२०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते

श्याम दाइका पाइलाहरू- शेषमणि आचार्य

मंगलवार , भाद्र २५, २०८१

विषय प्रवेश: गतिवादी नेपाली साहित्यका अग्रगण्य व्यक्तित्व, प्रजातान्त्रिक आन्दोलनका ऐतिहासिक पुरुष एवं कम्युनिष्ट आन्दोलनका वैचारिक एवं सांगठनिक निर्देशक श्यामप्रसाद शर्माको यही असार ६गते जन्मदिन थियो।यस विषयमा सायद धेरै साथीहरू बेखबर भइयो।तथापि उहाँलाई संझँदा साथीहरू एउटै मात्र विशेषणले संझने गर्नुहुन्छ,त्यो हो प्रगतिशील साहित्यकार । श्याम दाइको यो अपूरो र भग्न परिचय मात्र हो। उहाँको सबभन्दा ठुलो परिचय त राजनैतिक निष्ठा र संलग्नता नै हो।तर सबभन्दा थोरै वा अपूरो चर्चा पनि यसै विषयमा भइरहेछ।यो एक रहस्यमय पाटो पनि रहेको छ। यस विषयलाई लिएर यसै सालको बैशाख २९ गते(२०८१) नयाँ ठिमीमा साथी कृष्णमोहन जोशीसहित स्थानीय साथीहरूको पहलमा एउटा कार्यक्रम भएको थियो।जसमा केही साथीहरूले आ-आफ्ना विचार व्यक्त गर्दै श्यामप्रसादको राजनीतिक पाटो ओझेल परेको र यो समकालीन नेपाली समाजको निम्ति सुखद हैन भन्ने निष्कर्षमा टुङ्गिएको थियो। यसो हुनुमा कतै श्यामप्रसाद कसैको मनमा संझना नभएको वा गर्न नचाहेको अथवा महत्व नदिएको नाम पनि हुन सक्छ।तर वास्तवमा श्यामप्रसाद त्यस्तो कोटीको व्यक्ति नभई जो समाजलाई रूपान्तरण गर्न चाहन्छ,जो समाजको न्यायपूर्ण र वैज्ञानिक परिवर्तन चाहन्छ,उसको निम्ति उनको विचार, लक्ष्य र कार्यशैली निकै अनुकरणीय हुन जान्छ।तर यसलाई बुझ्न छिपछिपे सोचले सकिँदैन। सतहको लहडले पुग्न सकिँदैन। यहाँ श्यामप्रसाद को हुन्,उनको विचार किन अध्ययन गर्न आवश्यक छ र उनका साथीहरू वास्तवमा को थिए,को हुन सक्छन्,यस्ता विषयमा पनि केही चर्चा गर्ने प्रयास गरिनेछ। पहिलो पुस्ताका वैज्ञानिक विचारका वाहक  श्यामप्रसाद आधुनिक नेपालको पहिलो पुस्ताका क्रान्तिकारी मार्क्सवादी र वैज्ञानिक प्रजातान्त्रिक योद्धा पनि हुन्।यी राजनीतिक अभियानमा सर्वप्रथम गान्धीवादीको रुपमा नेपाली राष्टिय काँग्रेसको कार्यकर्ता एवं नेता भएर सक्रिय रहे। यसै कालमा यिनको जेल अनुभव पनि रह्यो।यिनको संगत प्रथम पुस्ताका टंकप्रसाद, डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई,प्रेम बहादुर कंसाकार, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र,खड्गमान सिंह, पुष्पलाल लगायत मूर्धन्य ऐतिहासिक व्यक्तित्वहरूसँग रही साहचर्य गरेका यिनले नेपाली प्रगतिवादी साहित्य र नेपाली कम्युनिष्ट आन्दोलनमा शीर्ष भूमिका निर्वाह गरेका छन्। हाम्रो राजनीतिका विभिन्न स्कुलमा श्यामप्रसादको स्कुल बेग्लै प्रकृतिको छ।