नेपालमा भारतीय विस्तारवाद र त्यसका दिर्घकालीन समस्याहरु-भाग पाँच

सुदर्शन प्रधान प्रकाशित मिति : सोम, माघ २०, २०७६

नेपालको सुरक्षा निकायमा भारतको प्रभाव र पकड:

झण्डै ८, १० वर्ष अघि “कान्तिपुर दैनिक”मा नेपालको नवलपरासी जिल्लास्थित “त्रिवेणी” नजिकको एक कथित वावाको आश्रम बारे छापिएको थियो । जुन आश्रम नारायणी नदी पारी जंगलको बिचमा अवस्थित छ । यो स्थल चितवन जिल्लाको सुदुर पश्चिमको भूभागमा पर्छ । यस आश्रमबाट दक्षिणमा नेपाली सेनाको एक टुकडी छ । जुन व्यारेकको दक्षिण सिमा खोला पारी भारतीय सेनाहरुको ठूलो पल्टन छ । यो सिमा खोला उत्तरबाट दक्षिण हुँदै पश्चिम वगेको छ, र नारायणी नदीमा मिसिन्छ । यो खोलापारी भनेको बालमिकी नगर हो । यसरी खोला वारी नेपाली सेना र खोलापारी भारतीय सेना अनि नेपाली सेनाको व्यारेक उत्तर पट्टि भारतीय वावाको भव्य आश्रम स्थल । यो सामरिक रुपले ज्यादै संवेदनशील कुरा छ । नेपाल सेनाको व्यारेक पश्चीम पट्टि ठूलो नारायणी नदी पर्छ । नेपाल भारतबिच युद्ध भएमा दक्षिण र पूर्वबाट भारतीय सेना अनि उत्तरको जंगलको आश्रमबाट पनि जोगीको भेषमा रहने तर गोलीगाठ्ठा बोक्ने भारतीय फौजबाट नेपाली सेना घेरिए के हुन्छ ? निश्चित छ नेपाली सेनाका जवान र कमाण्डरहरु एक जना पनि बाकीँ रहदैनन । यहाँको भुगोल पक्तिंकारलाई पनि राम्ररी थाहा छ ।

उपरोक्त कुराहरुबारे यस व्यारेकको प्रमुख मेजरले आफ्नो माथिल्लो निकायमा प्रतिवेदन पठायो । कान्तीपुर श्रोतले भनेको थियो, तर त्यहाँबाट सम्बन्धित निकायलाई भनौँ नेपाल सरकारलाई सुझाव, सल्लाह र आवश्यक परे दवाव दिनु त कताकता उल्टो प्रतिवेदन पठाउने मेजरलाई त्यहाँबाट अन्तै सरुवा गरिदियो । एकपटक हैन २, ३ पटक यस्तो घट््ना दोहोरियो । यस्तै कुरा नवलपरासी जिल्ला प्रहरी कार्यलयको प्रमुख (डि.एस.पि.)ले पनि आफ्नो प्रहरी केन्द्रिय कार्यलयमा रिपोर्ट गर्दा उल्टै उक्त डि.एस.पि. पनि सरुवा भयो ।

माथिका तथ्यहरुबाट के स्पष्ट हुन्छ भने देश र जनताको रक्षा र सुरक्षाको लागि नेपाली जनताले तिरेको करबाट रासनपानी, लत्ताकपडा, जुत्ता सहित तलव, भत्ता, पेन्सन उपचार, गाडीवाहन समेत पाउने जिम्मेवार निकायका माथिल्लो ओहोदामा बस्ने अधिकारीहरु कस्ता प्रवृित्तका रहेछन त ? तिनवाट नेपाली जनताले के आशाा गर्ने ? के भरोसा मान्ने ? त्यस्तो देशद्रोही क्रियाकलाप गर्ने आधिकारिक व्यक्तित्वहरुलाई छिमेकी देश चीन, भारत र पाकिस्तानमा कस्तो सजाय हुन्छ ? राम्ररी बुझेर नेपालमा पनि त्यस्तै नीति बन्न पर्छ । साँच्चीनै त्यहाँ मृत्युदण्डसम्म हुन्छ ।

