सहिद परिवारको नजरमा गिर्ने गरेर काम नगर्ने अन्टुफ अध्यक्षको प्रतिवद्धता- शरद सुवेदी

प्रकाशित मिति : सोम, फाल्गुन १२, २०७६

११ फागुन ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले १९औं मजदुर बलिदानी दिवस देशैभर भव्यताका साथ मनाएको छ ।

२०५८ साल फागुन ११ गते कालिकोट जिल्लाको कोटवाडा विमानस्थल निर्माणमा खटिएका धादिङ्गका १७ जना निर्माण मजदुरहरूलाई तत्कालिन ‘शाही नेपाली सेना’ले माओवादी भएको आरोपमा निर्माण स्थलमा नै हेलिकप्टरबाट बम खसाएर हत्या गरेको थियो । त्यसै दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ११ गते अखिल नेपाल टे«ड युनियन महासंघले मजदुर बलिदानी दिवस मनाउँदै आइरहेको छ ।

सोही अवसरमा महासंघ केन्द्रले केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बेपत्ता योद्धा उमेश शेंढाईकी जीवन संगिनी उषा देवकोटा, शहीद सम्भु पौडेलकी जीवन संगिनी रञ्जना पौडेल लगायतलाई कार्यक्रमका सभापति जगत सिंखडा प्रमुख अतिथि नेपालकम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश व्यूरो इन्चार्ज लिलामणी पोख्रेल, नेकपाका केन्द्र्रीय सदस्य कुमार पौडेल, महासंघका उपाध्यक्ष जय कार्की लगायतले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा शहीद तथा वेपत्ता योद्धाहरूको फोटोमा अतिथिहरू लगायत कार्यक्रमका सहभागीहरूले माल्र्यापण गर्नुभएको थियो । देशैभरका मजदुर शहीद तथा वेपत्ता योद्धाहरुको सम्झनामा आज अखिल नेपाल टे«ड युनियन महासंघका सातै प्रदेश समितिहरुले विभिन्न कार्यक्रम गरेर मजदुर शहीद तथा बेपत्ता योद्धाहरूको परिवारलाई सम्मान गर्दै मजदुर बलिदानी दिवस मनाएको हो ।

महासंघ केन्द्रीय कार्यालय कोटेश्वरमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती व्यूरो इन्चार्ज लिलामणी पोखरेलले सरकार परिवर्तन भए पनि सरकारका उपरिसंरचनाहरूको परिवर्तन नभएको बताउँदै शहीद तथा बेपत्ता योद्धाहरुले उपरिसंरचना र आधार दुबैबाट राज्यसत्ताको परिवर्तनको लागि शहीद तथा बेपत्ता योद्धाहरुले आफूलाई आहुति दिनुभएको बताउनु भयो ।

उहाँले जनयुद्ध नभएको भए आजको यो परिवर्तन नै नहुने बताउँदै जनताले संविधान सभामार्फत ल्याएका परिवर्तनहरू जनताको पक्षमा प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो । यस्तै एक फरक प्रसंगमा उहाँले पार्टी एकीकरण प्रक्रिया छिटो भन्दा छिटो टुङ्गगाएर अगाडि बढ्नु पर्ने भन्दै क्रान्तिकारी संस्कृति निर्माणको लागि मजदुर वर्गले सशक्त भूमिका खेल्नुपर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य कूमार पौडेलले मजदुर किसानहरु कम्युनिष्ट पार्टीको आधारभुत शक्ति भएको हुनाले पार्टीलाई बुर्जुवाकरण हुनबाट जोगाउन मजदुर किसानहरुले नै महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले शहीद सम्भु पौडेलसँगका स्मृतिहरुलाई स्मरण गर्दै शहीद सम्भु पौडेलको क्रान्तिकारी जीवनशैली र संगठन निर्माण गर्ने कलाको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले जनयुद्धको भावनालाई स्मरण गर्दै आजको पार्टी देखेर हामी कतै गलत बाटो हिँडेको त छैनौं भन्ने लागिरहेको बताउँदै सहिद परिवारको नजरमा गिर्ने गरेर काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुृभएको थियो ।

अखिल नेपाल टे«ड युनियन महासंघका उपमहासचिव शालिकराम काफ्लेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सभापति अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले गर्नुभएको थियो भने कार्यक्रममा अतिथि तथा सहभागीहरुलाई स्वागत मन्तव्य महासंघका अर्का उपमहासचिव प्रकाश श्रेष्ठले गर्नभएको थियो ।

कार्यक्रममा जनकलाकार लक्ष्मी गुरुङ्ग लगायतले जनयुद्ध तथा सहिदहरुसँग सम्बन्धित विभिन्न सांगितिक प्रस्तुतीहरु पस्किनुभएको थियो ।