यिनले करिब २५वर्षभन्दा बढी यस स्कुलको नेतृत्व गरे।यस अवधिमा तत्कालीन समयमा कठोर भूमिगत जीवनका साथ नेपाली कम्युनिष्ट आन्दोलनलाई एक अनुकरणीय रूपमा स्थापित गर्न खोजे,तर यसमा केही सफलता केही असफलता दुवै हासिल गरे।अब वैचारिक, राजनीतिक र सांगठनिक पक्षमा यिनको मान्यताको अध्ययन गर्नुपर्ने छ।श्यामजीको व्यक्तित्वको पहिलो पाटो यिनको राजनीतिक सक्रियता थियो भने फेरि चर्चा गर्दैगर्दा यसै पाटोलाई बिर्सने काम अहिलेसम्म भइरहेको छ। श्यामप्रसाद सबैका हैनन्,फेरि सबैका पनि हुन्- राजनीतिज्ञ श्यामप्रसाद वर्गसंघर्षको पक्षधर थिए।यिनको विचारको मुख्य चुरो पनि यही वर्ग पक्षधरता थियो। यसकारण यहाँ उही वाक्यांश दोहोरिएका छन्।उनी कसका हुन्jकसका हैनन्।एउटा कम्युनिष्ट विचार बोकेको व्यक्ति सबैको हुन सक्दैन।ऊ स्वाभाविक रूपमा शोषित पीडित वर्गको साथी हो।उसले शोषक वर्गको कहिल्यै पक्षपोषण गर्न सक्दैन,गर्ने कुरै आउँदैन।यसैले श्यामप्रसादलाई नेपाली शोषक वर्गले कहिल्यै मान्यता दिएन,टारिरह्यो। तर उनले जसबाट पाउनुपर्ने यथेष्ट सहयोग हो त्यो कता पाएनन् कि जस्तो अनुभूति हुन्छ ‌। उनको दृष्टिकोणमा वर्गसङ्घर्षको नाउँमा भद्दा र अमानवीय प्रतिशोध मात्र पनि थिएन।वास्तवमा उनी ती सबै जनगणका साथ थिए,जो समाजको क्रान्तिकारी रूपान्तरण चाहन्छन्।उनी केही हदसम्म गान्धीबाट प्रभावित कुनै समयमा भए पनि मार्क्सवादका कट्टर हिमायती रहे।खास गरी माओत्सेतुङका एक निष्ठावान् अनुयायी पनि थिए।यी सिद्धान्तको नाउँमा जडसूत्रवादी त थिएनन्,जति सिद्धान्तमा दृढथिए व्यवहारमा त्यति लचिला पनि थिए,तर संझौतावादी भने थिएनन्। श्यामप्रसादको व्यक्तित्वका तीन खम्बाहरु - राजनीति,अर्थनीति र संस्कृतिमा यिनको उत्तिकै शीर्ष धारणा पाउन सकिन्छ।जति उनी राजनीतिमा एक इमान्दार कम्युनिष्ट रहे,आर्थिक नीतिमा प्रगतिशील धनी वर्गलाई पनि सँगै लैजाने र उनीहरूको उचित सम्मान गर्नुपर्छ भन्थे।उनको एउटा सूत्र थियो ,धनी वर्गबारे,उनी प्राय :भन्थे,हामीले देशभक्त धनीहरूको पक्ष लिनुपर्छ।जसले जनताको पक्षमा आफ्नो धन बल र मन लगाउँछ, हामीले मार्क्सवादी शब्दकोशमा यसलाई नयाँ जनवादी अर्थनीति पनि भन्न सकिन्छ।उनले आफ्ना कतिपय रचनामा यसको पक्षपोषण गरेका छन्।