यले यसको प्रकाशन (१९८५, जेठ २०४२) गरेका छन् । पत्रपत्रिकामा प्रकाशित कतिपय लुसुनका वैचारिक लेख र निबन्धहरू सङ्ग्रहमा समावेश हुन सकेका छैनन् । पत्रपत्रिकाहरूले लुसुनका रचनाहरू मात्र प्रकाशनमा ल्याएका छैनन्, लुसुनका बारेमा समेत रचना प्रकाशित गरेका छन् । त्यस्ता पत्रपत्रिकाको नाम यस प्रकार छ : अनुभूति, अभिलाषा, उत्साह, कलम, जनएकता, जनचेतना, जनमानस, जनमार्ग, जनसाहित्य, जलजला, झिसमिसे, नव आलोक, निर्माण, नौलो पाइलो, नौलो साहित्य, पौरख, प्रलेस, बिहानी, रूपरेखा, लहर, वेदना, शृङ्खला, श्रमज्योति, साहित्य, सुस्केरा, सङ्कल्प आदि । माथिको विवरणले के प्रमाणित गर्दछ भने लुसुन चिनमा मात्र होइन नेपालमा पनि निकै लोकप्रिय हुनुहुन्छ । त्यसो त जनताका पक्षमा अडिग भएर साहित्य सृजना गर्नेहरूको विरोध जन विरोधी तत्बाट हुनु पनि अस्वाभाविक छैन ।
नेपाली पाठकहरूमा लुसुनको लोकप्रियताबाट विचलित केही मानिसहरूले अनुवाद प्रकाशित गर्ने पत्रिकाहरूको विरोध नगरेका पनि होइनन् । यस सन्दर्भमा समीक्षा साप्ताहिक पत्रिकाको ३० पुस २०२० मा प्रकाशित साहित्यमा प्रगतिवाद कि हिलोवाद ? लाई उल्लेख गर्न सकिन्छ । लुसुन हाम्रो छिमेकी मुलुक चिनको साहित्यिक इतिहासका एकजना शिखर व्यक्तित्व हुनुहुन्छ । साहित्यिक–सांस्कृतिक आन्दोलनमा उहाँले खेल्नु भएको भूमिका अद्वितीय छ । उहाँको भूमिका र उहाँको स्थानलाई चिनियाँ जनताले कसरी मूल्याङ्कन गरेका छन् भन्ने कुराको संकेत चिनका महान् नेता माओ त्से तुङको निम्न सारगर्भित भनाइले दिएको छ । उहाँले भन्नु भएको छ: ‘यस नौलो सांस्कृतिक शक्तिको सबभन्दा ठुला र सबभन्दा आँटिला अगुवा लुसुन हुनुहुन्थ्यो । उहाँ चिनियाँ सांस्कृतिक क्रान्तिको महारथी हुनुहुन्थ्यो । उहाँ एक ठुला साहित्यिक मात्र होइन यौटा ठुला विचारक र क्रान्तिकारी पनि हुनुहुन्थ्यो । उहाँ कसैको अगाडि आप्mनो शिर ननिहु¥याउने खालको हुनुहुन्थ्यो, चुक्लीचाक्ली वा खुसामदीको भावना उहाँमा थिएन । यस्तो चरित्र बल हुनु औपनिवेशिक तथा अद्र्ध औपनिवेशिक जनताका निम्ति अमूल्य कुरा हो । लुसुनले राष्ट्रका अधिकांश जनताको प्रतिनिधित्व गर्नु भयो । उहाँ सांस्कृतिक क्षेत्रमा अभूतपूर्व सबभन्दा बहादुर, सबभन्दा दृढ, सबभन्दा सच्चा, सबभन्दा इमानदार, सबभन्दा लागिपरेका वीर हुनुहुन्थ्यो । हाम्रो इतिहासमा उहाँको जोडी आर्काे त्यस्तो वीर यस क्षेत्रमा पाईंदैन । लुसुनले समातेको बाटो नै चिनको राष्ट्रिय संस्कृतिको बाटो हो ।’ (नौलो जनवादबारे, पृ. ८२, नेपाल चीन मैत्री सङ्घ, काठमाडौं) चिनको हिजोको सन्दर्भमा लुसुनको महत्व के थियो भन्ने कुरालाई माथिको उद्धरणले राम्ररी प्रकाश पारेको छ । नेपालको सन्दर्भमा लुसुनको महत्व के छ र हामीले उहाँबाट के सिक्न सक्तछौं ? आजको सन्दर्भमा यो अति महत्वको विषय हो भन्ने मलाई लाग्दछ । यसबारेमा नेपाली साहित्यमा सानोतिनो नै भए पनि उल्लेखनीय छलफल भएको छ ।
‘संकल्प’– लुसुन विशेषाङ्क, पूर्णाङ्क ३८ मा प्रकाशित गोविन्द भट्टको लेख ‘यौटा अध्याँरो सहर र केही जुनकिरीहरू’ यस सन्दर्भमा महत्वपूर्ण रचना मान्न सकिन्छ । लुसुनका कृतिहरूले १९११ को क्रान्तिपछि मे चारको आन्दोलन, पहिलो र दोस्रो क्रान्तिकारी युद्धसम्मको चिनको परिस्थितिका बारेमा अत्यन्त विस्तृत, गहन र जीवन्त चित्र हाम्रा सामु प्रस्तुत गर्दछन् । लुसुनले लेखेका झन्डै लगभग चालिस लाख शब्दहरू र अधिकांश बाइस ठेलीमा सङ्कलित कथा, निबन्ध, गद्य कविता, आलोचना, संस्मरण, डायरी, चिठीपत्र (अनूदित साहित्य पनि चालिस लाख शब्दभित्र पर्दछ) ले चिनियाँ समाज, चिनियाँ जनजीवन र जनसङ्घर्षबाट प्राप्त अनुभवहरूको एउटा विश्वकोष नै निर्माण गरेका छन् । बीसौं शताब्दीको थालनीदेखि चालिससम्मको अवधिको ऐतिहासक काल र त्यसका शिक्षाहरूलाई तिनले प्रामाणिक रूपले जानकारी गराउँछन् । त्यसताकाको चिनको ऐतिहासिक शिक्षा र अनुभवहरू जान्न लुसुनको साहित्य नेपालीहरूका लागि मात्र नभएर सम्पूर्ण विश्वका लागि नै अति उपयोगी सामग्री हो । तर लुसुन र उनको साहित्यको महत्व हाम्रा लागि यत्तिमा मात्र सीमित रहेको छैन । यसभन्दा बढी यिनले कतिपय सन्दर्भमा हाम्रा लागि वैचारिक प्रेरणा दिने र मार्ग प्रशस्त गर्ने पथप्रदर्शनको समेत कार्य गर्दछन् । त्यतिखेरको चिनले जुन परिस्थितिबाट आप्mनो बाटो तय गरेको हो त्यही खालको स्थिति आज हाम्रा सामु उपस्थित छ ।
