नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमित फेला परेको पुष्टि-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित मिति : सोम, चैत्र १०, २०७६

१० चैत ०७६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमित फेला परेको पुष्टि गरेको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट हालै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोराना फेला परेको बताएका हुन् ।

मन्त्री ढकालले भने, ‘एक १९ वर्षीया महिलामा कोरोना भाइरस फेला परेको छ, उनी फ्रान्सबाट आएकी हुन् । तिनी विद्यार्थी हुन् ।’ उनले ती युवतीको नाम र ठेगाना नखुलाई यस रोगका विरुद्ध सबै एक जुट भएर लड्न आग्रह गरेका छन् । मन्त्री ढकालले १० दिनअघि पनि एक व्यक्तिमा कोराना भाइरस पोजिटिभ देखिएको तर अहिले उनको रिर्पोट नेगेटिभ आइसकेको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १ सय ८६ देश कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित रहेको छ भने संसारभर १४ हजार ६०० मानिसको ज्यान गइसकेको छ ।

विश्वभरीमा ३,४०,००० जनामा यो भाईरस रोग लागेको छ भने आजका मितिसम्ममा ९९००० जना निको भएका छन ।