(हे.एक घन्टा बिताउन,धनीको पनि ओड लिने... निबन्धहरू) श्यामप्रसाद मूर्धन्य साहित्यकार हुन्,  तर उनले "म साहित्यमा अराजकतावादी हूँ"--भन्ने ढोङ्ग कहिल्यै लिएनन्।उनी त भन्थे संसारमा "सबभन्दा ठुलो भेद वर्गभेद हो, सबभन्दा ठुलो एकता वर्ग एकता हो।--श्यामप्रसाद"! श्यामप्रसादका मान्यताहरू यस्तै छन्।उनलाई एउटा स्कुल भन्नुको कारण धेरै छन्। जसले राजनीतिक,आर्थिक र साँस्कृतिक सबै क्षेत्रमा श्रमजीवी वर्ग र उसका मित्र पङ्क्तिमा चेतना जगाउने र चेतना सँगै व्यवहार गर्ने विषयमा नै मुख्य जोड दिने गरे। उनी हाम्रो प्रगतिशील साहित्यका शिलान्यास कर्ता हुन्।यिनैले यस शब्दलाई लोकप्रिय पनि बनाए।यी आफू त स्वयं प्रगतिवादी हुन्,तर सबै प्रगतिशीलहरूसँग एकता गर्नमा जोड दिए।यी मूलतः समाजका सबभन्दा तल पिसिएकाहरूको निम्ति लेख्थे,सोच्थे र यिनको कलम, मस्तिष्क,शरीर सबै यिनै जनताको निम्ति खर्च भयो।यी जनताले बुझ्ने भाषामा सरल किसिमले लेख्थे।तर यिनले पाठकको स्तर अनुसार,जनताको लवज अनुसार लेखेको मन पराउँथे।उनी बालकहरूका साथी थिए,बृद्धहरूका आत्मीय थिए,नारीमुक्तिका पथप्रदर्शक थिए। शारीरिक रूपले शक्त र अशक्त सबैको मानवीय मूल्य र मान्यताका पक्षधर थिए। जन संस्कृतिको पक्षमा पथप्रदर्शक  खास गरी संस्कृतिलाई जनताको पक्षमा कसरी चिनाउन सकिन्छ र त्यसलाई जीवित राख्न सकिन्छ जस्ता विषयहरुमा यिनले मार्गदर्शन गरेका छन्, समाजमा चलेका सबै संस्कृति मान्नुपर्छ वा पछ्याइरहनुपर्दछ भन्ने आग्रह कहिल्यै राखेनन्। यसबारे यिनको मान्यता थियो:"संस्कृतिको स्वस्थ पक्षको रक्षा र विकास पनि गर्नुपर्दछ, अस्वस्थ पक्षको भने होइन।" यसको मतलब अन्धविश्वास,रुढिवाद,कसैलाई मिच्ने हेप्ने,फजुल खर्च आडम्बर,जनतामा भाँजो हाल्ने एकतालाई नरुचाउने,पछौटे बानी बेहोरा जस्ता विषयहरुमा हामीले चनाखो हुनुपर्छ,समय अनुसार कुनै नयाँ कुरो छ भने त्यसलाई चलनमा ल्याउन पहल गर्नुपर्छ,चलन त्यसै चल्दैनन्,कसैले चलाउनु पर्दछ।मानिसको सौन्दर्य बाहिर हैन भित्र चम्कनुपर्दछ।यस्ता धेरै सूत्रहरूमा यिनले विचार दिएका छन् श्यामप्रसादका विचारहरूलाई विभिन्न कोणमा हेर्न सकिन्छ।यिनले विचार सही हुँदैमा हुँदैन,कार्यदिशाको साथै त्यसलाई कार्यान्वययन गर्दा हुने कार्यशैलीप्रति पनि सधैँ चनाखो हुनुपर्छ भन्ने विषयमा जोड दिइरहे।यिनको यसबारे अर्को सूत्र छ:-"भित्र समाजवाद बाहिर नौलो जनवाद!" --यसको आशय राजनीति नेता हो।