१९११ को क्रान्तिपछि तत्कालको चिनको जुन वस्तुगत परिस्थिति थियो, लगभग आजको हाम्रो स्थिति पनि त्यस्तै छ । चिङ् राजवंशको अन्त भएर गणतन्त्रको स्थापना हुनु अत्यन्त महत्वपूर्ण कुरा थियो, तर त्यसले सामन्तवाद र साम्राज्यवादलाई परास्त भने गर्न सकेको थिएन, चिनले अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थाबाट मुक्ति पाउन सकेको थिएन । हामीकहाँ पनि राजतन्त्रको समाप्ति र गणगन्त्रको स्थापना त भएको छ, तर नेपाली जनताले भोग्नु परेको देशी–विदेशी शक्तिहरूको शोषण–उत्पीडनबाट मुक्ति पाइसकेको छैन । त्यतिखेरको चिन र आजको हाम्रो सांस्कृतिक अवस्थामा पनि त्यतिसारो भिन्नता पाईंदैन । यही कारण आज हामी लुसुनको साहित्यबाट अगाध क्रान्तिकारी उत्साह, प्रेरणा, उर्जा र आत्मविश्वास पाइरहेका छौं । अर्कातिर यसले कला साहित्यको अध्ययन गर्ने र लेख्ने क्रममा रहेका युवाहरूमाथि गहन प्रभाव समेत पारेको छ । लुसुन र उनको साहित्य नेपालमा लोकप्रिय हुनुको प्रमुख कारण यही हो र तिनको महत्व हाम्रा लागि विशिष्ट छ । लुसुनको निजी जिवनी, उनका विचार र साहित्यबाट नेपाली साहित्यकार, संस्कृतिकर्मी र बुद्धिजीवीहरूले सिक्नुपर्ने धेरै कुरा छन् । सर्वप्रथम हामीले ख्यालराख्नुपर्ने कुरा के हो भने लुसुन चिनको सांस्कृतिक आन्दोलन वा क्रान्तिका कमान्डर हुन् । उनले सबभन्दा बढी जोड चिनको पुरानो संस्कृतिको रूपान्तरणमा दिएका छन् र उनको लेखनको, साहित्यिक लेखनको पनि चुरो कुरो यही नै हो । उनको प्रस्ट धारणा के छ भने ‘रीतिथिती र चलन नफेरुन्जेल क्रान्ति बालुवाको महल भन्दा बढी टिकिरहन सक्तैन ।’ भनाइको अर्थ के हो भने आर्थिक–राजनीतिक क्रान्ति गर्नु मात्र पर्याप्त हँुदैन, त्यसलाई टिकाउन सांस्कृतिक क्रान्ति वा परिवर्तन अपरिहार्य हुन्छ ।
चिनमा १९११ मा चिङ् राजवंशलाई अपदस्थ गरेर गणतन्त्रको स्थापना त भयो, तर त्यसले चिनको पुरानो आध्यात्मिक सभ्यतालाई ध्वस्त गर्न सकेन । परिणाम त्यो गणतन्त्र धेरै टिक्न सकेन । यसैलाई सङ्केत गर्दै उहाँले भन्नु भयो– ‘वास्तवमा चिनको पुरानो आध्यात्मिक सभ्यता ‘गणतन्त्र’ले ध्वस्त गरेको छैन । खालि मन्चुहरूले भतेर छाडेका मात्र हुन्, उहिले भन्दा केही भिन्न भएको छ भने त्यो यति मात्र हो ।’ आजको हाम्रो गणतन्त्रको अवस्था पनि वास्तवमा त्यस्तै खालको छ । न संस्कृतिकर्मी, न बुद्धिजीवी, न राजनेता कसैले पनि यसलाई गम्भीरताका साथ लिएको देखिँदैन । सांस्कृतिक रूपान्तरणको सवाल क्रान्ति टिकाउने सवालसित अभिन्न रूपले गाँसिएको छ भन्ने कुरा हामीले लुसुनबाट सिक्न सक्नु पर्दछ । संस्कृति र समाज–व्यवस्था (राज्यव्यवस्था) एकअर्कामा आश्रित हुने गर्दछन् । तिनका बीचको सम्बन्ध आधार र अधिरचनाका बीचको सम्बन्ध हो । सामन्तवादी–साम्राज्यवादी संस्कृतिको विरोध गर्न वा त्यसलाई बदल्न अर्ध सामन्ती र अर्ध औपनिवेशिक समाजव्यवस्थाको विरोध गर्नु अपरिहार्य हुन्छ । यही कारण लुसुन क्रान्तिको प्रक्रियामा आफुले लेख्न थालेकै समयदेखि गाँसिनु भएको थियो । तर उहाँले यस सन्दर्भमा हजारौं हजार वर्षअघिदेखि चलनमा रहिआएको सामन्ती संस्कृतिलाई नै सबभन्दा बढी प्रहारको निसाना बनाउनु भयो । कन्फुसी नैतिकता, मेन्सेसी चिन्तन, आध्यात्मिक चिन्तन, अन्धविश्वास, भाग्यवाद जस्ता कुरामाथिको लुसुनको निरन्तरको प्रहारले हामीलाई नेपालमा नयाँ संस्कृतिको निर्माण गर्न यहाँको पुरानो संस्कृतिमाथि निर्मम प्रहार गर्नु अपरिहार्य छ भन्ने सिकाउँछ । लुसुनले चिनियाँ जनताको भाग्यवादी प्रवृत्तिमाथि आक्रमण गर्दै भन्नु भएको छ ः चिनियाँ भाषा र रितिथितीमा दख्खल भएका धेरै विदेशीहरू के भन्छन् भने चिनियाँहरू पुर्पुरोवादी हुन् र पुर्पुरोमा लेखिएपछि केही गर्न सकिन्न भन्ने कुरोमा पत्यार गर्छन् । ..तर मेरो विचारमा पुर्पुरोमा विश्वास गर्ने चिनियाँहरूले पुर्पुरो फेरिन पनि सक्छ भन्ने कुरामा पनि विश्वास गर्नु राम्रो कुरो हो । हाललाई हामीले एउटा अन्धविश्वासको विरोधमा अर्काे अन्धविश्वासको प्रयोग गरेका छौं र आखिरमा कुरा त उहीका उही नै भयो । पछि हामीले वास्तविक विचार र व्यवहारको प्रयोग ग¥यौं भने अन्धविश्वासको साटोमा विज्ञानको प्रयोग ग¥यौं भने, चिनियाँहरूले आप्mनो पुर्पुरोवादी दृष्टिकोणलाई प्mयाँकिदिने छन् । साँच्चै त्यस्तो दिन आयो भने बौद्ध भिक्षुहरू, शावो पुरोहितहरू, झाँक्रीहरू, ज्योतिषीहरू, द्यौता साधन गर्नेहरू र अरू यस्ता सबै खालका तत्वहरूको गद्दी वैज्ञानिकहरूको हातमा पर्नेछ र वर्ष दिन भित्रैमा यस्ता सबै द्यौता स्यौताहरूबाट हामी उम्कन सक्ने हुनेछौं ।’ (पुर्पुरो, लुसुनका केही निबन्धहरू, पृ. ४६) नेपाली समाज आज पनि भाग्यवाद, पुनर्जन्मवाद, स्वर्ग, नरक जस्ता विभिन्न किसिमका अन्धविश्वास र आत्यात्मिक दृष्टिकोणबाट ग्रस्त छ ।
त्यस खालको सामन्ती व्यवस्थालाई टिकाउने संस्कृतिमाथि सांस्कृतिक परिवर्तनका पक्षपातीहरूबाट जे जति आक्रमण हुनुपर्ने थियो, जनतालाई त्यसको प्रभावबाट मुक्त गर्न प्रयास गर्नुपर्ने थियो, त्यति मात्रामा नभएको मात्र होइन, कतिपय सन्दर्भमा त तिनकै समर्थन समेत हुने गरेको छ । यस सवालमा हामीमा एक किसिमले पाखण्ड समेत हुर्कन थालेको छ । आफुलाई सांस्कृतिक क्रान्तिका पक्षधर भन्नेहरू वा आफुलाई कम्युनिस्ट हुँ भन्नेहरू समेत वैज्ञानिक, भौतिकवादी, राष्ट्रिय र जनवादी संस्कृतिलाई अवलम्बन गर्नुको साटो व्यवहारमा सामन्ती आध्यात्मिक, धार्मिक संस्कृतिकै अनुयायी हुन थालेका छौं । लुसुनको सम्झना गर्दा हामी यसबारेमा आत्मालोचक हुनु आवश्यक छ भन्ने मलाई लाग्दछ । शास्त्रीय शिक्षामा हुर्केका र कन्फुसियसका शास्त्रीय शिक्षा पढेका भए तापनि लुसुनले कहिल्यै ती शास्त्रीय शिक्षा आप्mना लागि काम लाग्ने ठान्नु भएन, उहाँले यसको निर्मम ढङ्गबाट आलोचना गर्नु भएको छ । परम्पराको उहाँले गरेको