विर बलभद्र, अमर सीं, भक्ति थापाहरुका हामी नाम लिन्छौँ र पढछौं “पूर्खाले जोगाएको राष्ट्रिय स्वाभिमान” भन्छौँ । तर आज रक्षा र सुरक्षा जस्तो सम्वेदनसील र महत्वपूर्ण निकायका उच्च ओहोदाहरुमा पराईभक्त प्रवृत्ति र व्यक्तिहरु प्रवल रहेछन । युद्धको घडीमा तिनले दुश्मन सामु के गर्लान ? या त आत्मा समर्पण गर्नेछन, या आफ्ना सेनाहरुलाई गलत बाटोमा लगाएर दुश्मनले सजिलै नाश गर्न सक्ने वातावरण सिर्जाउने छन । कुनैं पनि मूल्य चुकाएर देशभक्तहरुलाई स्थापित र देशद्रोहीहरुलाई विस्थापित गर्नै पर्छ । अन्यथा नेपालको अस्तीत्व संकटमा पर्नेछ । वर्तमान रक्षामन्त्री ईश्वर पोख्रेलले माथिको घटनाको राम्ररी अध्ययन अनुसन्धान गरि राष्ट्रिय सुरक्षाको लागि सम्पूर्ण आवश्यक कदम चाल्न सक्लान ? नेपाली जनता त्यसको प्रतिक्षामा छन ।

शाही सेना कतिसम्म कठोर र उदण्ड थियो भन्ने कुरा २०५९ असोज १८मा राजा ज्ञानेन्द्रले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई अपदस्त गरि सत्ता स्वंय सञ्चालन गर्दा ताका पनि भएका थुप्रै कुराहरु छन । एउटा घटना छ, स्वंय प्रधानमन्त्री देउवालाई हटाएपछि राजा ज्ञानेन्द्रको आदेशमा शाहि सेना एक मध्यरात देउवालाई गिरफ्तार गर्न देउवा निवास बुढानिलकण्ठ पुग्छ । गेटको मूल ढोका खुलेपछि शाही सेनाहरुले आफू देउवालाई गिरफ्तार गर्न आएको भनेर देउवाका पितालाई बताउँछ ।

“यस्तो राती ! मेरो छोरालाई समात्ने नै हो भने भोली विहान आउनुस !” देउवा पिताले नम्र शब्दहरुमा भन्छ ।

“हुदैन, अहिले नै जान पर्छ” शाही सेनाका कमाण्डरले थर्काउदै बोल्छ “भोलीको कुरा हुदैँन, भाग्न सक्छ ।”

देउवा पिताले फेरि नम्र शब्दहरुमा भन्छन “दुई दुई पटक प्रधानमन्त्री बनेका मेरा छोरा भाग्छ भनेर कल्पना पनि नगर्नुस ! त्यस्तो कुरा हुनै सक्दैन, तपाईहरु भोली विहान उज्यालोमा आउनुस !”

शाही सेनाले जंगीदै भन्छ, “तैँले भनेर हुन्छ ? हामी समातेरै लान्छौ, यो हाम्रो आदेश हो । हिजो तेरो छोरा कुन पदमा थिए, थिएनन्् हामीलाई सरोकार छैन, छोरालाई निकाल ! ढोका खोल्न लगाउ ! नत्र ढोका हामी आफै फोडछौ ।”

आफ्नो पितालाई शाही सेनाहरुले आफ्नो कारणले थर्काएको, हप्काएको, अपशब्दहरु बोलेको र ढोकै पनि फोर्न सक्ने भएको सुनेपछि माथिल्लो तलामा भएको देउवा स्वयं ढोका खोलेर तल ओर्लन्छ र शाही सेनाको गाडीमा चढेर त्यो मध्यरातमा अनिश्चित गन्तव्यमा लाग्छ । यो पनि २०५९ आश्विन कार्तिकमा कान्तिपुर दैनिकमै छापिएको हो । बहुदल कालमा दुई पटक प्रधानमन्त्री बनेका सेर बहादुर देउवा आज प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंस पार्टीका सभापति छ । शाही सेनाबाट नेपाल सेनामा नाम फेरिएका यो संस्थाको चौतर्फी कुराहरु फेरिन र नयाँ मूल्यमान्यताहरु, प्रवृित्त चिन्तन र विचारहरु स्थापित गर्न कति जरुरत छ भनेर कति ख्याल गरेका छन वा छैनन् ? राज्य सञ्चालकहरुलाई सुझाव सल्लाहहरु दिएका छन वा छैनन् ? उनै जानुन ।

