संस्थापक नेपाल कम्युनिष्ट पार्टी साम्यवाद धेरैले सुनेको र जानेको शब्द हो । तैपनि यसका जन्मदाता को को हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
यसका प्रथम जन्मदाता कार्ल माक्र्सको नाउँ त धेरैले सुनेका छन् तर दोश्रो फ्रेडरिक एंगेल्सको बारेमा थोरै मानिसलाई मात्र ज्ञान छ भन्नुमा अत्युक्ति नहोला । तसर्थ साम्यवादको कसरी जन्म भयो भन्ने कुरा राम्ररी बुझ्ने र थाहा पाउँने हो भने यी दुबै जन्मदाताको योगदान बारेमा ज्ञान प्राप्त गर्नु नितान्त आवश्यक छ । यी दुबैजनाको जीवनी एउटै धागोमा उनिएको माला जस्तो लाग्छ । सर्वहारा वर्गको मुक्ति र मानव जातिको उज्जल भविश्यको महान उदेश्यकालागि संघर्ष गर्नु नै एंगेल्सको जीवनको उदेश्य थियो । त्यसैले यो उहाँको निम्ति औधि नै आनन्द र पे्ररणाको श्रोत पनि थियो । एंगेल्सले आफ्नो जीवनको अभिन्न साथी कार्ल माक्र्ससित मिलेर सबभन्दा प्रगतिशील, पूर्णरुपले सुसंगठित क्रान्तिकारी वर्ग– सर्वहारा वर्ग जस्ले आफूलाई मुक्त गर्नुकोसाथै सम्पूर्ण मानव जातिलाई हर किसिमको उत्पीडन र थिचोमिचोबाट मुक्ति दिलाउँने छ–को विश्वव्यापी ऐतिहासिक भूमिकालाई बैज्ञानिक क्रियाकलापद्धारा प्रमाणित गर्नुभयो ।
एंगेल्सले भन्नु भएको थियो पुँजिवादलाई चितामा पुर्याउँने र नौलो समाजको निर्माण गर्ने सर्वहारावर्गले आफ्नो ऐतिहासिक प्रणलाई तबसम्म सफल पार्न सक्नेछैन जबसम्म उस्ले आफ्नो वर्गको पार्टी –कम्युनिष्ट पार्टी गठन गर्दैन । एंगेल्सको शिक्षा मजदुरहरुको विचारधारा हो । अर्को शब्दमा भन्ने हो भने त्यो शिक्षा विश्वलाई नै कायापलट गर्ने विज्ञान हो । साम्यवाद अचेल कुनै नौलो विषय होइन । शहरका मानिसहरुको के कुरा “रातो झण्डाको जय” को गौरबमय नारा लगाउँने गाउँदेखी भित्री मधेश, तराई र पहाड आदि क्षेत्रहरुमा बसोबास गर्ने गरीब किसान, खेताला, निम्न मध्यम वर्ग एबम् अन्य सबै थिचोमिचोमा परेका बर्ग र समूहहरु पनि साम्यवाद या कम्युनिष्टसित परिचित भैसकेका छन् । यहाँनेर लेनिनले फ्रेडरिक एंगेल्सप्रति ब्यक्त गरेका केही उद्गारहरु उल्लेख गर्नु प्रासंगिक होला लेनिन भन्नुहुन्छ– “कार्ल माक्र्सपछि विश्वका आधुनिक सर्वहारावर्गको श्रेष्ठ शिक्षक र श्रेष्ठ विद्धान हुनुहुन्थ्यो फ्रेडरिक एंगेल्स । कार्ल माक्र्स र एंगेल्स दुबैले अभिन्न एउटा आदर्शका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभयो । फ्रेडरिक एंगेल्ले सर्वहारा वर्गको निम्ति के कति गर्नु