आलोचनालाई सांस्कृतिक मात्र होइन राजनीतिक कार्यभार समेत भन्न सकिन्छ । उहाँ परम्पराको बोझलाई चिनको डरलाग्दो र अत्यन्त ठुलो चुनौती ठान्नुहुन्थ्यो । त्यसैले उहाँले ऐतिहासिक रूपले विकसित र पुरानो व्यवस्थाको गुदीका रूपमा रहेको कन्फुसी विचारधारालाई आप्mनो आक्रमणको तारो बनाउनु भयो । लुसुनले समग्र कन्फुसी सामाजिक सिद्धान्तको गढमाथि नै आक्रमण गर्नु भएको छ । उहाँको कन्फुसियसवादको आलोचना सूक्ष्म, पूर्ण र निर्मम छ । चिनमा सांस्कृतिक परिवर्तनका लागि कन्फुसेली विचार अत्यन्त ठुलो बाधक थियो । पाखण्डीहरूलाई अर्थात् कन्फुसियसका अनुयायीहरूलाई उपहास गर्न लुसुन भलादमी शब्द व्यवहारमा ल्याउनु हुन्थ्यो । उहाँले यस्ता मानिसहरूको निर्दयीपन, पाखण्ड र जनविरोधी विशिष्ट वर्गीय प्रवृत्तिको समेत आलोचना गर्नु भएको छ । कन्फुसियसका अनुयायीसित कुनै पनि किसिमको मिलनबिन्दु हुन सक्तैनथ्यो र लुसुनको साहित्यमा त्यसले स्थान पनि पाएन । ‘आधुनिक चिनमा कन्फुसियस’ शीर्षकको निबन्धमा लुसुनले कन्फुसियसका अनुयायीहरू र कन्फुसियसको पुजाको तिनको गुप्त अभिप्रायमाथि आक्रमण मात्र होइन यस्ता स्वार्थी र रूढिवादी तत्वहरूको भन्डाफोर समेत गर्नु भएको छ । उहाँले तिनको राजनीतिक महत्वाकाङ्क्षाको ढोकालाई ढुङ्गामुढा बर्साएर ध्वस्त पार्नुपर्छ भनेर आह्वान गर्नु भएको छ । सतीत्वका बारेमा मेरा दृष्टिकोणहरू, पिताका रूपमा आज हामीबाट के अपेक्षा गरिन्छ ?, नोराले घर छाडेपछि के भयो ? जस्ता केही त्यस्ता मुख्य निबन्धहरू हुन् जसमा महिला, बालबालिका र राजनीतिक व्यवस्थाका बारेका कन्फुसी विचारहरूको आलोचना गरिएको छ ।
महिलाको सतीत्व, बालबालिकाको पितृभक्ति, निरङ्कुशता, पितृसत्तात्मक अधिकार र बालबालिका, युवा र महिलालाई भेदभावपूर्ण तरिकाले व्यवहार गर्नु र तिनलाई कुनै अधिकार वा स्वतन्त्रता दिन नमान्नु प्राकृतिक नियमको विरुद्ध छ भन्ने तर्क लुसुनको छ । चिनियाँ परिस्थिति र त्रासलाई लुसुनले बारम्बार नरभक्षणको बिम्बमा व्यक्त गर्नु भएको छ । चिनकै आधुनिक कथा परम्परामा पहिलो मानिने र चिनमा तहल्का मचाउने उहाँको पहिलो कथा ‘बौलाहाको डायरी’ मान्छेको मासु खाने परम्परागत क्रियाकलापमा आधारित छ, जुन भतिभ्रम जस्तो लागे पनि सत्य हो । ‘उपकार’, ‘सदाचार’ जस्ता शब्दहरू चीनका इतिहासका किताबका हरेक पातामा लेखिएको भेटिए तापनि ती पानाहरूमा नदेखिनेगरी ‘मान्छेको मासु खाउ’ भन्ने लेखिएको हुन्छ भन्ने बौलाहाको आविष्कार यस नरभक्षणको बिम्बमा निहित छ । यो कथ्य फान आइ नुङ्गको संसस्मरणमा पनि दोहोरिएको छ । शाओसिङ्गका देशभक्त सहिद फानलाई मन्चु गभर्नरले हत्या गरेको थियो । उनलाई पक्रनेहरूले उनको मुटु तानेर बाहिर झिके र अनि भुटेर खाए भनेर लुसुनले चित्रण गरेका छन् ।
लुसुनको प्रतीकात्मक संसारमा मान्छेको मासु खाने कारबाहीले मानव विडम्बनाको चरम हिंसालाई प्रतिनिधित्व गर्दछ । यस कन्फुसी परम्पराको लुसुनको निन्दा ‘बौलाहाको डायरी’मा नयाँ उचाइमा पुगेको छ । त्यसमा व्यक्त भएको छ ः ‘जहाँसम्म मेरो सम्झना छ प्राचीन कालमा मानिसहरू मान्छेको मासु खान्थे । तर यस बारेमा म धेरै आश्वस्त भने छैन । यस सम्बन्धमा इतिहासका किताबहरूमा खोज्दा पनि कुनै क्रमबद्ध जानकारी पाइएन । प्रत्येक पृष्ठमा ‘कन्फुसियसका सद्गुण र सदाचार’ शब्द भेटिन्छन् । मलाई निँद लागेको थिएन, त्यसकारण आधा रातसम्म उत्सुकताका साथ पढ्दै बसें, त्यतिखेरसम्म मैले किताबका पङ्क्तिमा शब्दहरू भेट्टाएँ । सारा किताब दुई शब्दले भरिएको थियो–‘मान्छे खाउ’ । यही कथ्यमा आधारित अरू कथा पनि छन् । ‘ओखती’ मा अलि बढी परिमार्जित रूपमा यो अभिव्यक्त भएको छ । यसको कथानक मानिसले मानिसलाई खाने मानासिकता विकसित हुने आम सामाजिक पृष्ठभूमिमा आधारित छ । छिङ्ग राजवंशको अन्ततिर क्रान्तिकारीहरूको हत्या आम प्रचलनमा थियो र तमासा मनपराउने मानिसहरू सधैं सार्वजनिक रूपमा गरिने यस्तो हत्याबाट मजा लिन हत्या गरिने गरिने ठाउँमा जम्मा हुन्थे । यसको आलोचना भन्दा पनि बढी कथाले कठोर आलोचना मान्छेको ताजा रगत खाएमा क्षयरोग निको हुन्छ भन्ने अन्धविश्वासमाथि गरेको छ । ‘नयाँ वर्षको बलिदान’ शीर्षकको कथामा पनि सामाजिक–सांस्कृतिक व्यवस्था– मानव जीवन र आत्मालाई ध्वस्त पार्ने वास्तविक खलनायक–मा परिणत भएको देखाइएको छ । लुसुनका दृष्टिमा ‘..उच्च चिनियाँ सभ्यता धनी र शक्तिशालीहरूको लागि तयार पारिएको मान्छेको मासुको भोज मात्र हो र चिन चाहिँ त्यो भोज जोरजाम गर्ने चुलो हो ।..सभ्यताको उदयदेखि मान्छेका मासुका साना ठुला अनगिन्ती भतेरहरूको जोरजाम गरिएको छ र मानिसहरू ती भतेरमा अरूलाई खान्छन् र आफु पनि खाइन्छन् ।.. आज पनि मान्छेको मासुको भतेरको जोरजाम हँुदैछ र निक्कै मानिसहरू भतेर लगाइरहन खोज्छन् ।
