नेपाल र चीन भाइ भाइ हुन्, असल मित्र अप्ठ्यारोमा मात्र चिनिन्छ : राजदूत यान्छी

प्रकाशित मिति : बुध, माघ २९, २०७६

काठमाडौं । नोबल कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाण्डौमा ‘हामी साथमा छौँ’ कार्यक्रम आयोजना गरिएको छ ।

ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको कार्यक्रममा नेपाल र चीनको झण्डा बनाइ मैनबत्ती बालेर ‘हामी साथमा छौँ’ भन्ने सन्देश दिइएको थियो । त्यस्तै ‘सांगीतिक र साहित्यिक माध्यमबाट चीनलाई साथमा छौँ’ भन्ने सन्देश दिइएको छ ।

चीन र नेपाल छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले कोरोना भाइरसमाथि जित हासिल गर्ने छ विश्वास नेपालले गरेको र नेपाल सँधै चीनको साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले चीनले ब्यहोरिरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको सराहना गरेकी थिइन् ।

उनले चीन सरकारले कोरोना भाइरसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेकोले महामारीलाई रोकथाम गर्न सफल हुने बताइन् ।

नेपाल र चीन छिमेकी मात्र नभएर दाजुभाइ भएको र असल मित्र अप्ठ्यारोमा मात्र चिनिने राजदूत यान्छीको भनाइ थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइरस नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताइन् ।

उनले चीनले महामारीसँग लड्दै आएको र यसलाई छिट्टै जित्ने र त्यसका लागि हामी साथमा छौं भन्ने सन्देश दिन चाहेको बताउँदै नेपालमा भूकम्प आउँदा चीनले दिएको साथको स्मरण गर्दै नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताइन् ।

यस बाहेक चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै नेपाल ल्याउन सरकारले तयारी तीव्र बनाएको उनको भनाइ थियो ।