ईतिहास र कुनै पत्रिकाहरुमा पनि अझैसम्म अलिखित र  जनश्रुति जस्तो एउटा घटना छ, शाही सेनाभित्र घटित । यो २०३६।०३७ सालतिरको हो, पोखरा महेन्द्रपुलको तत्कालिन शाही सेना व्यारेकमा बस्ने एक सिपाहीको परिवारको दर्दानक आत्महत्या र त्यसले व्युत्पत्ति गरेको विस्फोटक अर्को घटना ।

घटनाको विवरण यस्तो थियो, एक सिपाहीको परिवार सुत्केरी पछि घरमा आवश्यक माया, स्नेहको अभावले दुई महिनाको बच्चा काखमा च्यापेर आफ्नो श्रीमानलाई खोज्दै पोखरा शहर आईपुग्छिन र महेन्द्रपुलको सैनिक व्यारेक पत्ता लगाउँछिन, कैयौँ दिन लगाएर । व्यारेकको गेटमा तिनले जानकारी गराउछिन, आफ्नो नाम, ठेगाना र श्रीमानको नाम आवश्यक कुराहरु । आफ्नी श्रीमती व्यारेक गेटमा आफूलाई भेटन आएको जानकारी पाए लगत्तै आफ्नो इमरजेन्सी कामको लागि छुट्टी माग्छ । तर उनले छुट्टी नै पाउदैन । त्यहाँको मूल कमाण्डरसम्म आफ्नो समस्या राख्छ तर उनले पनि सुन्दैनन । सिपाहीले बिदा पाउँदैन, उनी हतास बन्छ आफ्नो सुत्केरी श्रीमती र बच्चालाई भेट््न नपाएर । तर सैनिक नियमलाई उलंघन गर्न सक्दैन । बाहिर दुई महिने बच्चा च्यापेर उक्त सुत्केरी महिला आफ्नो श्रीमानको प्रतिक्षामा व्याकुल बनि गेटमा टहली रहन्छीन, हरेक सेन्ट्री बस्ने सिपाहीहरुलाई आफ्नो कथाव्यथा एकोहोरो सुनाईरहन्छिन, आखाँभरी आँसु पार्दै । केहि दिन बित्दा पनि श्रीमान आफूलाई र बच्चालाई भेटन नआएपछि तिनले भयानक निर्णय गर्छिन । बाहिरफेर होटल पसल भएका मान्छेहरुबाट मानवियता स्नेह मायाँ पाएको भए पनि तिनले त्यस्तो निर्णय गर्थीनन होली ! तर एकनिष्ठ परिवार र नीजि सम्पत्तीको फलामे साङलोले बाँधिएर घोर व्यक्तिवादी, र अमानविय चिन्तन र प्रवृित्तले घर जमाएका मान्छेहरुलाई एक दुखीत, पिडीत, अवला र निर्धा महिला र सानो बच्चाप्रति कसलाई सरोकार ? चारैतिरको दुर्गन्धित र दुिषत वातावरण देखेर नै होला अनि व्यारेक भित्रको श्रीमानको अझैसम्म नाकमुख नदेखे पछि तिनले आफू बाँिचरहेको कुनै अर्थ पाईनन्् । तव तिनले त्यहीँ महेन्द्र पुल नजिकको छाङ्गाछुर भिरबाट सेतीनदीमा बच्चा सहित हाम्फालेर जिवनलिला त्यागिन।

माथिको दुःखद घट््ना व्यारेक भित्रको सिपाहीलाई आफ्ना साथीहरुबाट थाहा हुन्छ । अनि उनले आफूलाई छुट्टि नदिएर त्यो दुर्भाग्यपूर्ण घट््ना घटाउन भूमीका खेल्ने मूलमूल कमाण्डरहरुलाई बदला लिन उनि सिधैँ आफ्नो कोठामा गई सके राईफलमा गोली भरिएको म्यागाजिन जोडछ र तिनको पनि एकएकको ज्यान लिएर छोडछ ।