त्यस्ता मान्छेहरूलाई बढार्ने, भतेरहरूलाई भताभुङ्ग पार्ने र यो चुलोलाई भत्काउने काम आजका तन्नेरीहरूले सबभन्दा पहिले गर्नुपर्ने काम हो । (बत्तीमुनि टिपेका केही विचारहरू, लुसुनका केही निबन्धहरू, ११,१२) ‘आह क्युको साँचो कथा’को रुसी भाषामा गरिएको अनुवादको भूमिकामा लुसुनले दुइ व्यक्तिहरूका बीच एकअर्कालाई चिन्न नदिन र उनीहरूलाई एकअर्काबाट अलग्ग्याउन अग्लो पर्खालको अस्तित्व निर्माण भएको बोध गर्नु भएको छ । कन्फुसेली चिन्तन र चिनका कथित ऋषिमुनिहरू मानव सम्बन्धका कठोर दशवटा तहमा मानिसहरूलाई बाँड्ने काममा निकै चलाख थिए । मानव शरीरलाई समेत हातभन्दा खुट्टालाई तल्लो तहमा राखेर विभिन्न फरक श्रेणीमा विभाजित गरिएको छ ।
लुसुनको आलोचना के छ भने जीवन यापन विधिको सृजनको कमजोरी अर्काको दुखलाई अनुभव गर्ने मानवीय असक्षमता हो । यही अमानवीय पद्धतिमाथि लुसुनले निर्मम, सम्झौताहीन सङ्घर्ष गर्नु भएको हो । मानिसहरूका बीचमा विभाजन ल्याएर तिनका दुखहरूलाई असहनीय बनाउने पद्धति नेपालमा पनि यथावत् छ । त्यसको जरो कारण खोजेर त्यससित निर्मम सङ्घर्षका निम्ति लुसुनको भावना सहित अघि बढ्नु हाम्रो आजको दायित्व हो । लुसुनले ‘पानीमा खसेको कुकुरलाई’ दया गर्ने चिनियाँ संस्कृति र परम्परालाई ‘असल व्यवहार’ मान्ने संस्कृतिको कडा विरोध गर्नु भएको छ र ‘पानीमा खसेको कुकुरलाई’ कुट्नु पर्छ भन्ने मान्यताको पक्षपोषण गर्नु भएको छ । आप्mनो प्रतिद्वन्द्वीलाई हेरेर ‘असल व्यवहार’ निर्धारित गर्नुपर्छ, ऊ मान्छे हो भने सघाउनु पर्छ, खराब कुकुर हो भने कुट्नु पर्छ, मान्छेलाई टोक्ने कुकुर हो भने पानीमा होस् कि जमिनमा कुट्नै पर्छ भन्ने मान्यता उहाँले अघिसार्नु भयो । उहाँका दृष्टिमा दया मुख्र्याईंको अर्काे नाम हो ।
आफु अन्यायमा पर्नु तर बदला लिन नखोज्नु माफी दिनु हो भने जस्तालाई तस्तै व्यवहार गर्नु न्यायपूर्ण हो । पानीमा खसेका कुकुरलाई पिट्नुको साटो तिनबाट आपैंmलाई टोकाउनेहरूप्रति उहाँको ठुलो गुनासो छ । यस किसिमको धारणा र कार्यनीतिलाई परिवर्तन गर्नैपर्छ भन्ने कुरामा उहाँको जोड छ । उहाँको दृष्टिमा सुधारको विरोध गर्नेहरू त्यस्ता सुधारकहरूलाई हानि पु¥याउने किसिमका प्रयत्नहरूबाट कहिल्यै पन्छिएर बसेका छैनन् र सकेसम्म ती सुधार–विरोधीहरूले त्यस्ता सुधारकहरूलाई हानि पु¥याएकै छन् । निदाएर बस्नेहरू त सुधारकहरू नै हुन् र यसका लागि उनीहरू सधैंभरि नै दुःख भोगिरहन्छन् । त्यसैले त चिनमा कहिल्यै सुधार भएन ।’ (केही समयका लागि ‘असल व्यवहार’लाई पन्छाउनु पर्छ, लुसुनका केही निबन्धहरू, पृ. २२) यहाँ सुधार लुसुनको भाषामा अन्यत्र जस्तै क्रान्तिको समानार्थी छ । यो अहिलेको नेपालका लागि पनि सटीक टिप्पणी हुन पुगेको छ भन्ने कुरा आजका नेपालका सुधारकहरूको निदाउने प्रवृत्ति देखेका जो कोहीले पनि बुभ्mन सक्तछ ।
लुसुन परम्पराको पूर्णतः विरोधी हुनुहुन्थ्यो भन्ने चाहिँ होइन । राष्ट्रिय परम्पराका सकारात्मक पक्ष र नकारात्मक पक्षको लेखाजोखा गर्दै सकारात्मक पक्षलाई निरन्तरता दिने सवालमा लुसुनको भावना र आलोचनात्मक विवेकबाट हामीले सिक्न सक्नुपर्दछ । हामीकहाँ परम्परा सम्पूर्णलाई नकारात्मक मानेर निषेध गर्ने वा परम्पराका अधिकांश नकारात्मक पाटाहरूलाई समेत सकारात्मक भनेर जिद्दी गर्ने गलत प्रवृत्ति अद्यावधि पाइन्छ । लुसुनले परम्पराका नकारात्मक पक्षहरूमाथि कठोर आक्रमण गरे तापनि सकारात्मक पक्षहरूलाई अघि बढाउने कुरामा विशेष जोड दिनु भएको छ । लुसुनले एक ठाउँमा लेख्नु भएको छ : नयाँ वर्ग र त्यसको संस्कृति एक्कासि आकाशबाट झर्ने होइनन्, बरु ती मुख्यतः पुराना शासकहरू र तिनको संस्कृतिका विरुद्ध हुने सङ्घर्षबाट अर्थात् नयाँ र पुरानाका बीचको द्वन्द्वबाट विकसित हुने हुन् ।
यसकारण नयाँ संस्कृतिले पुरानो संस्कृतिमा रहेका मूल्यवान् सबै कुरालाई चयन गरेर, उत्तराधिकारका रूपमा लिएको छ ।’ (ब् क्जयचत ज्ष्कतयचथ इा ःयमभचल ऋजष्लभकभ ीष्तभचबतगचभ(त्ष्लन थ्ष्,ज्ञद्धघ) ‘प्राचीन संस्कृतिको रक्षा गरौं’ भनेर लामो समयदेखि चिच्याइरहेका चिनियाँ विद्वान्हरूलाई उत्तर दिँदै लुसुनले भन्नु भएको थियो–‘सुधार विना प्राचीन संस्कृतिको रक्षा त के कुरा बाँच्नुसम्म नि गाह्रो हुन्छ ।’ ‘सुधार गर्न असमर्थ जनता आप्mनो पुरानो संस्कृतिको रक्षा गर्न पनि असमर्थ रहनेछन् ।’(लुसुनका केही निबन्धहरू, पृ.११६, ११७) राष्ट्रिय विशेषताको रक्षाको नाममा पुरानो संस्कृतिको रक्षा गर्न चाहनेहरूका विरुद्ध उहाँले चर्काे वैचारिक सङ्घर्ष गर्नु परेको छ । अर्काे एउटा सन्दर्भमा उहाँले यसबारेमा भन्नु भएको छ ः मेरो एकजना साथीले बडो चित्तबुभ्mदोगरी भनेथे–‘हामी हाम्रा राष्ट्रिय विशेषताहरूलाई जोगाउन चाहन्छौं भने यी कुराले हामीलाई साँच्चै जोगाउन सक्छन् त भन्ने कुरालाई नै हामीले पहिले निश्चित पार्नुपर्छ । साँच्चै आत्म–संरक्षण पहिलो कुरो हो ।
