अन्टुफ–जिफन्ट एकताले छिट्टै पूर्णता पाउँदै- उपाध्यक्ष जय कार्की

ANTUF Publication Department प्रकाशित मिति : बिहि, फाल्गुन १५, २०७६

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष जय कार्कीले अन्टुफ–जिफन्ट एकताले छिट्टै पूर्णता पाउने बताएका छन् ।

बुधबार बागमती प्रदेशको बैठकमा महासंघ प्रदेश इन्चार्ज समेत रहेका उपाध्यक्ष कार्कीले अन्टुफ–जिफन्ट एकता अब कसैले चाहेर नलम्बिने बताएका हुन् ।

उपाध्यक्ष कार्कीले अन्टुफ–जिफन्ट एकताका लागि प्रदेश मातहतका महासंघ र पेशागत कमिटीहरूको अद्यावधिक रिपोर्ट र तथ्याङ्क फागुन २० भित्र प्रदेश कार्यालयमा जम्मा गरिसक्न निर्देशन दिँदै सचिवालय बैठकको निर्णयअनुसार भएका प्रगतिको प्रशंसा गरेका छन् ।

उनले एक फरक प्रसङ्गमा नेपाली ट्रेड युनियनकर्मी र मजदुरहरूले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) र नेपालको सीमाका सवालमा बोल्नु पर्ने बताएका छन् ।

नेपालको राष्ट्र हित विपरीत रहेको एमसीसी र भारतद्वारा अतिक्रमित भूमिका सवाल दिन प्रतिदिन पेचिलो बन्दै गएकाले राष्ट्रघाती, जनघाती सन्धि तथा सम्झौताहरूको खुलेर बिरोध गर्नुपर्ने उनले जोड दिए ।

महासंघको केन्द्रीय कार्यालय पेरिसडाँडामा महान् जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल लगायत सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सुरूभएको बैठकमा बागमती प्रदेश अन्तर्गतका रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीका जिल्ला महासंघ र पेशागत संगठनका अध्यक्षहरूले जिल्ला र स्थानीय तहका सांगठनिक रिपोर्टिङ प्रस्तुत गरेका थिए ।

बागमती प्रदेश अध्यक्ष पिताम्बर गिरीको अध्यक्षता साथै महासंघका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश ३ इन्चार्ज जय कार्कीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकमा महासंघका उपाध्यक्ष सोम बहादुर थापा, उपमहासचिव प्रकाश श्रेष्ठ र कोषाध्यक्ष घनश्याम ठकुरीको आतिथ्यता रहेको थियो ।