समाजमा सबभन्दा अगुवा राजनीति कम्युनिष्ट राजनीति हो। यसकारण जसले यसलाई आफ्नो सिद्धान्त मान्दछ,उसले अरूले भन्दा केही बढी त्याग गर्नुपर्छ।यसकारण यहाँ 'भित्र'भन्नाले पार्टीभित्र हो,अर्थात् कम्युनिष्ट पार्टीभित्र सबैभन्दा पहिला समाजवादी आचरण हुनुपर्छ,जुन कडा अनुशासनमा रहन्छ।तर कतिपय कुरा भने जनताको तहमा खुकुलो हुनुपर्छ,यहाँ छलफल,हृदय परिवर्तन जस्ता कुरा हुन सक्छन्।कतिपय गल्तीहरूमा एउटा कम्युनिष्टको हकमा जति निर्मम हुनुपर्छ त्यति नै जनताको हकमा हुनुहुँदैन,त्यहाँ केही केही सहज हुन सक्छ।जनतामा बानी पार्दै जाने, पार्टीभित्र भने अनिवार्य हुनुपर्दछ,उनका यस्तै मान्यता हुन्। नेपाली वाम आन्दोलनमा धेरै विषयमा विचार राख्ने र मार्गदर्शन गर्ने हैसियत श्यामप्रसादमा थियो। यसकारण यी साँस्कृतिक क्षेत्रमा नेपालमा लुसुनको समकक्षी थिए भन्दा बढी हुँदैन।यसबारे यति नै अहिले उल्लेख गर्दा सही होला। साना कृतिमा विराट् विचार श्यामप्रसादका विविध विषयमा,विविध विधामा लेखिएका कृति छन्।यी अनेकन छद्मनामका धनी पनि छन्। पञ्चायत कालमा बाहिर पत्रिकाहरूमा मित्रहरूको सहायताले छद्मनाममा रचनाहरू छापिएका छन्।कतिपय रचना बाहिर रहेका साथीहरूका (शान्तदास, गोविन्द भट्ट,कुलमान,,जनक हुमागाईं आदि....) नाममा पनि यिनका रचना छापिएका छन् वा हुन सक्छन्।।नेपाली भाषामा समाजवादी साहित्यको हकमा त पुष्पलालले "कम्युनिष्ट पार्टीको घोषणापत्र"अनुवाद गरेपछि प्रवेश भएको हो भने त्यस्तै उचाइ छुन पुग्ने माओका उद्धृत उक्तिहरू,दर्शन सम्बन्धी ग्रन्थहरू,आदिको सरल नेपालीमा अनुवाद गर्ने र यस कार्यको नेतृत्व समेत यिनले गरेको पाइन्छ‌। भारतमा सुरु भएको नक्सलवादी क्रान्तिमा यिनको नेतृत्वको कम्युनिष्ट पार्टीकै पहलमा यसका साथीहरूले भारतीय क्रान्तिकारीहरू(नक्सलाइट)लाई माओका कृतिहरु पुर्याउन पनि भूमिका खेलेको पाइन्छ।अझ नेपालमा पहिलो "माओवादी कम्युनिष्ट पार्टी " पनि यिनैको नेतृत्वमा स्थापित भयो, जसलाई "नेपालका कम्युनिष्टहरूको संगठन(माओवादी) भनियो।पछि यसलाई 'मालेमावादी' भनियो। श्यामप्रसादका धेरैजसो कृतिहरू 'गोजीका' जस्ता छन्।यिनका केही लामा कृतिहरू भनेका, साहित्य सम्बन्धी दुइचार कुरा,लेखक कसरी बन्ने,तँ तिमी तपाईं हजुर हुन्। यी पनि मोटो आकारका छैनन्।यसो हुनुमा कारण जनताको निम्ति सस्तो कृति र पढ्न पनि पट्यार नलाग्ने हुन्।