भएको थियो भन्ने कुरा थाहा पाउँन समकालीन मजदुर आन्दोलनको विकासको निम्ति माक्र्सको कार्य र अनि उहाँको शिक्षाको तात्पर्यबारे स्पष्ट धारणा राख्नु आवश्यक छ ।” माक्र्स र एंगेल्सले नै सर्बप्रथम के देख्नु भएको थियो भने मजदुरवर्ग र तिनीहरुका मागहरु बर्तमान अर्थनैतिक व्यवस्थाको एउटा स्वभाविक परिणाम हो । यही व्यवस्था पुँजिपति वर्गसित मिलेर स्वभाविक रुपले सर्वहारावर्गलाई सृष्टि गर्छ सुसंगठित गर्छ । उहाँहरुले के देख्नुभयो भने अहिले मानव समाज जे जति अन्याय र थिचोमिचोमा परेका छन् त्यसबाट मुक्त हुने उपाय संगठित सर्बहारा वर्गको वर्ग संघर्ष नै हो, अर्को उपाय छैन । आ– आफ्ना बैज्ञानिक रचनावलिहरुमा माक्र्स र एंगेल्सले सर्वप्रथम ब्याख्या गर्नुभएको थियो ।
“समाजवाद, स्वप्नविलासीहरुको आविकस्कार होइन, यो त आधुनिक समाजले सृष्टि गरेका शक्ति समूहको विकासको सर्वोच्च उदेश्य र स्वभाविक परिणाम हो । अहिलेसम्मका सम्पूर्ण लिपिबद्ध इतिहास, वर्ग संघर्षको इतिहास हो, कुनै न कुनै सामाजिक वर्गको अन्य वर्ग माथि शासनको वंश परम्परा र विजय प्राप्त गरेको इतिहास हो । जबसम्म वर्ग संघर्ष र वर्ग आधिपत्यको आधार व्यक्तिगत सम्पति तथा अराजक सामाजिक उत्पादन लोप हुँदैन,तबसम्म यो चल्दै रहने छ । सर्वहाराहरुको स्वार्थ तबमात्र सिद्ध हुन्छ जब उनीहरुले उक्त शोषणको आधारहरुलाई धराशायी पार्छन् । सही रुपमा संगठित मजदुरहरुको चेतनशील संघर्षद्धारा यी शोषणका आधार र थिचोमिचोको विरुद्ध संघर्ष चलाउनु अत्यन्तै जरुरी छ । प्रत्येक वर्ग संघर्ष नै एक न एक प्रकारको राजनीतिक संघर्ष हो ।” (रबोच्निक लेखसंग्रह अंक १,२ १८९६ मा पहिलो पटक प्रकाशित लेखबाट) सर्बहाराको संख्या जति जति बढ्छ, क्रान्तिकारी वर्गको हिसाबले तिनीहरुको शक्ति त्यति नै बढ्नेछ । साथै समाजवाद पनि त्यति नै नजिकिनेछ र त्यसको संभावना बढ्ने छ । साथै समाजवाद पनि त्यति नै नजिकिने छ र त्यसको संभावना बढ्नेछ । सर्वहाराबर्गको वर्गको निम्ति माक्र्स र एंगेल्सको शिक्षालाई छोटो वाक्यमा यसरी भन्न सकिनेछ ।उहाँहरुले मजदुरवर्गलाई आफूलाई चिन्न , आफूहरुको बारेमा चेतनशील हुन, तथा सपनाको ठाउँमा विज्ञानलाई बसाउँने कुरा सिकाउँनु भएको थियो । यस्ता महान व्यक्तित्व एंगेल्सको जीवनीले साम्यवाद अथवा बैज्ञानिक समाजवादबारे जानकारी पाउन निक्कै ठूलो मद्दत मिल्नेछ ।
.. फ्रेडरिक एंगेल्सः संक्षिप्त जीवनीबाट लेखकः निरन्जन गोबिन्द बैद्य प्रगति प्रकाशन २०४७ साल