नेकपा नेतृत्व अध्यक्षद्वयलाई एमसीसी कार्यदलले प्रतिवेदन बुझायो

प्रकाशित मिति : शनि, फाल्गुन १०, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एसीसी)को अध्ययन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयलाई बुझाएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन पार्टीलाई बुझाएपछि एमसीसीका सम्बन्धमा के निर्णय गर्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गर्नेछ । कार्यदल सदस्य भीम रावलले पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरेअनुसार हुने बताए । कार्यदलले एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत रुपमा सुझाव दिएको छ ।

पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाएपछि थप दश दिन म्याद थप गरेको थियो ।