हामीले खोज्नुपर्ने कुरो हामीलाई जोगाउने शक्ति त्यसमा छ कि छैन भन्ने हो, न कि त्यो विशेषता हो कि हैन भन्ने ।’ (उही, पृ. १०२) आफुलाई जोगाउन सक्ने शक्ति नभएका कुरालाई विशेषता मानेर संरक्षण गर्न चाहने व्यक्तिहरू चिनमा जस्तै हामीकहाँ, हाम्रो आन्दोलनमा पनि प्रशस्त छन् । लुसुनले यस सन्दर्भमा र अन्य सन्दर्भमा समेत देखाएको निर्भीक जुधारुपन सहित यस प्रवृत्ति विरुद्ध जुध्ने सङ्कल्प हामीले लिनै पर्दछ । सामन्ती संस्कृति, आध्यात्मिक चिन्तन र भाग्यवादसितको लुसुनको लडाईं वास्तविकतामा मानवतावादका लागि गरिएको सङ्घर्ष थियो । यस अर्थमा लुसुन एकजना महान् मानवतावादी संस्कृतिकर्मी हुनुहुन्थ्यो । मानिसको गौरव, प्रतिष्ठा र महत्ताको स्थापना, सुन्दर मानव समाजको निर्माण, प्रगतिको कामना र सबभन्दा बढी मुक्तिको आकाङ्क्षा लुसुनका रचनाका मुख्य कथ्य हुन् । लुसुनका थुप्रै कथा र निबन्धहरू मानिसको महत्ता र प्रतिष्ठाका लागि समर्पित छन् । उहाँका अधिकांश रचनाले मानवको अग्रगतिको पक्षपोषण गर्दछन् र मानव मुक्तिको आह्वान गर्दछन् । लुसुनका दृष्टिमा चिनियाँ जनता कहिल्यै आफुलाई मानिस सरह गनिन लगाउन सफल भएका छैनन्, खालि कमाराहरू सरह गनिनुमा मात्र सफल भएका छन् ।
चिनको इतिहासमा कमारा हुन खोजेका अवधि र केही समयका लागि कमारा हुन सकेका अवधि मात्र छन् । त्यसैले उहाँ चिनको इतिहासमै थाहा नभएको र तेस्रो खालको अवधिको सिर्जना गर्नु तन्नेरी जनताको कर्तव्य हो भनेर यसका लागि सङ्घर्ष गर्न युवाहरूलाई उत्प्रेरित गर्नुहुन्छ । लुसुनको मानव जीवनको प्रगतिमा अगाध विश्वास छ । जीवन मार्ग प्रगतिगामी हुन्छ, जस्तोसुकै अन्धकारले विचारको प्रवाहलाई छेके पनि, जस्तोसुकै दुर्भाग्यहरू समाजमाथि आइलागे पनि, जस्तोसुकै अपराधले नैतिकताको सीमा नाघे पनि तिनले केही नाप्न सक्ने छैनन्, सम्पूर्णताका लागिको मानवजातिका आकाङ्क्षाहरू यी फलामे झीरहरूमाथि टेक्दै अघि लम्की छाड्नेछन् । यही अदम्य विश्वासका साथ उहाँ नेपोलियन, हिटलर र चंगेज खाँ जस्ता मानवजातिलाई मार्नुमा खुसी मनाउने ज्यानमाराहरूको विरोध र जेनर जस्ता मानव हितका निम्ति कार्य गर्ने मानवहरूको प्रशंसागीत गाउनुहुन्छ । समाजको मुक्तिमा नै मानव व्यक्तिको मुक्ति निहित छ भन्ने दृष्टिकोण लुसुनको छ । लुसुनले पटक पटक विगत चार हजार वर्षको ऋण चुक्ता गर्न आप्mनो समस्त जीवन अर्पण गर्न आह्वान गर्नु भएको छ । आप्mना केटाकेटीहरूलाई पूर्ण रूपबाट मुक्त गरेर पुराना रिनहरू चुक्ता गर्न सकिन्छ भन्ने उहाँको मान्यता छ । उहाँ के पनि भन्नुहुन्छ भने ‘केटाकेटी हाम्रा अङ्ग भए तापनि हामीभन्दा अलग्गै मानवताका हिस्सा हुन् । हाम्रा अङ्ग भएको हुनाले हामीले उनीहरूलाई शिक्षा दिएर आप्mना खुट्टामा उभिने बनाउन आप्mनो कर्तव्य पुरा गर्नुपर्छ । हामी भन्दा फरक भएको हुनाले तिनको मुक्ति हाम्रो कर्तव्य हुनुपर्दछ, जसले गर्दा उनीहरू स्वतन्त्र र आत्मनिर्भर हुन सकुन् । त्यसैले केटाकेटीप्रतिको आमाबाबुको कर्तव्य उनीहरूलाई राम्रो स्वास्थ्य दिनु, सर्वाेच्च शिक्षा दिनु र उनीहरूलाई मुक्त बनाउनु हो ।’ (पिताका रूपमा हामीबाट आज के अपेक्षा गरिन्छ ?, कला, साहित्य और संस्कृति–लुसुन, अनु–कर्णसिंह चौहान, पृ.३२) यही लेखको अर्काे ठाउँमा लुसुनले भन्नु भएको छ ः जुन आमाबाबुले आप्mना बालबालिकाको मुक्ति चाहन्छन् तिनले केही तयारी गर्नुपर्ने हुन्छ । तर वास्तविक कुरो समाजलाई बदल्नु हो, जसले गर्दा हामीले तर्कशील प्राणीहरू जसरी बाँच्न सकौं ।’ महिला मुक्तिका सन्दर्भमा कुरा गर्दा लुसुनले यस बारेमा अझ ठोस धारणा व्यक्त गर्नु भएको छ र यो धारणा आम उत्पीडित समुदायका लागि पनि उत्तिकै रूपमा लागु हुने देखिन्छ । उहाँ भन्नुहुन्छ ः ‘..लोग्नेमान्छेहरू सरह स्वास्नीमान्छेहरूले पनि आर्थिक अधिकार नपाउन्जेल मलाई त तिनका विषयमा सुनाइने मीठा विशेषणहरू सबै खोक्रा हुन् भन्ने लाग्छ । वास्तवमा लोग्नेमान्छे र स्वास्नीमान्छे जातका बीच शारीरिक तथा मनोवैज्ञानिक भिन्नताहरू हुन्छन् जसरी एकै जातका सदस्यहरूका बीच पनि भिन्नता हुन्छन् । तर समाजमा उनीहरूको स्थान समान हुनुपर्छ ।
उनीहरूको स्थान समान भएपछि मात्र हामीहरूले सच्चा स्वास्नीमान्छेहरू र सच्चा लोग्नेमान्छेहरू पाउनेछौं र उजुर र धुर्कीको अन्त गर्न सक्नेछौं । ..मैले भन्न खोजेको मुख्य कुरा के हो भने हामीहरूले हालको अवस्थासित सन्तुष्ट भएर बस्न हुँदैन, बरु विचारधारा र आर्थिक अवस्था–यी दुवै कुरामा मुक्ति पाउनका लागि सङ्घर्ष चलाउनु पर्छ । एकचोटि समाज मुक्त भएपछि व्यक्तिहरू पनि आफसेआफ मुक्त हुनेछन् । वास्तवमा आज स्वास्नीमान्छेहरूलाई कसिरहने साङ्लाहरूको विरोधमा मात्र भए पनि सङ्घर्ष गर्नु आवश्यक भएको छ ।’ (स्वास्नीमान्छेहरूको मुक्तिका विषयमा, उही, ४०) नोराले घर छाडेपछि के भयो ? शीर्षकको अर्काे लेखमा लुसुनले भन्नु भएको छ ः‘पहिलो कुरो, परिवारमा पुरुषहरू र महिलाहरूका बीच समान विभाजन हुनैपर्छ, दोस्रो कुरो, समाजमा पुरुषहरू र महिलाहरूको समान अधिकार हुनैपर्छ ।