प्ांचायती कालमा शाही सेनाका कमाण्डरहरुको कतिसम्म मनोमानी र हुकुमीपारा र प्रवृत्ति थियो अनि त्यसले कस्तो सम्मको दुर्भाग्यपूर्ण घट््नाहरु घटयो भनेर माथिको घट््नाले चरितार्थ पार्छ । तथापी उक्त घट््ना एक व्यक्तिगत घटना हो, आफ्नो श्रीमती र सानु बच्चाको असामयिक मृत्युवरणको मूलकारक व्यारेक भीत्रका प्रमुख कमाण्डरहरु भएकोे पाएपछि सिपाहीले राईफल चलायो । बदला लियो । त्यसपछि उक्त सिपाही के भयो र उनको नाम ठेगााना अझैसम्म गुपचुप छ । व्यक्तिगत घट््नाहरु यस्तै हुन्छन्् ।शाहीसेना भीत्र यस्तो र अरु हजार हजार दुःखद् र दुर्भाग्यपूर्ण घट््नाहरु घटे हुनन ।

देश र जनताको हितमा केन्द्रित विद्रोह र कदमहरु चाहिँ एैतिहासिक हुन्छन । जस्तो कि नेपाल र नेपाली जनतालाई १०४ वर्षसम्म अन्धकारमा राख्ने राणाशासनको तानाशाही र मनोमानी हुकुमी सत्ताको विरुद्धमा विद्रोह गर्ने गोर्खा जिल्ला मनकामनाका लखन सीं थापाले विद्रोह गर्दा राणाहरुबाट उनि निर्ममतापूर्वक मारिएका थिए । आज उनलाई नेपाली जनताले आफ्नो शहिद मान्छन तर राणाहरुलाई आत्मैदेखि घृणा र उपेच्छा गर्छन । अव काठमाडौँ टुडिखेलको चारै तिरका सुरहरुमा घोडामाथि चढेका राणाहरुका मूर्तीहरु उखेलेर संग्राहलयमा राखिनुपर्छ र त्यहाँ विर बलभद्र कुँवर, अमर सीं थापा, भक्ति थापा, लखन सीं थापाहरुका पूर्णकदका मूर्तीहरु राखिनुपर्छ ।

चीनकोे एक विद्रोहको घटना पनि यहाँ सामयिक हुनसक्छ, सन् १९३७ मा साम्राज्यवादी जापानले चीनको पूर्वी भागमा आक्रमण गरी ठूलो भूभाग कब्जा गर्यो । तिनको विरुद्ध संयुक्त बनी राष्ट्रिय स्वाभिमान युद्ध लडन माओत्सेतुङ नेतृत्वको कम्युनिष्ट पार्टीले च्याङ काई सेक नेतृत्वको क्रोमिङ ताङ सरकार सामु प्रस्ताव राख्यो । तर च्याङ काई सेकले ईन्कार्यो । त्यसवेला च्याङ काई सेक अधिनस्ट स्वेत सेनाका सैनिक जर्नेेलहरु च्याङ श्वे ल्याङ र वाङ हुङ छेनहरुले राष्ट्रपति भएका च्याङ काई सेकलाइ सियान शहरमा गिरफ्तार गरि नजरबन्दमा राख्यो । च्याङ त्यहाँबाट भाग्यो तर सैन्य क्याम्पको पहाडको झाडीमा लुकेर बसेको रहेछ । उनलाई त्यहाँबाट धुलाई गरि पाता फर्काएर ल्यायो । अनि सियानको भिले होटलमा चि.क.पा.का प्रतिनिधि चाओ अनलाई संग च्याङ काई सेकको भेट गराई जापान विरुद्ध संयुक्त सैन्य कार्वाही गर्न बाध्य तुल्यायो । यो कदमले सन् १९४५मा जापानबाट चिन मुक्त हुन ठूलो भूमिका खेल्यो ।

