सन्दर्भ २२ मार्च अन्तर्राष्ट्रिय पानी दिवस: सन्निकट छ महाबिनाश जोगिने हो भने गम्भीररुपमा सोचौं !

लोकनारायण सुबेदी

प्रकाशित मिति : आइत, चैत्र ९, २०७६

लोकनारायण सुबेदी

बिश्वका बैज्ञानिकहरुले बर्षाैंदेखि के गम्भीर चेतावनी दिदै आइरहेका छन् भने जलबायु परिवर्तनका कारण आउने दिनमा यो पृथ्वीमा मानिसहरु बाच्न नै अत्यन्त कठिन हुन जानेछ । बिश्वमा बिद्यमान अबस्थामा जलवायु परिवर्तन यसरी भइरहेको छ, जुन बितेको एक लाख बर्षमा पनि भएको थिएन । के मानिएको छ भने एक लाख २० हजार बर्षपहिला आखिरी पटक आर्कटिकको बरफ पग्लिएर समाप्त भएको थियो । कारण प्रचण्ड गर्मी बढेको थियो । धेरै धेरै बर्षपछि अब फेरि यस्तो स्थिति सन्निकट आइरहेको या आइसकेको बैज्ञानिकहरुले दाबी मात्रै गरेका छैनन्, गम्भीर चिन्ता पनि ब्यक्त गरेका छन् । क्याम्बिज्र बिश्व बिद्यालयका ’पोलर ओसन फिजिक्स’ समूहका प्रोफेसर पिटर बडहम्सले तीन बर्ष अघि २०१७ मा नै आजभन्दा पाच बर्षपहिला नै आर्कटिकबाट बरफ हराउने भबिष्यबाणी गरेका थिए । यस सम्वन्धमा उनको के दाबी पनि रहेको थियो भने २०१७÷१८ मा नै आर्कटिक समुद्रको सारा बरफ समाप्त हुनेछ ।
त्यसरी नै अमेरिकाको ’नेशनल आइस डाटा सेण्टर’को तर्फबाट केही बर्षपहिला लिइएका स्याटलाईट तस्वीरहरुले पनि यस तथ्यलाई थप प्रमाणित गरिदिएका हुन् । हुन पनि धु्रबीय इलाकामा तीब्र गतिले बद्लिदै गएको तापमानलाई नै यसको वास्तबिक कारण बताइदै आएको छ । बस्तुतः मानिएको के छ भने यसै कारणले बृटेनमा बाढी आइरहेको छ र अमेरिकामा बेमौसमी आँधीहरु आइरहेका छन् । यताका पछिल्ला नयाँ अध्ययन र अनुसन्धानहरुले पनि यस कुराको थप खुलासा गरिदिएका छन् कि २१औं शताब्दीको अन्त्यसम्ममा उत्तरी अफ्रिका र मध्य एशियामा जलवायु परिवर्तनका कारणले जनसंख्या पलायन हुनगई त्यो सम्पूर्ण क्षेत्र नै खाली हुने ठूलो सम्भावना रहेकोछ ।
उल्लेखनीय के छ भने झण्डै ५० करोड जनसंख्या रहेको मध्य एशिया र उत्तरी अफ्रिका मूलरुपमा गर्मी क्षेत्र हुन् । त्यस सम्पूर्ण क्षेत्रमा समान्यरुपले दिनमा तापमान ४० डिग्री तथा रातमा झण्डै २७ डिग्रीसम्म रहने गर्दछ । जर्मनीको ‘म्याक प्लेंक इन्स्टिच्यूट अफ केमेस्ट्री’ले गराएको एउटा अध्ययन पछि कुन तथ्यको खुलासा भयो भने यस शताब्दीको मध्यसम्ममा त्यहाँ रातीको तापमान ३० डिग्रीभन्दा तल जानेछैन । तर दिनको तापमान भने ४७ डिग्रीभन्दा माथि पुग्नेछ । यसको सोझो असर खाद्यान्न, प्राकृतिक संसाधन र मूख्यरुपले जल आपूर्ति अर्थात् पिउने पानीमा सबैभन्दा बढी पर्नेछ ।