यस्तै अनगिन्ती पार्टीका सर्कुलर,भूमिगत पार्टी पत्रिका 'नयाँ कुरा' को सम्पादन लेखन पनि यिनले गरे।यिनका सर्कुलर पत्र र अन्य पुस्तकहरूमा सजिलो किसिमले विचार पस्किने काम भयो। श्यामप्रसाद आफ्ना साथीहरूसँग ''क्रान्ति सबभन्दा अगाडि अनि अरु पछाडि"भनिरहन्थे। नेपाली क्रान्तिका मौलिक चिन्तक श्यामप्रसाद नेपाली कम्युनिष्ट आन्दोलनमा एक भिन्न शैलीका साथ नेपाली क्रान्तिको मौलिकताको खोजीमा थिए।यी सकेसम्म हाम्रो देशको क्रान्ति आफ्नै मुलुकमा रहेर सम्पन्न गर्न खोज्नुपर्छ,,बाहिरको भरमा हैन,भन्दथे। यसकारण यहीँ जनताको बिचमा आधार बनाएर चल्नुपर्छ,यसको लागि अहिलेको पूँजीवाद र साम्राज्यवादको प्राविधिक क्षमतालाई समेत आँखा छल्ने एक बलियो भूमिगत कार्यशैली आवश्यक पर्छ भनेर साथीहरूलाई प्रशिक्षित गर्दै रहन्थे।यस विषयमा कामरेड पुष्पलालसँग यिनको मत बाझियो।श्यामप्रसादलाई हामीले कहिल्यै एकतर्फी विचारको वाहकको रूपमा हेर्न सकिन्न।यी ऐतिहासिक भौतिकवादकै आधारमा सामन्तवाद भन्दा पूँजीवाद र पूँजीवादभन्दा समाजवाद अग्रगामी हुन्छ।तर यी सबै अगिल्लो स्थापनाभन्दा दोस्रोमा प्रगितशील गुण हुन्छ पनि भन्दथे।कोही पनि सधैँ त्यस्तै रहँदैन भन्ने मान्यता राख्दथे। यसकारण हरेक व्यवस्थाको प्रगतिशील पक्षलाई सकेसम्म जोगाउन र उन्नत राख्ने प्रयत्न गर्नुपर्छ भन्ने मान्यता राखिरहन्थे।जो समय सापेक्ष हुन्छ। यसरी हेर्दा श्यामप्रसाद एक नेपाली संस्कृतिको एक बलियो खम्बा हुन्।यिनका कृतिहरूमा भाषा,संस्कृति,जातजाति, परिवार,बच्चाबच्ची, स्वास्थ्य जस्ता विषयहरू समेटिएका छन्।यी कुनै लेखहरू लेख्दा सम्बन्धित विशेषज्ञको सकेसम्म विचार बुझ्ने गर्दथे जसमा नेपाली समाजको आगामी परिवर्तनको झलक हुन्थ्यो। जननीतिका पक्षधर: श्यामप्रसादको विचार र कार्यशैलीलाई जब बुझ्ने कोसिस गरिन्छ,तब उनको एउटा भनाइको संझना हुन्छ,--''ल्याई लैजाने!''यसको आशय हामीले जति पनि काम गर्दछौँ ,तिनमा जनताबाट जनतामै जाने हुनुपर्दछ।यसको मतलब जनताका समस्याहरू सर्वप्रथम बटुल्नु पर्छ,जुन 'जनताबाट ल्याई(ल्याई) र पछि जनतामै लैजाने(लैजाने) हो ,जनताका सबै समस्या र विचार ल्याउने तिनलाई परिमार्जित गरी जनतामै फर्काउने र त्यही अनुसार काम गर्ने यसको आसय हो। प्रगतिशील पत्रकार श्यामप्रसाद शर्मा नेपाली पत्रकारिता जगत्मा एक प्रगतिशील पत्रकार र नेपाली पत्रकारितालाई विश्वमा परिचित गराउने पत्रकार पनि हुन्। २००९सालमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि उनलाई पार्टीको मुखपत्रमा काम गर्न काठमाडौँ बोलाइयो।