यातायात मजदुर संघ तथा व्यवसायीद्वारा निःशुल्क मास्क र सेनिटाइजर वितरण

कोरोना भाइरस बिरुद्धको अभियान

प्रकाशित मिति : शनि, चैत्र ८, २०७६

८ चैत ०७६, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समिति, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट इकाइ कमिटी तथा व्यवसायीले सर्वसाधारणलाई ५ हजार माक्स र सेनिटाइजर निःशुल्क वितरण रेको छ । विश्वभर महामारीको रुपमा नोवेल कोरोना भाइरस (कोभिड १९) फैलिरहेको र बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भइरहेको बेला अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समिति, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट इकाइ कमिटी साथै अरनिको यातायात प्रा.लि.द्वारा काठमाडौंको पुरानो बसपार्कमा यातायात मजदुर, यात्रु, पसल व्यवसायी र सर्वसाधारणलाई निःशुल्क माक्स र सेनिटाइजर वितरण गरिएको हो । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि जुनसुकै बेला भित्रने र महामारीको रुपमा फैलने सन्त्रासले नेपाल सरकारले आम नागरिकहरुलाई सावधानी अपनाउन अनुरोध समेत गरेको छ । अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्कीका अनुसार सरकारले चैत्र १० गतेदेखि सेमी लक डाउनको घोषणा गरिसकेको अवस्थामा कोरोना भाइरसको उच्च जोखिम रहेको सार्वजनिक सवारी साधनमा कार्यरत यातायात मजदुर, यातायात व्यवसायी, आम उपभोक्ता सर्वसाधारणलाई सचेतना फैलाउँदै संगठनले निःशुल्क मास्क र सेनिटाइजर वितरण गरेर उदाहरणीय कार्य गरेको बताए । अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष दिपक के.सी.को अगुवाइमा भएको मास्क र सेनिटाइजर वितरण कार्यक्रममा पूर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष चित्र कुँवर लगायत पदाधिकारीको उपस्थित रहेको थियो । त्यस्तै सो कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघ अरनिको विषेश जिल्लाका अध्यक्ष श्रीकृष्ण खत्री र नेपाल यातायात स्वतन्त मजदुर संगठन अरनिको रुट इकाइ कमिटीका अध्यक्ष राम ढुंगानाको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष दिपक के.सी.ले कोरोना भाइरस संक्रमण हुन्छ कि भनेर आत्तिनु भन्दा सावधानी अपनाउनु उचित हुने भन्दै यसको सबै मिलेर सामना गर्नुपर्ने बताए । उनले हाम्रो बानी व्यवहारलाई परिवर्तन गरी सचेतनामुलक कार्यक्रममार्फत् आफू बाँच्ने र अरुलाई पनि बचाउनेतिर सबैको ध्यान दिनु पर्नेमा जोड दिए । पुरानो बसपार्कबाट सुरुभएको यो अभियान भोलि कोटेश्वरबाट गरिने पनि उपाध्यक्ष दिपक के. सी.ले जानकारी दिए ।