आरुको बगैंचा- थाओ युआनमिङ

चिनिया कथा

थाओ युआनमिङ प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६

•अनुवादक- टंक कार्की

घटना उहिलेको हो | छिन बंशको थाई युआनको शासन कालमा वुलिंगमा एक जना माझी बस्दथे | एक दिनको कुरो हो, एउटा नदीको तिरै तिर भएर उनि जाँदै थिए | उनलाई आफुले पार गरेको दुरी चेतै भएन | अकस्मात उनि आरु फुलेको बगैंचामा आई पुगे | नदीको दुवै किनारामा कोशौं दुर लामवद्ध आरुका रुख थिए, ढकमक्क फुलेका | तिनको वरिपरि अर्को कुनै खालको बोट बिरुवा थिएन | थिए त बास्नादार फूलहरु, कोमल र आँखै तिर्मिर्याउने | आरु फूलबाट उत्सर्जित बास्नामा हावा लहरी रहेको थियो | माझी भने रोमाञ्चित हुँदै यो बगैंचाको कहाँ अन्त्य होला भन्दै अघि बढ्दै थिए | अन्ततः त्यो एउटा झरनामा पुगेर टुङ्गियो | त्यस पछि भने एउटा सानो पहाड आयो | पहाडको छेउमै एउटा सानो गल्छिडो थियो जसबाट प्रकाशपुञ्ज आएको प्रतित हुन्थ्यो | आफ्नो नाउ नदी किनारामा यसै छोडेर उनि गल्छिडो तिर लागे | सुरुमा त त्यसबाट छिर्न निकै हम्मे पर्यो तर केही बेरको ठेलमठेल पछि उनि झलमल्ल उज्यालो भएको बिशाल फाँटमा प्रवेश गरे |
भव्य भवन, लह लह बाली, मज्जाका पोखरी, यत्र तत्र ऐसेलु र वेलिका लहरा – जता हेर्यो उतै रोमहर्षक | जताततै जोड्ने बाटाघाटाहरु, एक ठाउँबाट अर्को ठाउँमा कुकुर भुकेको या भाले बासेको सजिलै सुन्न सकिन्थ्यो | मानिसहरु खेतबारीमा काम गर्न जाने र आउने सरोवरी थिए | तिनको पहिरन बाहिर मानिसहरुको जस्तो हुन्थ्यो ठ्याक्कै उस्तै थियो | सेताम्मे फुलेका बुढापाका र बालबालिका प्रशन्न र सन्तुष्ट देखिन्थे |
माझीलाई देख्ना साथै केही मानिसहरु त अचम्मै परे | तिनले उनलाई सोधे, तिमि कहाँबाट आएका हौ ? उनले आफ्नो सारा बेलिबिस्तार सुनाए | तिनले अतिथिलाई आफ्नो घरमा निम्ता दिए | भोजमा रक्सी र कुखुराको पकवान नै अघि सारे | गाउँमा उनि आएको हल्ला फिजिन साथै सारा गाउँ नै पल्टेर उनलाई भेट्न भनेर आयो | तिनले नाना भाँतीका सवाल गरे | आफ्नो तर्फ़बाट पनि उनीहरुले आफ्नो बेलिबिस्तार सुनाए | आफ्ना जिज्यु बाजेहरू छिनको जमानाको दुःख कष्ट सहन नसकेर आ-आफ्ना जहान र छर-छिमेक लिएर यस बिरान ठाउँमा आएका हुन् र फेरि कहिल्यै त्यता न फर्किने गरी | त्यसबेला देखि उनिहरु वाहिरी दुनियाँको सम्पर्कबाट अलग थलग भएका हुन् | तिनले उनलाई यो पनि सोधे, यो कुन जमाना हो ? तिनले हान बंशको कहीं कुनै चर्चै सुनेका थिएनन् | हानका उत्तराधिकारी वेई र छिन बंशको त झन् कुरै भएन | माझीले तिनले उठाएका हर एक प्रश्नको एक एक गर्दै जवाफ दिए | उनले भनि रहँदा कत्तिले हाई मात्रै काटेनन् धेरैले जिब्रो पनि काटे | त्यहाँ भएका बाँकी सबैले उनलाई पालैपालो गर्दै आ- आफ्नो घरमा आउन निम्तो दिए र भोज भतेर गरेर स्वागत गरे | कैयौं दिनको यस्तो बसाईं पछि मात्रै उनले त्यहाँ बाट विदा लिए |
‘हाम्रो बारेमा बाहिरी दुनियाँलाई सुइँको न दिनु होला है !” तिनले अनुनय गरे | तर जब उनले आफ्नो नाउ समाते र आफ्नो पुरानो बाटो तताउदै थिए, त्यो ठाउँको बाटो नबिर्सियोस भनेर उनि ठाउँ ठाउँमा चिनो पनि लगाउदै फर्किए | आफ्नो गाउँमा पुग्ना साथै उनले गाउँ भरिका मानिसहरुलाई बोलाएर भए भरका कुरा बेली बिस्तार लगाए | उनको कुरा सुनेर गाउँलेले तत्कालै एउटा आधिकारिक टोली उक्त गाउँ पठायो माझीलाई साथ लगाएर | माझीले पहिला लगाएका चिनो पछ्याउने कोशिस त गरे तर जति जति अघि बढ्थे उति उति उनि यता कि उता भन्दै दोमन हुन पुगे | अन्ततः उनले बाटो पहिल्याउनै सकेनन् |