त्यहीँ पार्टीको मुखपत्रको सम्पादन गरे।पहिला नजरबन्दमा रहँदा पनि भूमिगत हस्तलिखित 'स्लेट' पत्रिका सञ्चालन गरेर बन्दीहरूमा चेतना जगाउने काम गर्थे।२०१७ सालको शाही कदमपछि पनि केही समय तत्कालीन स्वतन्त्र पत्रिका 'हालखबर'मा यिनले काम गरे।भूमिगत कालमा "नयाँ कुरा"नामक पार्टीको मुखपत्रको नेतृत्व गरे।जुन भूमिगत कालभरि रह्यो। श्यामप्रसादले नेपाली पत्रकारिताको इतिहासलाई हङ्गेरीको बुडापेस्टमा भएको अन्तराष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट भाग लिएर नेपालको परिचय विश्वसामु पेश गरे। साहित्यका नयाँ प्रयोग कर्ता नेपाली साहित्यमा यिनको नाउँ चम्केको विधा निबन्ध विधा नै हो।प्राय:गरी प्रथम पुरूष शैलीमा लेखिएका निबन्धमा शोषणले पीडित नेपालीसमाजका अनेक व्यथामा प्रभावशाली चर्चा गरिएको छ।यसै गरी आधुनिक नेपाली साहत्यमा डायरी साहित्य,पत्र साहित्यको समेत सुरुआत यिनले गरे।यिनको कलम स्वान्त सुखायले चलेको नभई समाजको परिवर्तनले अभिप्रेरित छ। यी एक विचारक हुन्, यसकारण यिनले समाजको जुन समस्यामा हात हालेर लेखे पनि त्यसमा समस्यामात्र नभई समाधानको वैज्ञानिक समाधानको उपाय पनि पाइन्छ।यसो हुनुमा यी समाजको ब्याख्यामात्र नगरी समाधानको मार्ग पनि खोज्न तयार छन्।यिनको डायरी साहित्यमा पहिलो प्रकाशित कृति हो,'थुनुवाको डायरी।' भूमिगत कालमा यिनले धेरै डायरी लेखे,जो धेरै अप्रकाशित छन्। सबैका श्यामप्रसाद र केही आक्षेप  ‌केही चर्चा भइसकेको छ। श्यामप्रसादलाई वाम खेमाकै साथीहरूले दुई किसिमका दोषारोपण गरे।पहिलो :यी 'अतिगोप्यतावादी' थिए।यो पूर्ण असत्य भने होइन।तर यिनी माओको यो भनाइलाई दोहोर्याइरहन्थे,"अनुसन्धान नगरी बोल्ने हक छैन।"यहाँ यही सूत्र अनुसार काम गरिएको थियो।कोही साथीहरू अगि आउनासाथ सबै सङ्गठनको गोप्यता जान्न चाहनु ठिक थिएन,यसैकारण यस्तो शैली अपनाइयो।उनको संगठनलाई नै कसैले "अतिगोप्य' नाम राखिदिए। तर त्यो समयको बाध्यता थियो।यसको प्रयोग गर्दा कहिले काँही त्यस्तो हुन गयो होला।अर्को पनि आक्षेप सुनिन्छ,यिनी गुट चलाउँछन्। यो पनि उनलाई नबुझ्दा आएको प्रतिक्रिया थियो।यिनले अरू पार्टीको डफ्फा जस्तो आफ्नो छुट्टै डफ्फा चलाएनन्।उनको एउटा मार्क्सवादी पार्टी भने थियो। कसैले यसलाई गुट थियो भन्न सक्छ,यस अर्थमा कुरा गलत भनिन्न,तर यी कहिल्यै गुटवादी भने भएनन्।