फागुन एक: गौरवमय इतिहास बोकेको एक युगको एक दिन

सोम बहादुर तामाङ्ग

प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६

काठमाण्डौँ । आज फागुन १ गते अर्थात् जनयुद्ध दिवस । आज भन्दा ठिक २४ वर्ष अगाडि आजैका दिन नेपालको राजनीतिक परिर्वतनको शंखघोष गरिएको दिन थियो । त्यस पछाडिको पूरै एक दशक नेपालको राजनीति जनयुद्धको वरिपरि नै रह्यो । केन्द्रीकृत शासन प्रणालीबाट उत्पीडित नेपाली समाजमा जनयुद्धको प्रभाव बिस्तार बढ्दै गयो । तात्कालिन नेकपा (माओवादी) पार्टीले आफ्ना तिनै अंग जनसरकार, जनसेना र जनअदालतको अभ्यास ग¥यो । जनयुद्धको सुरुवात गरेको छोटो समयमा नै देशभरि ग्रामीण इलाकामा पार्टी बिस्तार भयो । हजारौं, हजार युवाहरु जनसेनामा भर्ना भए र तत्कालिन विद्रोही पार्टीको निर्देशनमा शहीद हुन तयार भए ।

यता संसदीय राजनीतिमा भएका बिकृत घटनाहरुले आम राजनीतिमा सर्वसाधारण मानिसहरुलाई बितृष्णा पैदा भइरहेको थियो । सोही समयमा दरबार हत्याकाण्ड भयो र ज्ञानेन्द्र शाह राजा भए । त्यस पश्चात् उनले कार्यकारी अधिकार आफैँमा निहित राख्न खोजे, तत्कालिन ७ राजनीतिक दलले निरंकुश राजतन्त्रको विरोधमा आन्दोलनको शुरुवात गरे । जब पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालिन शाही नेपाली सेनाको बलमा शासन सञ्चालन गर्न खोजे, तब सात राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई नजरबन्द गरे । तत्कालिन ७ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई जब निरंकुश राजतन्त्रले आफ्नो पञ्जामा पार्न थाल्यो, त्यस पश्चात तत्कालिन विद्रोही पक्ष नेकपा (माओवादी) र सात राजनीतिक दलका बिचमा १२ बुँदे सहमति कायम भयो । त्यही १२ बुँदे सहमतिको जगमा १९ दिने जनआन्दोलन सम्भव भयो र आजको नयाँ नेपाल निर्माण भयो । यसर्थ, आज भन्दा ठिक २४ वर्ष अगाडिको फागुन १ आजको नेपालको शंखघोष गरेको दिन हो । आज हामीले जुन राजनीतिक परिवर्तनलाई नेपालको संविधान मार्फत् संस्थागत गरेका छौं, त्यही राजनीतिक उद्देश्य प्राप्तिका लागि शसस्त्र संघर्षको कठिन यात्राको थालनी गरेको दिन हो । त्यसैले फागुन १, फगत मात्र २४ घण्टाको दिन होइन््, यो एक गौरवमय इतिहास बोकेको एक युगको एक दिन हो ।

यो गौरवमय इतिहास त्याग र बलिदानिले भरिएको थियो । युद्धको एसल्ट मोर्चामा लडाई गर्न प्रतिस्पर्धा हुन्थ्यो । राजनीतिक उद्देश्य प्राप्तिका लागि जस्तो सुकै त्यागलाई सहर्ष स्वीकार गरिन्थ्यो । यस्तो लाग्थ्यो पूरै सर्वहारा वर्ग एउटै परिवार थियो । शहिदको छोरा, छोरी श्रीमती पार्टीमा जोडिने वातावरण बन्थ्यो । नेताहरुले आफ्नो व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्नुभएको थियो । आर्थिक रुपमा समतामूलक समाज निर्माण गर्ने महान् उद्देश्य बोकेको थियो जनयुद्धले । जनयुद्धको एउटा एसल्टमा बिजय प्राप्त हुँदा पूरै देशैभरि खुसीको सञ्चार हुन्थ्यो, कुनै एउटा एसल्टमा क्षति पुग्दा पूरै देशभरिको पार्टी शोकमा डुबेको हुन्थ्यो ।

वर्ग बैरीप्रतिको घृणाभावले वर्गप्रतिको मायालाई बिम्बित गर्दथ्यो, त्यसैले सबै नेता, कार्यकर्ता, जनसेना, मिलिसिया पार्टीको सबै तह र तप्कामा एउटै बुझाई बन्दथ्यो । जब बुझाईमा एकरुपता आउँथ्यो, त्यसले प्रभावकारी परिणाम ल्याउँथ्यो । त्यसैले १ फागुन राष्ट्र र जनताप्रतिको त्याग र बलिदानीको भावनाले ओतप्रोत गौरवमय इतिहास बोकेको एक युगको एक दिन हो ।