स्मरणरहोस, नेपाल सेनाको बजेट नेपाल सरकारको अर्थमन्त्रालयले विनीयोजन गर्छ । जुन नेपाली जनताले तिरेको करबाट भनौँ उनिहरुका रगत, पसिना र आसँुबाट प्राप्त हुन्छ । नेपाल सेनाभित्र हुने भ्रष्टचार, अनियमीत, अपचलन, वेरुजुबारे नेपाल सरकार सधैँ मौन बस्छ, अख्तीयार थुरुथुरु काम्छ । स्वयं सेनासँग हुने बमगोला र बन्दुक नेपाली जनताले तिरेको करबाट प्राप्त हुने हो । तर सरकार त्यहीँ शस्त्रसँग डराउँछ र त्यहाँ प्रवेश गर्न सक्दैन । यो ठूलो अकर्मन्यता हो । त्यसको मूलकारण राज्य सञ्चालन गर्नेहरु स्वयं अपरादर्शी र वैध, अवैध रुपले करोडपती र अरवपती बन्नाका परिणामहरु हुन । उनिहरुका पार्टीहरु राष्ट्र र जनताको उज्वल भविष्यको मार्गमा पथ दर्शन गर्न असक्षम र अयोग्यताका परिणामहरु हुन् । नेपालमा “जनआस्था साप्ताहिक” नाउको एउटा पत्रिका छ, जसले “नेपाल सेना” भीत्रका “जाटे पिलोहरु” छताछुल्ल पारिदिन्छन । तर यो गणतन्त्र आउँदासम्मपनि राज्यसञ्चालकहरु त्यसलाई पछयाउन र कार्वाही गर्न तदारुकता देखाउँदैनन ।

नेपाल सेनाभित्र अझसम्म राणाकालका प्रवृत्ति, चिन्तन, संस्कार र संस्कृतीहरु प्रवल छन्् । जर्नेल र कर्णेलहरुलाई “राजा साहेव”, उनिहरुका श्रीमतीहरुलाई “रानी साहेव”, तिनका छोरीहरुलाई “मैयाँ साहेव” “खाईस्योस ! गईस्योस !” शब्दहरु सबै १०४ वर्ष नेपाललाई अन्धाकारमा राखि आफू मस्ती गर्ने क्रुर राणाहरुका शब्दहरु हुन । जुन नेपाल सेना भीत्र अझै जिवन्त छ ।

राणा संस्कृती र शब्दहरु नेपाल सेनामा जिवन्त भएपछि उनिहरुका नीति, नियमहरु, चिन्तन र प्रवृत्तीहरु जिवीत हुनु स्वभाविक हो । नेपालसेना भित्र चिनीया, भारती र अमेरिकीहरुको जर्वजस्त प्रभाव रहेको विशेष सुत्रहरु बताउँछन । तुलनात्मक रुपले नेपालमा चीन राष्ट्रको सकरात्मक भूमीका झैँ चिनीया सेनाको भूमीका पनि नेपाल सेनाको लागि र नेपाल राष्ट्रको लागि राम्रो छ । तथापी कुनै पनि राष्ट्रको सेना भनेको आफ्नो राष्ट्र र जनताप्रति अनि आफ्नो संविधान र सरकारप्रति बफादार र ईमान्दार हुनपर्छ । यो हिजोको राणाशासन जस्तो हैन, जुन खुनीहरुका सन्तानहरु जन्मनासाथ कर्णेल र जर्नेल पदहरु पाउथे र त्यसै अनुरुप तलव भत्ताहर राज्यबाट मुठयाउथे, जग्गा जमिनहरु पनि मनलाग्दी  “हुकुम प्रमाङ्गी” लिएर कब्जा गर्थे । काठमाण्डौँ उपत्यकामा अझै पनि राणाहरुका दशौँ, बिसौँ र पचासौँ रोपनी जग्गा हुनाको मूलकारण त्यहीँ हो । नेपाल सेना भित्रका वर्तमान र निवर्तमान देशभक्त उच्च ओहोदाका व्यक्तित्व र पदाधिकारीहरु र जवानहरुले युग परिवर्तनसँगै आफ्ना नीति नियम, संस्कृती, प्रवृत्ती र शब्दहरु फेर्दै जान पर्छ । र परिस्कृत गर्दै लान पर्छ । जस्तै – रुसको लालसेना र चीनको जनमुक्ति सेनाभित्र कस्तो नियमहरु थियो भने, सेना भित्र कसैले पनि अश्लिल, छाडा र तुच्छ शब्दहरु बोल्न नपाउने, सम्पूर्ण जवान र कमाण्डरहरुको खानाको स्तर समान हुने, आफ्नो ग्रुप भीत्रको हर–हिसाव सबैले हेर्न पाउने, बेतन बरावर हुने बरु सेवाको अवधी फरक भए बेतन पनि फरकफरक रहने किनकि कमाण्डरको बाउ, आमा, छोराछोरी हुन्छन भने जवानहरुका पनि परिवार हुन्छन त !

