भयाबह भाइरसको महामारी र बिश्व अर्थतन्त्रको भबिष्य- लोकनारायण सुबेदी

प्रकाशित मिति : मङ्ल, चैत्र ४, २०७६

चीनको हुबै प्रान्तको वूहानबाट फैलिन शुरु भएको कोरोना भाइरसको कहर आज बिश्वभरी नै अर्थात् बिश्वका १५३ देशमा फैलिसकेको छ । यसले यसरी बिश्वभरीका देशहरुमाथि जीवन मरणको सन्त्रास मात्रै फैलाएको छैन बिश्व अर्थन्त्रलाई पनि नराम्रोसँग थला पार्ने स्थिति आज बन्दै गएको छ । यस प्रकार यो भयावह भाइरसले मानिसलाई मात्रै रोगी बनाएको छैन अर्थतन्त्रलाई पनि नराम्रोसँग बिमारी बनाउन उद्यत छ । फलतः बिश्वभरीकै अर्थतन्त्र अब मन्दीको शिकार बन्न थालेको र कोरोना भाइरसको असरबाट बिश्वमा उत्पादन, बितरण, बजार र ब्यापार लगायतको अध्ययन गरिरहेका अनुसन्धानकारी संस्था र बिज्ञहरुले औंल्याउन थालेका छन् । यो घातक भाइरस महामारीको असर मानिसको स्वास्थ्यमा मात्र परिहेको छैन अर्थब्यवस्थाको स्वास्थ्यमा पनि नराम्रोसँग असर पर्न थालेको छ ।
यस सम्वन्धमा आर्थिक सहयोग तथा बिकास संगठन (ओईसीडी)ले गएको मार्च ९ तारिखका दिन एउटा बिशेष प्रतिबेदन प्रकाशित गर्दै भनेको छ कि कतिपय देशहरुमा कोभिड—१९ भाइरस फैलिनाले बिश्व अर्थब्यवस्थाको बिद्यमान त्रैमासिक स्थिति ठूलो धक्का या झट्काका बीचबाट गुज्रिन सक्तछ । यो यस अघि २००८मा आएको बिश्वमन्दीपछिको पहिलो ठूलो मन्दीको घटना हुनजाने छ । हुन त यस सम्बन्धमा २०२० को लागि ओईसीडीले बिश्व आर्थिक बृद्धिको आफ्नो अनुमानलाई करीब आधा प्रतिशत मात्रै घटाएको छ, तर यसले के पनि भनेको छ भने यदि कोरोना भाइरस बिश्वमा ब्यापकरुपमा फैलिन गयो र गर्मीमा पनि यसको असर कायम रहिरह्यो भने यो बृद्धि २.९ प्रतिशतको अनुमानको झण्डैझण्डै आधा अर्थात् १.६ प्रतिशतसम्म पुग्नसक्ने छ ।
बिश्व बैंकले त ओईसीडीको यो प्रक्षेपण भन्दा पहिला नै कोरोना भाइरसको कारणले बिश्वको बृद्धि दर(ग्रोथ रेट)मा एक प्रतिशतसम्मको गिरावटको सन्देह गरिसकेको थियो । यस घातक कोरोना भाइरसको कारणले बिश्वका दुइ सबैभन्दा ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाको कारोबारमा आज ठूलो सुस्ती छाएको र गहिरिदै गएको छ । यसको असर सम्पूर्ण बिश्वमा नै पर्न जाने कुरा निश्चित छ । बास्तवमा चीन बिश्व स्तरमा नै बिभिन्न माल सामान(कमोडिटी)हरु किन्ने सबैभन्दा ठूलो क्रेता हो । चीनमा मागमा आएको कमीका कारण बिश्व स्तरमा कच्चा तेल, तामा, भटमास, जस्ता कतिपय उत्पादन सस्तो हुन जान्छन् । तर जुन देशका अर्थब्यबस्थाहरु चीनबाट ती चीजहरुको आपूर्ति गर्ने कुरामा निर्भर छन् खाशगरी तिनको र बिशेषतः ल्याटिन अमेरिकी देशहरुको अबस्था अझ खराब हुन जाने सम्भावना बढी छ ।
यस सम्वन्धमा अर्थतन्त्रका बिभिन्न प्रबृत्तिहरुको अध्ययन गर्ने प्रसिद्ध एक बिश्लेषक संस्था मुडिज एनालिटिक्सले आफ्नो ताजा प्रतिबेदनमा भनेको छ कि कोभिड — १९ सँग सम्बन्धित खबरहरु र आशंकाहरुका कारणले गर्दा बिश्वभरीको पर्यटन र त्यससँग सम्वन्धित बिभिन्न उद्योग धन्धाहरु प्रभावित भइरहेका छन् । यतिबेला चीनको पर्यटन कारोबार पूर्ण रुपले ठप्प नै छ । बिदेशी उडानहरु कुनै पनि चीन गइरहेका छैनन् भने क्रूज(पानी जाहाजका) यात्राहरु पनि यति बेला रद्द र स्थगित भएका छन् । अर्कोतर्फ ३० लाख जति चीनीया यात्रीहरु जो हरेक बर्ष अमेरिका घुम्न जाने गर्दथे त्यो पनि रोकिएको छ ।
