कविता मजदुरको एउटा डायरी- डा.अमर गिरी
साधारण मजदुर हुँ म
तर एउटा इतिहास मसँग पनि छ
जस्तो महाराजहरुसँग हुन्छ
नेताहरुसँग हुन्छ, शासकहरुसँग हुन्छ
र हुन्छ उपदेशकहरुसँग ।
.
साधारण मानिससँग पनि धेरै कुरा हुन्छन्
सुखका दु:खका, प्रेमका, घृणाका,
संवेदनाका,आक्रोशका, निर्माणका, ध्वंसका
क्रान्तिका, परिवर्तनका
धेरै कुरा हुन्छन् साधारण मानिससँग पनि
कहिलेकाही ठूला भनिने मानिसहरुसँग भन्दा धेरै ।
.
साधारण मानिसले नै बनाउँछन् ठूला मानिस
इतिहसको निर्माणमा सबैभन्दा धेरै प्रयोग भएको छ
साधारण मानिसहरुको हाड
इतिहासका पृष्ठहरुमा सबैभन्दा बढी धड्कन्छ्न
साधारण मानिसका हृदय
.
'लिजनरहरु' बिना 'सिजर' सिजर बन्ने थिएन
'आयरनसाइड' हरु बिना 'क्रमबेल' क्रमबेल हुने थिएन
इतिहासमा सबैभन्दा बढी भण्डार छ साधारण मानिसहरुको आँसुको
साधारण मानिसहरूले नै सबैभन्दा बढी प्रेम गरेका छन् इतिहासमा
सबैभन्दा बढी दु:ख सहेका छन् साधारण मानिसले
साधारण मानिसले नै इतिहास र वर्तमान बनाउँछन्
त्यसमा रङहरु भर्छन र भविष्य स्वप्न देख्छन् ।
.
देश दुख्ता रोएको छु म पनि
यसको शिरमाथि टेकेर कोहि हिंड्न खोज्दा
आक्रोशले आगो भएको छु
सहभागी भएको छु परिबर्तनका प्रत्येक संघर्षमा
झण्डा बोकेको छु, इन्क्लाब भनेको छु,
परिवर्तनको शिलामा लेखेको छु मैले पनि सयौं गीत
र तिनमा सङ्गीत भरेको छु।..
.
आज बदलिएका छन् धेरै कुरा
बगेको छ समय धेरै तर उस्तै छु म
धेरैले प्रशंसा गरेको संविधानको सिरानी हालेर
भोक अहिले पनि मेरो बासमा रुन्छ
उत्पीडनले बुनिएको फाँसीको डोरीमा
अहिले पनि झुन्ड्याइन्छन मेरा खुसी र स्वप्नहरू।
.
परिवर्तनको आख्यानप्रति अप्रतीम व्यंग्य
म यस देशको एउटा सामान्य मजदुर ।