अग्नि- परीक्षा ~~~~~

कविता

सान्ज घले प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६

सान्ज घले

निस्के विश्व-विजय अभियानमा
सुक्ष्म, अहंकारी COVID19
थेग्नै नसक्ने ती विस्फोटको शृङ्खला
ढल्दै गएको मानिसको देहको थुप्रो
खुल्ला चुनौती दिँदै छ उ
विश्व मानवको प्रविधि अनि शक्तिलाई
मानव अनि भाइरस बीचको संघर्ष
विश्व-युद्ध झैं परिणाम तर्फ उन्मुख
मानव दम्भलाई ललकार्दै COVID19
मानव-प्राणले तृप्त हुने उसको भोक
उदण्ड हुँदै गएको मान्छेको विवेकलाई
मानौं ठेगान लगाउने उद्घोषणा
स्वासमाथि कब्जा गरेर
मानिस परास्त गर्ने उसको नीति
जीवनको मोल सिकाउने
उसको त्यो क्रूर, निर्मम पाठशाला
अर्जित शिक्षा कार्यान्वयन गर्ने
मौका दिँदैन आई.सी.यू कक्ष
फुस्किन्दो स्वासलाई संचित गर्ने
भित्र-भित्रै क्षत-विक्षत मान्छेको प्रयास
एकान्तवासको छट्पटीमा अनुभव गर्दै
तीव्र गतिमा बढ्दो कालको पदचाप
धूमिल हुँदै गएको चेतनाको पर्दामा
अहिलेसम्मको जीवन स्मृतिलाई
आलो बनाएर हेर्न चाहन्छ अनि
धिक्कार्छ आफ्नो अनियंत्रित मनलाई
कति भयावह जीवनको त्यो भोगाइ
मृत्युको संघारसम्म पुग्दा
परिवारको साथको अभाव
आश्वासनको भाका, स्नेही स्पर्शको
तृष्णा बोकी त्याग्नु पर्ने प्राण
मृत्युलाई यसरी वरण गर्ने चाहना
कदापि पलाउने होला मानिसमा
तर्सिएको मन, अझै पनि समयलाई
आफ्नो पक्षमा उभिएको पाउँदै
भारी छ मानवमाथी अहिले COVID19
तैपनि टुङ्ग्याउनु छ उसको
नित्य नयाँ शरीरको शिकारको लालसा
जुरेको छ हामीलाई
‘लक-डाउन’ को सुरक्षित कवच
गरौं सबै मिली यसको सदुपयोग
पक्कै होइन यो कैद हाम्रो निम्ति
परीक्षा हो मान्छेको संयमको
होइन हाम्रो अहंकार को हार – ‘लक-डाउन’
सिकाउँदै पिल्सिएका राष्ट्र-आचरण पाठ
केहि समयावधिको अनुशासित मन
माग गर्दै वर्तमान परिस्थिति
सुन्ने प्रयत्न गरौं आफ्नै हृदयको याचना
जोगाएर राख मेरो गतिशीलता
जोगाएर राख मेरो गतिशीलता