इटलीमा ब्यापकरुपमा फैलिएको कोभिड—१९ भाइरसको बिमारीले पर्यटकहरु अब यूरोप जान पनि हिच्किचाउन थालेका छन् । त्यसले गर्दा त्यहाँको पर्यटन उद्योग प्रभावित भएर लडखडाउन थालेको छ । प्रतिबेदनमामा के पनि भनिएको छ भने चीनमा कारखानाहरु बन्द भएकाले एप्पल, नाइकी तथा जनरल मोटर्स जस्ता ठूला कम्पनीहरु पनि प्रभावित भएका छन् । यसले गर्दा स्वतः नै मालसामानको कमी हुने र महँगी बढ्न जाने कुरा पनि सँगसँगै आउँदछ । माल सामानहरुको यसरी कमीका कारणले अमेरिकामा वाल मार्ट र अमेजन स्टोरहरुमा आउदो एक दुइ महिनाभित्र सबै माल सामानहरुको मूल्य बढ्न जाने निश्चित जस्तै छ भनिन्छ । अमेरिकाको बिकास दर २०२० मा ०.२ प्रतिशतको गिरावटकासाथ १.७ प्रतिशत रहन जाने अनुमान गरिएको छ ।
यो महामारीले गर्दा चीन र अमेरिकासित झण्डै एकतिहाईभन्दा बढी ब्यापार भएको भारतलाई पनि निकै ठूलो आर्थिक संकटमा पार्ने देखिन्छ । बास्तवमा चीनबाट आयात गरिने जुन बस्तुहरुमाथि भारतको औद्योगिक क्षेत्र निर्भर छ त्यसमा अहिले नै कमी र अभाव समेत हुन थालेको छ र कठिनाई आरम्भ भइसकेको छ । त्यहाँ कच्चा मालको कमी र उत्पादन लागत बढ्ने भएपछि त्यसले निर्यातमा पनि कठिनाई उत्पन्न गर्दछ । यद्यपि कतिपय अर्थशास्त्रीहरुले कोरोना भाइरहसको असरले भारतीय अर्थब्यवस्था बिथोलिने कुरा अहिले नै गर्नु अपरिपक्क हुने दाबी पनि गरेका छन् । तर आजको बिद्यमान स्थितिले धेरै कुरा प्रष्ट पारिसकेको छ ।
जहासम्म नेपालको अर्थब्यवस्थाको प्रश्न छ सानो अर्थतन्त्र भएको हाम्रो देश पहिलादेखि नै परनिर्भताको अनन्त पासोमा परिसकेको छ । यसले गर्दा कोरोना भाइरसले उत्पन्न गरेको अतिरिक्त समस्यासँग जुध्न पनि बिदेशकै मुख ताक्नु पर्ने नाजुक स्थितिबाट हामी गुज्रिरहेका छौं । नेपाल भ्रमण बर्षले नेपालको अर्थतन्त्रलाई तंग्रिन मद्दत पुग्ने जुन आशा गरिएको थियो त्यो पनि कोरोना भाइरसको बिश्वब्यापी प्रकोपले गर्दा भ्रमण नै रद्द गर्नु पर्ने स्थिति आयो । चीनले नेपाललाई यो रोगको सामना गर्न सबै किसिमको सहयोग गर्ने बचन बद्धता जाहेर गर्नु नेपालको यो नाजुन स्थिति, कमजोर अर्थतन्त्र र कोरोना प्रकोपको स्थिति देखेर नै भनेको हो भन्ने बुझ्न कठिन छैन । यो थप अप्रत्याशित समस्यासँग जुध्न र साबधान हुन त पर्ने नै भयो । तर सरकारका मन्त्रीहरुको कोरोना भाइरसका बिमारी जनतालाई सरकारले सहयोग गर्न सक्तैन भन्ने असम्बेदनशील कथनले कोरोना भाइरसको सन्त्रासमा परेको आम नेपाली जनताको आलो घाउमा नुनचुक लाउने जस्तै कुरा भएको छ । ब्यबहारमा सरकारले केही गर्न सक्ने स्थिति नहुँदो हो पनि तर लाजै पचाएर संबेदनाहीन कुरा गर्नुपर्ने लाचारी प्रकट गर्ने सरकारले जनताको बिश्वास गुमाउने बाहेक अरु केही हुदैन ।
अरु देश कोरोना भाइरसको प्रकोपलाई न्यून गर्न र जनतालाई यसको मारबाट जोगाउन जसरी लागेका छन् त्यसबाट सिकेर जनतालाई जोगाउन हरसम्भव प्रत्यन रातोदिन गर्न तत्पर हुनु पर्ने र जनतालाई आश्वस्त पार्नु पर्नेमा जस्ता किसिमका गैर जिम्मेवार कुराहर सरकारी ओहोदाधारीहरुबाट सुन्नु परिरहेको छ त्यसले जनताप्रतिको तिनको बेवास्तालाई नै प्रष्टतः प्रकट गर्दछ । यस्तो स्थितिमा यो भयावह भाइरसले अर्थतन्त्रलाई पार्ने असरबाट जोगिन नेपालले तत्कालीन र दीर्घकालीन उपयोगी आर्थिक उपायहरुको खोजी गर्ने तत्परता, सक्रियता र मेहनत यस्तो सरकारले गर्ला भनेर आश्वत र बिश्वस्त हुने स्थिति छैन । कोरोना बारे संसदमा सार्बजनिक प्रस्तावको छलफल पनि झारा टार्ने किसिमको मात्र भएको देखिएकै हो ।
जनताको जिउ धन र राष्ट्रले ब्यहोर्नुपर्न गम्भीर क्षतिप्रति यस्तो आसन्न स्थितिलाई हल्का र लपरबाही किसिमले लिने र ब्यवहार गर्ने गतिबिधिले यो महामारीले पार्ने तत्कालीन र दीर्घकालीन असरको सही समाधान गर्ला भनेर ढुक्क बस्न सकिने स्थिति बिल्कुलै छैन । बास्तवमा यो एउटा डरलाग्दो स्थितिको द्योतक हो ।