..ती कुराहरूका लागि राजनैतिक अधिकार पाउनका लागि जति जुध्छौं त्यो भन्दा पनि अझ चर्काेगरी जुध्नुपर्छ ।..राजनैतिक अधिकारहरूको माग गर्न गएको खण्डमा बढी विरोधको सामना गर्नुपर्नेछैन, तर सम्पत्तिको समान वितरण बारे कुरा झिक्नु भयो भने सम्भवतः तपाईंका अघिल्तिर शत्रुहरू उभिन आउने छन् र यसले साँच्चै नै चर्काे सङ्घर्षतिर पु¥याउने छ । ..यसरी कोलाहलपूर्ण वलिदानको कुनै खाँचो, रहँदैन, बरु दृढतापूर्ण र जिरहपूर्ण सङ्घर्ष चलाउनु नै राम्रो हुन्छ ।’ (‘वेदना’, ३४–३६) सङ्गठित विद्रोहबाट समानता प्राप्त हुन्छ भन्ने लुसुनको दृष्टिकोण छ । उहाँको दृष्टिमा मानिसहरू आपैंm सङ्ठित हुन र विद्रोह गर्न सक्छन् । उनीहरू कमारा वा मालिक हुन सक्छन् । उनीहरूले प्रयत्न गर्न इन्कार गर्छन् भने सधैंभरिका लागि भरिया भइरहनेछन्, तर उनीहरूले आफुलाई फुक्का पार्छन् भने समानता भेट्टाउन सक्छन् ।’ (उँधोमुन्टो गरी लग्नु, लुसुनका केही निबन्धहरू, ८६) लुसुनको सङ्घर्ष प्रत्येक चिनियाँ व्यक्तिको सुन्दर जीवन, स्वतन्त्रता, प्रतिष्ठा र गौरवका निम्ति थियो । उहाँ चिनमा विद्यमान अन्यायका सबै रूपहरूका विरुद्ध क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो ।
परिस्थितिको विसङ्गति बुझेपछि जनता त्यसलाई राम्रोमा परिवर्तित गर्नका लागि प्रेरित भएर उठ्नेछन् भन्ने विश्वास सहित विसङ्गत जीवनप्रति व्यङ्ग्य गर्ने र आशावादी कथाहरू लेख्ने काम उहाँले गर्नु भएको थियो । मानवतावादी भएकै कारणले जनताको जीवन जोगाउनका लागि आप्mनो जीवनलाई खतरामा पार्ने काम उनले बारम्बार गरेका छन् । मध्ययुगीन चिन्तनबाट ग्रस्त चिनको आधुनिकीकरण, साम्राज्यवादबाट मुक्ति, उत्पीडक र अन्धविश्वासी परम्पराको विरोध, सामाजिक र आर्थिक न्यायको पक्षपोषण, गरिब र किसानहरूको दुर्दशाको चित्रण, युद्ध, हिंसा र अरूको शोषणबाट सृजित समस्याबाट मुक्ति उहाँको लेखनको मुख्य चासो रहेको छ । मानव जीवनलाई समुन्नत पार्न आफुले कथा लेखेको भन्ने प्रस्ट पार्ने क्रममा लुसुनले भन्नु भएको छ ः ‘..मलाई के लाग्छ भने मैले मेरा जनतालाई सचेत पार्न लेख्नुपर्छ, मानव जीवनबारे लेख्नु पर्छ, त्यस जीवनलाई अझ राम्रो पार्न लेख्नु पर्छ..मैले मेरा कथाका पात्रहरू हाम्रो विसङ्गतिपूर्ण समाजका अभागीहरूलाई लिएको छु, किनभने म समाजका ती खास खास दुर्गुणहरूलाई उदांगो पार्न चाहन्थें, म ती दुर्गुणप्रति सजग पार्न चाहन्थें र तिनलाई निर्मूल पार्न चाहन्थें ।’ समाजका खराबीहरू निर्मूल पारेर समुन्नत, शोषणरहित समाजको निर्माणका लागि साहित्य सृजनाका लागि लुसुन हाम्रा गुरु समान हुनु हुन्छ । समाज सुधार्न चाहनेहरूले आपैंm पहिले सुधारिनु पर्छ भन्ने कुरामा पनि निकै जोड छ लुसुनको ।
अरू परिवर्तित हुन्, आफु जस्ताको तस्तै रहौं भन्ने अवसरवादी प्रवृत्ति हामी कतिपयमा अहिले पनि पाइन्छ । लुसुन ‘तपाईंले समाज र संसारलाई सुधार्नुअघि आफुलाई नै सुधार्नुपर्छ’ भन्नुहुन्छ । लुसुन आपैंm पनि निरन्तर वैचारिक र सांस्कृतिक रूपान्तरणको प्रक्रियामा अघि बढ्नु भएको हो । नानकिङमा बस्दाको प्रारम्भिक समयमा उहाँ सानोतिनो मात्रामा १८९८ को सुधार आन्दोलनको संवैधानिक राजतन्त्रको सोचबाट एकदमै कम प्रभावित हुनुहुन्थ्यो, किनभने संवैधानिक राजतन्त्र चिनियाँ समाजको आवश्यकताभन्दा पछि छ भन्ने निष्कर्षमा उहाँ पुग्नु भएको थियो । हक्सलेको एभोल्युसन एन्ड एथिक्स नामक कृतिको अनुवाद पढेपछि डार्विनको विकासवादले उहाँलाई असाध्यै बढी प्रभाव पा¥यो । यसको प्रभाव उहाँको मानसिक विकासमा धेरैपछिसम्म रहिरह्यो । नानकिङमा अध्ययन गर्दाकै बेलामा उहाँमा साम्राज्यवादविरोधी र मन्चुविरोधी देशभक्तिको भावना विकसित भयो । डाक्टरीको पढाइ छाडेर साहित्यमा लाग्ने उहाँको प्रयास देशभक्तिको गहन अभिव्यक्तिको परिणाम थियो । उहाँले चिनियाँ जनताको आत्माको ओखती गर्न चाहनु भएको थियो र यसका लागि सृजनात्मक लेखनलाई सर्वोत्तम साधन मान्नु भएको थियो । देशभक्तिको यो क्रान्तिकारी आवेग उहाँका आख्यानमा मात्र होइन पछिका निबन्ध सहित समग्र लेखनमा पाइन्छ ।
तर १९१८–१९२७ सम्म लुसुन क्रान्तिकारी जनवादी नै हुनुहुन्थ्यो । १९२८ मा पुगेर मात्र उहाँका विचारले पूर्णता पाए । विकासवादीबाट माक्र्सवादीमा, क्रान्तिकारी निम्नपँुजिपतिबाट सर्वहारा समाजवादीमा, क्रान्तिकारी जनवादीबाट कम्युनिस्टमा र आलोचनात्मक यथार्थवादीबाट समाजवादी यथार्थवादीमा उहाँ रूपान्तरित हुनुभयो । सांस्कृतिक पक्षमा उहाँ सधैंजसो विज्ञान र भौतिकवादको पक्षमा निरन्तर उभिनु भयो र आप्mना वर्गका कमी कमजोरीमाथि प्रहार गरिरहनु भयो । जुनसुकै चरणमा होस् लुसुनले भन्ने एउटा र व्यवहारमा लागु गर्ने अर्काे चाहिँ कहिल्यै गर्नु भएन । शब्द र कर्मका बीचको अद्भुत एकता लुसुनको विशेषता हो । भनाइ र गराइका बीच हामीमा धेरै अन्तराल भएको स्थितिमा यसबाट शिक्षा लिएर आफुलाई सच्याउने काम गर्नै पर्दछ । लुसुनबाट सिक्नुपर्ने अर्काे गुण आत्म आलोचनाको पद्धति पनि हो ।
