कविता-याहाँ देउता रिसाउँछ

रजत गोले प्रकाशित मिति : बुध, माघ २९, २०७६

रजत गोले

चम्ची चल्छ गिलास चल्छ
थाल चल्छ बटुको चल्छ
उसैले बनाएको त्रिशूल चल्छ
बिन्ती तिम्रो देवस्थानमा उसलाई नलानु
तिम्रो यहाँ देउता रिसाउछ ।

झ्याम्ता चल्छ दियो चल्छ
काँसको गाग्री चल्छ खुकुरी हाम्रो चिन्ह
पनि चल्छ
बिन्ती तिम्रो भित्री कोठामा उसलाई पाइला
टेक्नु नदिनु तिम्रो यहाँ देउता रिसाउँछ ।

उसैले बनाएको बाजा बजाउँदै
उसलाई अगाडि अगाडि लाउँदै
फूलहरु शिरदेखि पाउसम्म छर्दै
यहाँ शुभकार्य मान्छौं
उसले पानी छुयो भने किन
अक्षुत भनेर हेला गर्छौं
साँच्चै कठोर मनको छ देउता
यहाँ किन देउता रिसाउ छ ?

काटे रगत एउटा नै हो
दुई थाक दाउरा र शम्सानघाट एउटै हो
कसले भन्यो म सानो तँ ठूलो भनेर
साँच्चै संसार सृष्टि गर्ने
उसलाई देख्दा देउता रिसाउ छ ?

एकाइसौं शताब्दीको यो युगमा
ढुँगालाई भगवान र मान्छेलाई
भुत मान्नेहरु बिज्ञानको अनेकौं
चमत्कारमा आफ्नोपनहरु हराउनेहरु
कठोर भएको छ हरेक मुटुहरु
साँच्चै उसलाई देख्दा देउता रिसाउँछ