कालोबजारी गर्नेमाथि कडा कारबाही: चैत ९ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा

प्रकाशित मिति : शुक्र, चैत्र ७, २०७६

काठमाडौं । कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द गर्ने घोषणा गरेको छ ।
नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन बन्द गर्ने निर्णय गरिएको पनि जानकारी दिए ।

मानिसको भीडभाड हुने सिनेमा हल आदि बन्द गरिनुका साथै विद्यालय र विश्वविद्यालयको पठन पाठन र परीक्षा स्थगित गरिएको पनि उनले जानकारी दिए ।

सरकारले कृत्रिम अभाव गर्ने गराउनेलाई कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको यस्तो संवेदनशील अवस्थामा कालोबजारी गर्नेलार्य कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

यो असहज अवस्थालाई सामान्य बनाउन सरकार प्रयत्नशील रहेको पनि उनले बताए ।