चिनियाँहरू आवश्यक मात्रामा आत्मा आलोचक छैनन् भन्ने गुनासो उहाँको थियो । आप्mना बारेमा कुरा गर्दा उहाँले भन्नु भएको छ ः ‘ म निरन्तर अरू मानिसहरूको विश्लेषण र चिरफार गर्दछु, तर म आप्mनै चरित्रको भने अभैm कठोरता र निरन्तरतासाथ चिरफार गर्दछु ।’ वास्तवमा आप्mना कामकारबाही र चरित्रका बारेमा निरन्तर र कठोरताका साथ लेखाजोखा गर्न सकेको खण्डमा मात्र आफुलाई परिमार्जन गर्न, आप्mना कमी कमजोरीहरू हटाउन सहज हुन्छ । हामीले यस अघि के पनि व्याख्या गरिसकेका छौं भने लुसुन जनताका कमीकमजोरी र दुर्गुणहरूको जमेर आलोचना गर्ने गर्नुहुन्थ्यो, उहाँका अधिकांश कथाहरू र निबन्धहरूले यो काम जनताका कमीकमजोरी र दुर्गुण हटाउने प्रबल आकाङ्क्षाका साथ गरेका थिए । विनम्रता लुसुनबाट सिक्नुपर्ने अर्काे ठुलो गुण हो । उहाँजस्तो प्रकाण्ड विद्वान्, उत्कृष्ट साहित्यकार आफुलाई केही नजान्ने व्यक्ति जस्तो र साहित्यको सिकारु हो कि भने जसरी आफुलाई प्रस्तुत गर्ने गर्नुहुन्छ । एकाध रचना लेखेकै आधारमा आफुलाई ठुलो साहित्यकार ठान्ने र म जति जान्ने कोही पनि छैन जस्तो गर्ने हाम्रा साहित्यकारसित यसलाई दाँज्नु उपयुक्त होला जस्तो मलाई लाग्दछ । चिनको आधुनिक साहित्यको जन्मदाताका रूपमा प्रसिद्धि कमाइसक्नु भएका लुसुन १९२७ अप्रेल ८ मा ह्वाम्पाओ सैनिक एकेडेमीमा भाषण दिने क्रममा के भन्नुहुन्छ भने ‘साँच्चै भनौं भने म लेखक होइन र ममा कुनै खास ज्ञान छैन ।’ (साहित्यमा लुसुनका विचारहरू, पृ. ४३) । ‘चिनको नौलो साहित्यमा पथप्रदर्शकको काम गर्ने’ भनेर मानिएको आप्mनो पहिलो कथासङ्ग्रह ‘हतियारहरूका लागि आह्वान’को भूमिकामा उहाँ लेख्नुहुन्छ–‘..के प्रस्ट छ भने मेरा कथाहरू कलाको कसौटीमा खरा छैनन् । म त आफुलाई केमा मात्र भाग्यशाली मान्दछु भने यिनलाई अभैm पनि कथा मानिन्छ र यिनलाई सङ्कलनमा छाप्न योग्य मानियो । यस सौभाग्यबाट मलाई हैरानी भएको छ तापनि मलाई अहिले पनि संसारमा यिनलाई पढ्ने मानिसहरू छन् भन्ने सोचेर खुसी पनि हुन्छ ।’ (कला, साहित्य और संस्कृति, पृ. २४) यो उहाँको विनम्रताको नमुना बाहेक अरू केही पनि होइन । उहाँको धारणा नै छ ः ‘विनम्र हुनु खराब कुरो होइन । सबैको अघिल्तिर घँुडा टेक्नु पनि राम्रो कुरा होइन यो त अति नै नालायकीपन हुनेछ । (लुसुनका अरू केही निबन्धहरू, पृ. ५०) लुसुनको यो बानी र शिक्षाबाट हामीले अवश्य आफुलाई प्रशिक्षित गर्न जरुरी छ । नेपाल निम्नपुँजिपति वर्गको बाहुल्य भएको देश हो । नेपालका सबैजसो धाराका सबै साहित्यकारहरूको उद्गम स्रोत पनि यही निम्नपँुजिपति वर्ग नै हो । तर लुसुन भने क्रान्तिकारी साहित्यका लागि निम्न पँुजिपति वर्गका साहित्यकारहरूलाई हानिकारक तत्वका रूपमा लिने गर्नुहुन्छ । उहाँले आप्mनो लेखनको प्रारम्भतिर मात्र होइन पछि पनि पटक पटक निम्नपँुजिपति वर्गका साहित्यकारहरूको अस्थिरता र निम्नपुँजिपति वर्गका विचारहरूबाट क्रान्तिकारी साहित्यमा आइपर्ने खतराप्रति सजग गराउनु भएको छ । वास्तविक जीवनको गहिराइसम्म पुग्न र वास्तविक सङ्घर्षमा भाग लिएर मात्र यस्ता कमी कमजोरीबाट निम्नपँुजिपति वर्गबाट आएका साहित्यकारहरू मुक्त हुन सक्तछन् भन्ने उहाँको राय छ । क्रान्तिकारी लेखकहरूले कम्तीमा पनि क्रान्तिमा भाग लिन वा त्यसको नाडी राम्ररी छाम्न सक्नुपर्छ भन्ने दृष्टिकोण राख्नुका साथै उहाँले वामपन्थी मोर्चाले अघिसारेको नारा ‘लेखकहरूलाई सर्वहारा तुल्याऊ’को समर्थन गर्नु भएको छ । उहाँको चाहना के थियो भने निम्नपँुजिपति वर्गबाट आएका लेखकहरू बढीभन्दा बढी आप्mनै वर्ग विरुद्धको विद्रोह देखाउने खालका लेखहरू वा आप्mनै समाजलाई उदांग बनाउने रचनाहरू लेखून् । उहाँको भनाइ छ ः ‘मर्न लागिरहेको यस वर्गमा हुर्केको लेखकलाई यस वर्गको राम्रो ज्ञान र यस वर्गप्रति घृणा हुन्छ, त्यसकारण उसले यसका विरुद्ध शक्तिशाली ज्यानमारा प्रहार गर्न सक्छ ।’ लुसुनको आप्mनै अनुभवको यो निचोड पनि हो । उहाँले एक ठाउँमा भन्नुभएको छ ः‘म आफु सदस्य भएको त्यस वर्गलाई घृणा गरेर मैले लेख्न थालें जुन वर्गलाई मैले राम्ररी चिनेको थिएँ । त्यस वर्गको विनाश हुन थालेकोमा मलाई रत्तिभर पनि पिर लागेको थिएन ।
पछि गएर तथ्यहरूले मलाई के सिकाए भने जागृत हँुदै आएको सर्वहारा वर्ग नै भोलिको मालिक हुनेछ ।’ लुसुनको यो भावना लुसुनको साहित्यको सार पनि हो । यस लुसुनेली भावनालाई आत्मसात् गरेर मात्र हामीले उहाँको लक्ष्यलाई हासिल गर्न सक्तछौं । आप्mना सही विचारहरू प्रवाहित गर्दा देखा पर्ने विषम अवस्था र आलोचनाको निडरताका साथ सामना गर्ने उहाँको प्रवृत्ति उदाहरणीय थियो । लुसुनले जीवित रहुन्जेल साहित्यिक क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरू र रूढिवादी राजनीतिक शक्तिहरूको उग्र आक्रमणको निसाना बन्नु प¥यो । कथित प्रगतिशील र क्रान्तिकारीहरूले समेत उहाँका विचारलाई बुभ्mन सकेनन् । वास्तविक जीवन सङ्घर्षमा आधारहीन आरोप, गाली र अस्वस्थकर एवम् पूर्वाग्रहपूर्ण आलोचनाको प्रतिरोध उहाँले गरिरहनु प¥यो । यस क्रममा उहाँमा विकसित दीर्घकालीन जुधारु दृढता, सहनशीलता र दृढ विश्वास जस्ता गुणले उहाँको विचारधारात्मक अडानलाई अझ प्रस्ट र बलियो पार्न सहयोग पु¥याए । कथित परम्पराको भवन अदृश्य बबन्डरबाट ध्वस्त भएजस्तो ठानेर बौलाएका आलोचकहरूले बषौं वर्षदेखि आफुमाथि प्रहार गरेका हतियारहरू उनीहरूमाथि नै फर्काउँदा समेत लुसुन अविचल, दृढ निश्चयी र शान्त रहनु हुन्थ्यो । विरोधीहरूका हरेक किसिमका गाली, लाञ्छना, व्यङ्ग्य, आरोपहरूको सामना गर्दा उहाँ पटक्कै अस्थिर हुनु हुन्नथ्यो ।
