घरमै बसेर सहयोग गरेकोमा सरकारको तर्फबाट सबैलाइ धन्यवाद: सञ्चारमन्त्री खतिवडा

प्रकाशित मिति : मङ्ल, चैत्र ११, २०७६

११ चैत, काठमाडौं । सरकारले आफ्नो आह्वानअनुसार घरमा बसेर सहयोग गरेको भन्दै जनतालाई धन्यवाद दिएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले धन्यवाद प्रस्ताव पास गरेको थियो ।

समितिले नै मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न रोक लगाएको थियो । त्यसअनुसार अत्यावश्यक काममा बाहेक मानिसहरु घरबाहिर निस्किएका छैनन् । मंगलबार बिहान घरबाहिर आएका केही मानिसलाई भने प्रहरीले सम्झाएर फर्काएको थियो ।

दिउँसो बसेको बैठकले सरकारले मागेअनुसार सहयोग प्रदान गरेको भन्दै जनतालाई धन्यवाद दिएको सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए । बैठकपछि उनले भने, ‘आफू पनि सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखौं भनेर सरकारले मागेका सहयोग प्रदान गर्नु भएको सरकारको तर्फबाट सबैलाइ धन्यवाद दिने निर्णय गरेका छौं ।’