प्रकाण्ड विद्वान तथा धर्मात्मा भिक्षु लिउ जिचिले पनि यो कथा सुने र त्यो ठाउँ पत्ता न लगाई न छाड्ने संकल्प गरेर उनि त्यसको खोजीमा निस्किए | तर उनको सारा प्रयत्न बेकार भयो | बिरामी भएर उनको चाढै परम धाम भयो | त्यस यता ‘गढीका अन्वेषक’ देखा परेका छैनन् |

*थाओ युआनमिङ /थाओ छियान ((३७६-४२७) | चीनका प्रकाण्ड विद्वान तथा कवि |

टिप्पणी :

लगभग १,६०० वर्ष अघिको चिनियाँ सपना | यस सपनामा वर्णित यो ‘गढी’ स्वचालित समाज हो | यसको निर्माण पुर्व निर्धारित रुप रेखामा या कुनै ‘पुरुषार्थी’/ स्वप्नद्रष्टाको निर्देशनमा भएको होइन | अपितु दुःख सहन नसकेकाहरुले मिलेर बनाएको समाज हो | उनीहरु दुःखको संसार कहिल्यै फर्किन पनि चाहदैनन् | यसमा वर्ग, राज्य – प्राशासन, पार्टी, मुखिया/नेता जस्ता अधिरचना देखिदैन | उत्पादनको छेलोखेलो छ, स्वामित्व प्रणाली सार्वजनिक छ | समान जीवन स्तर छ | कृषि र गैर कृषिको, मानसिक र सारीरिक श्रमको भेद छैन | मेलापातबाट फर्केका मानिस र वाहिरका मानिसको पहिरन ‘ठ्याक्कै उस्तै’ छ | सामाजिक तथा भौतिक पुँजीको प्रचुरता छ – भब्य महलहरु, चारै तिर जोड्ने सडक छन् , संचार सुगम छ | सौन्दर्य संरचनाको यथेष्ट विकास छ – वर देखि पर सम्म आरु फुलेको छ, यत्र तत्र ऐसेलु र वेलिका लहरा – जता हेर्यो उतै रोमहर्षक | पिढीगत भेदभाव छैन -बुढापाका र बालबालिका प्रशन्न र सन्तुष्ट छन् | यो आदर्श गढी पुग्न निकै धेरै यात्रा गर्नु पर्छ | ‘प्रकाण्ड विद्वान तथा भिक्षु’ले चाहदैमा पनि त्यहाँ पुग्न सकिदैन, सही बाटो ठम्याउन पनि सक्नु पर्दछ | बाटो ठम्याए पनि सुरुमा त गल्छिड़ोबाट ‘छिर्न निकै हम्मे’ पर्छ ‘तर केही बेरको ठेलमठेल पछि’ (बल प्रयोग पछि) मात्रै छिर्न सकिन्छ | यो पछि मार्क्सले प्रक्षेपण गरेको साम्यवादी समाजसंग धेरै मिल्दोजुल्दो छ – यो काल्पनिक होईन वैज्ञानिक छ |
थमस मुरको ‘युटोपिया’ ‘सामन्ती युग’का सिमा भित्र रचना गरिएको छ | त्यसमा दासहरुको आरक्षण छ | त्यो विकासको दृष्टिकोणले निकै पछौटे छ | त्यो हस्तकलाकै चरणमा छ | त्यसमा वर्ग र निजि सम्पति पनि छन् | – अनुवादक |

(अनु. टंक कार्की)

१७ नभेम्वर 2017