विरोधीहरूको आक्रमणलाई सहने, अविचल, दृढ निश्चयी र शान्त भएर तिनको प्रहारको अझ सशक्त रूपले प्रतिवाद गर्ने क्षमता लुसुनबाट सिक्न लायक गुण हो । नेपाल जस्ता पछौटे मुलुकको परम्पराले प्रस्ट र खुल्ला अभिव्यक्तिलाई त्यति रुचाएको देखिँदैन । अनुकूल राजनीतिक परिवेशमा समेत यस खालको सामाजिक आलोचनालाई लेखकहरू कठिन कार्यका रूपमा लिने गर्दछन् । यस सन्दर्भमा लुसुनलाई अनुकरणीय उदाहरण मान्न सकिन्छ । उहाँका आलोचनात्मक यथार्थवादी अवधिमा लेखिएका निबन्धहरू र त्यसभन्दा पनि बढी समाजवादी यथार्थवादी अवधिमा लेखिएका निबन्धहरू निर्मम सामाजिक आलोचनाका मूर्त नमुना मानिन्छन् । आधुनिक शैलीका कथामा पथप्रदर्शकका रूपमा मात्र, विवादपरक एवम् व्यक्तिपरक निबन्धका उर्वर उत्पादकर्ताका रूपमा मात्र होइन सामाजिक समस्यासित सम्बद्ध विषयमा निर्भीक तरिकाले आलोचना गर्ने प्रखर आलोचकका रूपमा बढी उहाँ पछिल्लो समयमा प्रख्यात हुनु भएको हो । छोटोमा धेरै कुरा भन्ने, जेलाई लक्ष्यित गरेर लेखेको हो त्यसमाथि सटीक र निर्भीकताका साथ प्रहार गर्ने, समालोचकहरूले ‘भाला’ र ‘चुप्पी’ भनेर नाम दिएका निबन्धको उहाँको शैली हाम्रा लागि पनि निकै उपयोगी हुन सक्तछ । पुरानो पुस्ताका साहित्यकारहरूका लागि लुसुनको उत्तराधिकारी निर्माण गर्ने व्यवहार पनि अनुकरणीय छ ।
उदीयमान युवा पुस्ताहरूसित निकट सम्बन्धमा रहेर, व्यावहारिक जीवनमा सरसल्लाहा दिएर, उनीहरूका पाण्डुलिपिहरू अध्ययन गरेर, सच्याएर, सुझाव दिएर उनीहरूलाई प्रशिक्षित गर्ने, तालिम दिने उहाँको असाध्यै राम्रो बानी थियो । यस विषयलाई १९३० को मार्च २ मा सम्पन्न भएको वामपन्थी लेखकहरूको मोर्चाको उद्घाटन मन्तव्यको तेस्रो बुँदामा उहाँले महत्वका साथ उठाउनु भएको छ । उहाँका दृष्टिमा त्यतिखेर मोर्चा साधनहीन भएको कारण नयाँ जोधाहा सेनालाई हुर्काउनु पर्छ । आप्mनो अनुभव सुनाउँदै उहाँले भन्नु भएको छ ः ‘जोधाहाको नयाँ पुस्तालाई तालिम दिन आवश्यक छ भनी मैले ठानें र मेरो समयमा मैले तिनीहरूमध्ये कुनैबाट धेरै नभए तापनि धेरै साहित्यिक दलहरू खोलें र भविष्यमा हामीले यसैमा ध्यान दिनुपर्छ ।’ (साहित्यमा लुसुनका विचारहरू, पृ.१३) १९२४ मा गठित ट्याट्लर सोसाइटी र १९२५ मा गठित वाइल्डर सोसाइटी लुसुनकै निर्देशनमा बनेका साहित्यिक संस्थाहरू हुन् । यस विषयलाई हामीले उपेक्षा जस्तै गर्ने गरेका छौं ।
लुसुन साहित्यका पाठकहरूलाई विदेशी साहित्य पढ्न अभिप्रेरित मात्र गर्नु हुन्नथ्यो, आपैंm अनुवाद गरेर उनीहरूलाई सघाउने पनि गर्नुहुन्थ्यो । त्यतिखेर चिनमा ‘मौलिक रचनाको पुजा’ गर्ने र अनुवादलाई उपेक्षा गर्ने अन्धराष्ट्रवादी प्रवृत्ति थियो र त्यसको उहाँले डटेर विरोध गर्नु भएको छ । यस प्रवृत्तिले विचारधाराको क्षेत्रमा अरू राष्ट्रलाई होच्याउने मपाईंवादलाई व्यक्त गर्दछ र चिनलाई अन्तर्राष्ट्रिय जनमतबाट अलग्ग्याउँछ (साहित्यमा लुसुनका विचारहरू, पृ. १७) भन्ने उहाँको दृष्टिकोण थियो । अनुवादका सम्बन्धमा उहाँको धारणा निम्न खालको छ ः ‘त्यसैले म के भन्छु भने हामीहरू बुभ्mने क्षमता बढाउन चाहन्छौं भने धेरै विदेशी किताबहरू पढ्नै पर्छ । अनि मात्र हामीले हाम्रा वरिपरिका घेरा तोड्न सक्छौं । यसो गर्नु तपाईंका लागि धेरै गाह्रो छैन । नयाँ साहित्यमा अङ्ग्रेजीमा पनि धेरै अनुवाद छैनन्, तिनको अनुवाद पनि धेरै भएको छैन ।
तर जति भएको छ ती किताब विश्वसनीय छन् । विदेशी सिद्धान्त र रचनात्मक साहित्यका धेरै कृतिहरू पढिसकेर हाम्रो नौलो चिनियाँ साहित्य पढेपछि तपाईं अझ प्रस्ट हुनेछ । अझ राम्रो त तपाईंले यस्ता कुरा चिनमा प्रस्तुत गर्न सक्नु हुन्छ । बेकारका लेख लेख्नु भन्दा अनुवाद गर्नु कठिन हुन्छ । यसले हाम्रो नौलो साहित्यको विकासका लागि ठूलो देन दिनेछ र हाम्रा जनताका निम्ति उपयोगी हुनेछ ।’ (कला, साहित्य और संस्कृति–लुसुन, पृ. ५७) स्तरीय साहित्य पढ्न विदेशी साहित्य पढ्नै पर्छ भन्ने उहाँको आग्रह थियो । उहाँ आपैंmले पनि उपर्युक्त कुरालाई दृष्टिगत गरेर विदेशी साहित्यको अनुवादमा निकै समय खर्चिनु भएको छ । प्लेखानोभको ‘साहित्य–सिद्धान्त’, लुनाचास्र्कीको ‘कला, साहित्य र आलोचना सिद्धान्त’, फदेयेभ र याकोभ्लेभका उपन्यास ‘उन्नाइस’ र ‘अक्टोबर’, गोर्कीको ‘दन्त्यकथाहरू’, गोगोलको ‘मृत आत्माहरू’, फर्मानोभ र अरूले लेखेका दुइवटा कथासङ्ग्रह उहाँले गरेका महत्वपूर्ण अनुवाद हुन् । यस बाहेक सेराफिमोभिचको ‘आइरन प्mलड’, सोलोखोभको ‘क्वाइट प्mलोज दि दोन’, इभानोभको ‘फार्वर्ड ट्रेन’ पनि उहाँले अनुवाद गर्नु भएको छ । त्यतिमात्र होइन फ्रान्सेली, जर्मनेली, जापानी, बुल्गेरियाली, रूमानियाली, चेकोस्लोभाकियाली, हङ्गेरियाली, फिन्ल्यान्डेली, डच र स्पेनिस भाषाका परम्परागत र आधुनिक उपन्यास, लघुउपन्यास, परिकथा, नाटक लगायत साहित्य सिद्धान्त सम्बन्धी थप छवटा किताबहरू अनुवाद गर्नु भएको छ ।
मौलिक रचनाका तुलनामा अनुवादलाई उपेक्षा गर्ने प्रवृत्ति हामीकहाँ पनि पाइन्छ । स्तरहीन रचनाको सृजना भन्दा स्तरीय विश्व साहित्यका कृतिहरूको अनुवाद गर्नु कता हो कता राम्रो कुरो हो । विदेशी भाषामा पहुँच नहुने पाठकका लागि र नेपाली साहित्यको भण्डारलाई समुन्नत बनाउनका लागि अनुवाद नभइ नहुने कुरा हो । यसप्रति रहेको नकारात्मक सोच हटाउन लुसुनको कार्यले थोरै भए पनि सहयोग पु¥याउन सक्तछ ।
\क्रमश: भाग दुई