जनयुद्धका समयमा देशभरिको पार्टी एउटा परिवार जस्तै थियो, नेतृत्व र कार्यकर्ताको बीचको दुरी असाध्यै कम थियो, बिश्वासको दरिलो वातावरण थियो । वर्गप्रतिको प्रेम र वर्ग वैरीप्रतिको द्वेयस उच्च थियो । फागुन १ ले फेरि १ पटक पार्टीको वर्गप्रतिको प्रेमलाई स्मरण गराइरहेको छ । मजदुर किसानका समस्याहरुलाई आज प्राथमिकतामा राखेर हल गर्नुपर्ने, दलित, जनजाति, महिला, भौगोलिक क्षेत्रले पछाडि पारिएका आदिवासी, आदि क्षेत्रको विकास तथा समानुपातिक सहभागितालाई सुदृढ पार्दै राज्यका सबै तहमा समान सहभागितालाई सुनिश्चित गर्नु पनि फागुन १ को सन्देश रहेको छ ।

फागुन १ ले महान् शहीद तथा बेपत्ता योद्धाहरुलाई पनि स्मरण गराइरहेको छ । जनयुद्धका क्रममा राज्य पक्षबाट र विद्रोही पक्षबाट हजारौं मानिसहरुले आफ्नो भौतिक शरीर गुमाएका छन् । हजारौं अझै पनि बेपत्ता छन् र हजारौं अहिले पनि जनयुद्धको क्रममा अंगभंग भएर बाँचिरहेका छन् । यी सबैको सपना सुन्दर नेपाल नै हो, समृद्ध नेपाल र सुखी नेपालीको सपना नै हो । समृद्ध नेपाल र सुखी नेपाली भित्र नै आजको समाजवादको सुन्दर परिकल्पना छ । तत्कालिन सशस्त्र विद्रोही नेकपा माओवादी आज दुई तिहाई जनताको समर्थनमा नेपाल कम्युनिष्ट पार्टी बनेको छ, हिजो जनसत्ता सञ्चालन गरेको पार्टीसँग आज दुई तिहाई नजिक रहेको बहुमतसहितको राज्य सत्ता छ । हिजो छापामार शैलीमा राष्ट्रियता र जनजिविकाको वकालत गर्ने राजनीतिक शक्तिसँग आज पूरै सेना, अदालत, पुलिस, कर्मचारी तन्त्र छ, सबै छ । सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारेको छ । यद्यपि जनतामा हिजोको त्यो अजय शक्तिको हातमा सत्ता पुगेको महशुस गर्न सकिरहेका छैनन् ।

फागुन १ ले जनजीविका र राष्ट्रियतालाई स्मरण गराउँछ । आज हामी हाम्रो मौलिक संस्कृति भन्दा बाहिर पुगेका त छैनौ ? पूँजी र प्रविधिको भूमण्डलीकरणका नाममा हाम्रो जन जीवन, पारिवारिक संरचना, हाम्रा साँस्कृतिक चाडपर्वहरु कतै हराउँदै गएका त छैनन्, यसलाई बचाउने दायित्व पनि हाम्रै हो । आज देशको सिमाना मिचिएको छ, आर्थिक अनुदानका नाममा अमेरिकाले नेपालको सार्वभौम सत्तामाथि नै धावा बोलिरहेको परिस्थितिमा फागुन १ को स्मरणले फेरि राष्ट्रियता, जनतन्त्र र जनजीविका सवाललाई पनि घच्घच्याएको छ ।

अन्तमा, फागुन १ गते आजको नेपालको शिलान्यास गरिएको दिन, गौरवपूर्ण इतिहास बोकेको दिन, हजारौं महान् सहिद बेपत्ताहरुको जीवनसँग जोडिएको दिन, भोलिको नेपालको सुन्दर भविष्य कोरेको गौरवमय इतिहास बोकेको एक युगको एक दिन हो । यही दिनको गहिरो स्मरण गर्दै आम श्रमजीवी मजदुरहरू योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न, गराउन सरोकारवालालाई दबाब सिर्जना गर्न साथै देश विदेशमा रहनु भएका आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू समाजवादी राज्य व्यवस्था स्थापनार्थ एकजुट भई अघि बढौं, जनयुद्ध दिवसको शुभकामना !

लेखक, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव हुनुहन्छ ।