कविता: फ्रेडरिक एंगेल्स मूल कवि: आदित्य कमल भाषा: हिन्दी भावानुवाद: शेषमणि आचार्य भाषा: नेपाली
सन्दर्भ- विश्व कविता दिवस
(भारतीय जनकवि आदित्य कमलको फ्रेडरिक एङ्गेल्सप्रति लेखिएको हिन्दी कविताको नेपाली भावानुवाद)
भारतीय जनकवि आदित्य कमलले सर्वहारावर्गका महान् शिक्षक कार्ल मार्क्सका अनन्य मित्र फ्रेडरिक एङ्गेल्सप्रति समर्पित अन्तर्राष्ट्रिय कविता दिवसको सन्दर्भमा लेख्नुभएको कविता। यो कविता ती महापुरुषको गुणगानमा समर्पित छ। यहाँ कविले केही ऐतिहासिक शब्दहरू उल्लेख गर्नुभएको छ,मैले पनि त्यसरी नै राखेको छु। जो कोही मार्क्सवादका अध्येताले यी कुरा जान्नैपर्छ। जस्तो यहाँ मूर र जनरल दुइटा कोड नाम छन्, जसलाई साथीहरूले मार्क्स (मूर) र एङ्गेल्स (जनरल) भनी सम्बोधन गर्दा रहेछन्। यसै गरी यहाँ मार्क्स एंगेल्सले रचना गर्नुभएको "कम्युनिष्ट मेनिफेस्टो" मार्क्स रचित पूँजी (दास क्यापिटल),र फ्रेडरिक एंगेल्सले रचना गर्नुभएको "परिवार निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति" "डुरिङ मत खण्डन" को पनि चर्चा छ,जो मार्क्सवादका यी महत्वपूर्ण आधारभूत ग्रन्थ हुन्, आधुनिक समाजको अध्ययन गर्ने जो कोहीले पनि यी ग्रन्थहरूका विषयमा केही मात्र पनि जानकारी लिनुपर्छ।
साथी आदित्य कमलका लेनिन, मार्क्स र श्नमजीवी वर्गको विषयमा लेखिएका केही कविता हिन्दीबाट मैले नेपालीमा भावानुवाद गर्ने प्रयास गरेको छुअहिले यो कविता-
कविता: फ्रेडरिक एंगेल्स मूल कवि: आदित्य कमल भाषा-हिन्दी भावानुवाद: शेषमणि आचार्य, नेपाल भाषा: नेपाली
२०२३/०३/२१ (इ.सन्)
२०७९/१२/०७ (विसं)
फ्रेडरिक एंगेल्स
जनरल! तिम्रो संझना अजस्र! हामी जब युद्ध मैदानमा उभिन्छौँ तिमीलाई पढ्छौँ,अनेक अनेक! अहा! कति सरल!सुबोध! ज्ञानको भण्डार! तिम्रो साहित्य अनन्त! संसार! भौतिक ,जीव रसायन विज्ञान! दर्शन ,भाषा, समाज विज्ञान अझ युद्ध ज्ञान,नव नव ज्ञान भरिपूर्ण! हे कार्ल मार्क्सका अनुपम मित्र! ताजा विचारक! सहयोद्धा! प्राण हे मार्क्सवाद! यो जोडी!जिउ पृथक् मन एक! समाजको जीवनको त्यो अनुपम प्रहर! हो तिमी एउटा सम्भ्रान्त साथी! मार्क्स साथमा लिन्छ, वैज्ञानिक समाजवाद साम्यवादको बिज रोप्छ,! मैनचेस्टरको ज्यामी टोलमा! घुम्दै बुझ्दै वेदनाको पहाड! लगायौ पत्तो युगको लक्ष्य! त्यो दिन गजबको दिन ! समाज-विज्ञानको विजयको उत्सव! जसले समायो श्रमजीवी वर्गको अजेय अस्त्र! अहो !अविस्मरणीय दिन! महान् दिन! एउटा पूँजीपतिको छोरा! कार्ल मार्क्सको सहयात्री बन्यो! कम्युनिष्ट मेनिफेस्टोको अचुक निशान! साक्षी बोलिरहेछ,मजदुर वर्गको तागत! कम्युनिष्ट लिग!इन्टरनेशलको सिंहनाद! श्रमको मुक्तिको आवाज! ऐतिहासिक दस्तावेज! गर्वित छ श्रमिक वर्ग! आफ्नो महान् शिक्षक प्रति! बहुमुखी प्रतिभा सम्पन्न प्रतिभाको नक्षत्र! बहुमुखी प्रतिभा! मौलिक ज्ञान र मेधाको नमुना! धपधपी ज्वाज्वल्यमान दुई महामानव! राक्षसी पूँजीको चिहान खन्ने ! सर्वहारा वर्गको साथमा अजेय विचार उपहार! मूर अनि जनरल तिम्रो उपहार!हे प्यारो जनरल एङ्गेल्स! हाम्रा आँखा खुले,तिम्रो परिवार निजी सम्पत्ति र उत्पत्ति राज्यसत्ताको चिन्तन! जब साथमा आए! तिम्रो औँला समाई समाई बालक सदृश, हामी अगि बढ्यौँ! हे जनरल एङ्गेल्स! तिम्रो तीक्ष्ण दृष्टि डुरिङको अमिलो स्याउमा सजग नभए! हामी कसरी मार्क्सवादको न्यानो पाउन सक्छौं ! जनरल फ्रेड!तिमी साथी!महासाथी! तिमी अनि मार्क्स! मार्क्स अनि फ्रेड! धन्यवाद! पूँजी, हामीले पायौँ! ओ! मार्क्सवादको त्यो विपुल भण्डार! हो यसैले, सर्वहारावर्गको मनमा यो गड्यो!गडिरह्यो! यी दुइ अमर नाम! एक मूर!अर्को जनरल! मार्क्स - एङ्गेल्स साथी महान्! अमर! देदीप्यमान! मार्क्स मित्र फ्रेड! मार्क्स-फ्रेड महान्!