यसरी प्रतिभा, दक्षता, समय अवधि र अनुभव अनुरुप जिम्मेवारी, पद र फूलीहरु फरकफरक हुन सक्ने तर आर्थिक, भौतिक, सुविधाहरु समान हुनपर्ने, स्मरणरहोस, सोभीयत रुसमा सर्वोच्च कमाण्डर जोसेफ, स्टालिन र लाल सेनाहरुका वेतन अनी चीनका सर्वोच्च नेता माओत्सेतुङ र जनमुक्ति सेनाका जवानहरुका वेतन बरावर थियो । यद्यपीं जोसेफ स्टालिन विश्वकै सार्वाधिक धनी व्यक्ति थियो भनेर पश्चीमाहरु प्रचार गर्छन । वार्षिक १२ खरव रुवलसम्म परिचालन गथ्र्यौँ भनेर तत्कालिन स्टालिनकालमा १ रुवल बरावर २५ डलर सम्म हुन्थ्यो । स्टालिनको निधन पश्चात उहाँका कुनै सन्तान, दर सन्तानहरुले १ रुवल सम्म पाएको कुनैँ प्रमाण छ ? त्यसरी नै माओत्सेतुङको सन्् १९७६ मा निधन पश्चात १ यान कसैले पाएको प्रमाण छ ? पश्चिमा परचक्रीहरु यसमा मौन छन । वास्तवमा विश्वकै सर्वाधिक शक्तिशाली हिटलरका सेनाहरु र विश्वकै सर्वाधिक १ करोडभन्दा अधिक संख्या भएका चीनका च्याङ काई सेकका स्वेत सेनाहरु पतन हुनुमा भनौँ युद्ध र क्रान्तिमा नष्ट हुनमा तत्कालिन सोभीयत संघका स्टालिन कमाण्डका लालसेनाहरु र चीनको माओत्सेतुङ, चओअनलाई, चुतह नेतृत्वको जनमुक्ति सेनाहरुका चौतर्फी संरचनाहरु जनपक्षीय र देशभक्त भएर हो ।

नेपाल सरकारका वर्तमान रक्षामन्त्री ईश्वर पोख्रेलले आफ्नो कार्यकालमा नेपाल सेनाभीत्र युगान्तकारी परिवर्तन गर्ने विशेष योजनाहरु बनाएको छ ? छ भने अझ व्यापक र विस्तृत रुपले तय गर्न सैन्य सम्बन्धीत विशेषज्ञहरुसँग छलफल गरि खदिलो प्रस्तावना तय गर्नुपर्छ । छैन भने दोस्रो जनआन्दोलन यताका ९ जना प्रधानमन्त्री र १० जना रक्षामन्त्री झैँ “आयाराम, गयाराम” झैँ हुनेछ, सैन्य सवालमा ।

यहाँ सैन्य सम्बन्धी विशेषज्ञ भन्नाले पंक्तिकारलाई लगेको राजनैतिक विशेषज्ञको तर्फबाट प्रोफेसर कृष्ण खनाल, विश्लेषक तथा वरिष्ठ पत्रकार श्याम श्रेष्ठ, अर्थ विज्ञको रुपमा हरि रोका, सांस्कृतिक विशेषज्ञको रुपमा निनु चापागाई, रामराज रेग्मी, रामेस, रायनहरु, सिमाविज्ञ बुद्धीनारायण श्रेष्ठ, सैन्यविज्ञ भू.पु. नेपाली जनरल शिवराम प्रधानहरु बन्न सक्छन् र पर्यावरण, ईतिहासविज्ञ, सैन्य, प्राविधिक विज्ञहरु पनि होलान् । उनिहरु जस्ता विज्ञहरुको झण्डै ५०० जनाको टोली १ हप्तासम्म व्यापक अन्तरक्रिया गरि चौतर्फी विषयको नीति निर्माण गरेर सेनाले त्यसलाइृ कार्यान्वयन गर्ने मार्गमा लाग्न पर्छ । सैन्य शक्ति भनेको कुनै पनि राज्य र राष्ट्रको अती सम्वेदनशील निकाय हो । राज्य सत्ता र संम्प्रमुसत्ताको संरक्षणमा यसको अहम भूमिका हुन्छ । यो खेलवाडको कुरा हैन ।

 समाप्त