यिनका कुनै साथी पनि त्यस्तो भएनन्।विगतमा जनताको पक्षमा गरिएका सबै कामहरू जसले गरे पनि हामी सबैको पक्षमा गरिएका हुन्, यसकारण हामीले तिनको पक्षमा सहयोग गर्नुपर्छ र तिनका कमी कमजोरी केही लागेमा त्यस आन्दोलनको नेतृत्वमा विचार दिने प्रयास गर्नुपर्दछ। यसलाई आधार बनाएर यिनले र यिनका साथीहरूले झापा विद्रोहलाई "जनयुद्धको पहिलेा पाठ"भनेर स्वागत गरे,साथै त्यसका कमी कमजोरीहरु पनि औँल्याउने काम गरे।यसरी नै पछिल्लो समय नेकपा माओवादीले चलाएको जनयुद्धमा पनि यिनले केही साथीहरू मार्फत यसबारे विचार राखे,यी त्यसको विरुद्धमा थिएनन्,तर उनको एउटा सङ्केत थियो,उनले यसबारे छोटो शब्दमा भनेका थिए,यसमा "अनावश्यक वलिदान" भए जस्तो छ। यसलाई पुष्टि गर्न नपाउँदै यिनको देहावसान भयो। श्यामप्रसादका साथीहरू': श्यामजीका साथीहरू एउटा उद्देश्यसँग जोडिएका छन्।पहिलो त हामी धेरै साथीहरू उनका साथी थियौँ।हो उनको नेतृत्वको संगठनमा रह्यौं।हामीमध्ये कतिपय साथीहरू लामो समय सँगै नरहेका पनि छौँ।तर श्यामजीले त्यस्ता साथीहरूप्रति कुनै तुष भने राखेनन्।राजनीतिले वनाएको साथी स्वेच्छिक हुन्छ।ऊ चित्त बुझिन्जेल काम गरिरहने स्वयं सेवक हो। उनलाई हामीले सदा साथ दिइरह्यौँ।तर केही साथीहरूका गुनासा र माँग नभएका होइनन्।खास गरी विचारलाई बिर्सेर कामको बदला स्वार्थ,पद,सत्ता चल्दा अवसर चाहनु मानवीय चरित्र भए पनि श्यामका अनुयायीहरू यसमा बढी लिप्त भने भएनन्।जसले श्यामप्रसाद एउटा विचार र सिद्धान्तको प्रतिक हो भन्ने संझे उनीहरूले व्यक्तिगत लाभ,स्वार्थ,रबाफ केहीको आशा गरेनन्, जसलाई त्यो अवसरमा सघाइयो उनीहरूले भने आफ्नो धरातल छिटै बिर्से ।कुनैपनि कामको जिम्मेवारी कसैलाई दिनु छ भने त्यो सत्पात्र हुनु पर्ने रहेछ।संसारमा यस्ता धेरै उदाहरणहरु छन्। यहाँ यसबारे कुरा गरिरहँदा म कुनै अमुक पात्रहरूको नाम उल्लेख गर्न चाहिरहेको छैन।यहाँ त्यस्ता पात्रहरूको चरित्र र वर्गमात्र उल्लेख गर्न खोजिएको छ।तैपनि पहिलो तहका उनका साथीहरू उनको संगठनमा रहेर योगदान गरेका हामी सबै ह्वौँ।श्यामजीले त हामीसँग कुनै माँग र अनुचितआशा गरेनन्।।जति गरियो उनको नेतृत्वमा गरियो।उनले कार्यक्षेत्रमा उनी र अरु हामी साथीहरूले गरेका काम र प्राप्त अनुभवलाई परिष्कृत गरे।एकथरि हामी यस्तै साथी रह्यौँ।हामीमध्ये केही साथीहरू यस संसारबाट अलप भइ सक्नु भयो।