अहिलेसम्म के स्पष्ट भइसकेको छ भने जलवायु परिवर्तको घातक असर बालीनालीमा पर्न थालेको छ । अब बालीनालीमा ’हाइड्रोजन सायनाइड’ जस्ता रसायनहरुको असर दिन प्रतिदिन बढ्दै नै गएको छ । यसले गर्दा बालीनाली बिषालु हुँदै गएका छन् । सुख्खा, चर्को गर्मी तथा बेमौसमी बर्षा जस्ता कठोर मौसमको कालखण्डमा उत्पन्न हुने गरेका बालीनालीमा हाइड्रोजन सायनाइड जस्ता खतरनाक रसायनहरुको अंश पाइएका छन् ।
यथार्थमा जस्तो किसिमले मानिसहरुले कठोर मौसममा स्वयमलाई बेहद असहज महसुश गर्दछन् त्यसरी नै बालीनालीले पनि सुख्खाको स्थितिमा असमान्य प्रतिकृया जनाउँदछन् । सामान्य अबस्थामा हुने के गर्दछ भने बोट बिरुवाले माटोबाट ’नाइटे्रट’ लिएर त्यसलाई पोषक तत्व ’एमिनो एसिड’ र प्रोटिनमा परिणत गरिदिन्छन् । तर सुख्खाको बेला यो प्रकृया एकदमै मन्द हुनजान्छ या लामो समयसम्म सुख्खा रहनुका कारणले यो प्रकृया हुने नै गर्दैन । अहिलेनै अबस्था यतिसम्म खराब भइसकेको छ भने मकै, गहुँ, जुवार, भटमास, सनपाट आदि र यस्तै खालका अन्य बालीनालीहरुमा यी बेहद बिषालु रसायनहरुको पहुँच खतरनाक स्तरसम्म पुगिसकेको छ । धेरैजसो देशहरुमा यसको उपयोग किट पतङ्गलाई मार्नका लागि गर्ने गरिन्छ ।
बस्तुतः सुख्खाबाट प्रभावित बालीनाली अचानक बर्षा हुँनजाँदा तीब्र गतिले बढ्ने गर्दछन् । त्यस अबस्थामा तिनमा बिद्यमान नाइटे्रट हाइड्रोजन साइनाइडमा परिणत हुन जान्छ । हाइड्रोजन साइनाइड जब मानिसको शरीरमा पुग्दछ तब त्यसले अक्सिजनको सञ्चार प्रणालीलाई ब्यबधान पुराए नोक्सान गर्दछ । यसले स्वास्थ्यमा कति गम्भीर परिणाम ल्याउँदछ केवल अनुमान गर्न मात्र सकिन्छ । यसका अतिरिक्त आज बोट बिरुवाहरुमा ‘आफ्लाटक्सिन’ नामको रसायनको मात्रा पनि तीब्र गतिले बढिरहेको छ । यसबाट प्रभावित खाद्यान्न खानाले कलेजो खराब हुन सक्तछ, अन्धोपनको बिमारीको प्रकोप बढ्न सक्तछ र गर्भस्थ शिशुको बिकासमा पनि गम्भीर अबरोध पैदा गरिदिन्छ ।
‘यूनाइटेड नेशन इन्भारोनमेण्ट एसेम्बली’मा प्रस्तुत प्रतिबेदनमा थप के कुराको पनि खुलासा गरिएको छ भने यो ‘आफ्लाटक्सिन’ रसायनबाट प्रभावित बालीनालीको घेरामा बिकासशील देशहरुको झण्डै ४.५ अर्बभन्दा बढी जनसंख्या परेको छ । यदि तापमानमा अहिलेकै गतिले बृद्धि हुँदै रह्यो भने यूरोप(जहाँ अपेक्षाकृत कम तापमान रहन्छ) मा जुन बालीनाली हुन्छ त्यो पनि यस बिषालु रसायनबाट जोगिन सक्नेछैन । यस गम्भीरतम स्थितिको सामना गर्नका लागि बिश्वभरी नै कठोर र प्रतिकूल मौसम सहन गर्न सक्षम बिउहरुको बिकास गरिदैछ । यसका अतिरिक्त मौसमी बालिनाली लगाउनका लागि पनि जोड दिइदैछ । यस्तो अबस्थामा के अत्यावश्यक छ भने पृथ्वीका मानिस सबैले पर्याबरण बचाउने, जोगाउने र कायम राख्ने दृढ संकल्प गरेर यसका लागि ज्यूज्यान लगाएर युद्ध स्तरमा जुट्नु बाहेक अरु कुनै बिकल्प छैन । महाँसर्बनाश सन्निकट छ । के गर्ने हो समय नभिड्किदै अत्यन्तै गम्भीररुपमा सोचौं र अघि बढौं !