अब यी साथीहरूप्रति हामीले कुनै गुनासो गर्ने अवसर छैन्। श्यामप्रसादका साथीहरू त अचेल लागिरहेछ,उनको संगठनभन्दा बाहिर अत्यधिक रहेछन्।उनी भनिरहन्थे,हामीसँग विभिन्न पुस्ताका साथीहरू चाहिन्छन्। जसलाई यसरी सूत्रीकृत गरिएको थियो,एउट मार्क्सवादी पार्टीको संगठनमा विभिन्न उमेर समूहका साथीहरूको खाँचो पर्दछ। बाल,पुरुष,महिला,अनेक जातजाति,सबैको मेलका साथीहरू हामीले लिन सक्नुपर्दछ,यसको लागि छोटकरीमा पाका,अधबैँसे र तन्नेरी संगठनका हिरावल पुस्ता हुन्।यी सबैको कामरेड्ली सम्बन्धमा नै श्यामप्रसादका साथीहरू खोज्नुपर्छ।उनी पछिसम्मको निम्ति बाल पुस्ता माथि भर पर्दछन्।अगि उल्लेख गरिएको नयाँ ठिमीको कार्यक्रममा त्यस समयका बाल-पुस्ताका साथीहरूको उत्साहजनक उपस्थिति रह्यो।यसरी नै श्यामजीसँग रहेर काम गर्दाका त्यस समयका तन्नेरी साथीहरु पनि हुनुहुन्थ्यो,जो अहिले पाका वा कोही त बृद्ध नै भइसक्नुभएको थियो। यसैगरी केही पाका र बृद्ध साथीहरू पनि देखिनुभयो,जो अहिले बृदध वा बितिसकेर सम्झनामा मात्र रहनुभयो।वास्तवमा यति धेरै साथीहरूको पङ्क्ति कुनै सम्बन्ध,लोभ लाभ वा अवसरको आशाले पछि लागेका थिएनन्।यिनीहरू बालक पुस्ता जस्तै निर्दोष र इमान्दार थिए। यसरी श्यामप्रसादका साथीहरू ज्ञात अज्ञात भोलिन्टियर साथीहरू नै हुन्।विचार यस्तो कुरा रहेछ ,जसलेभौतिक आलिङ्गनभन्दा वैचारिक ऊर्जामा विश्वास राख्दछ,यिनै थिए श्यामप्रसादका साथीहरु।जो कहिल्यै समाप्त हुँदैनन्। श्याम दाइका पाइलाहरू- शेषमणि आचार्य श्यामप्रसादको शिक्षाको सान्दर्भिकता र नेपाली पुनर्जागरण काल श्यामप्रसाद बारे केही पङ्क्ति वा अनुच्छेदमा बुझ्न सकिँदैन।पाणिनिको अष्टाध्यायी जस्तो यिनका अणुमय सूत्रहरूमा धेरै बुझ्न सकिन्छ।तर सबै समस्याको समाधान यिनबाट मात्र मिल्न सक्दैन।यिनको शिक्षा भनेको नेपालको मार्क्सवाद हो।त्यसको एक अंश हो। नेपाली समाजअब आफ्नो विगतको सिंहावलोकनको प्रतीक्षामा छ।खास गरी नेपाली क्रान्तिको सुरुआतका वर्षदेखि हाल सम्मको अतृप्त समयसम्मको समीक्षा चाहिरहेको छ।जसले नेपाली समाजमा एक किसिमको नवजागरणको सूत्रपात गर्न सक्छ,यसको निम्ति श्यामप्रसाद र श्यामप्रसाद हरूका विचारले केही बाटो खोल्न सक्छन्।हामीले यो कामको प्रारम्भ गर्न सके राम्रो,कथं नभए एउटा कुनै पात्रको अवतरण हुनेछ,जसमा श्यामप्रसादको विचार एक सहयोगी बन्न सक्छ। अब समाजको करवट वदलिनु पर्छ।अथवा समाज त्यो अवस्था उन्मुख भएको पनि छ।जहाँ श्याम दाइका पाइलाहरू रहेका हुनेछन्। समाप्त