विद्युत महशुल परिवर्तनको तयारी,दश युनिटसम्म निःशुल्क हुने

प्रकाशित मिति : मङ्ल, माघ १४, २०७६

काठमाडौँ । १४ माघ,नेपाल विद्युत प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्ने भएको छ ।

प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत नियमन आयोगमा प्रस्ताव पठाउँदैछ ।

प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए ।

अहिले पनि १० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकको सङ्ख्या आठ लाख रहेको बताइएको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनका अनुसार महसुल दर विभिन्न आठ श्रेणीमा विभाजन गरिएको छ । गार्हस्थ्य उपभोक्तालाई विद्युत खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिएको हो ।

तर ११ युनिटदेखि माथिको दर बढी तोकिएको छ । तर यस्तो दर खपत बढ्दै जाँदा घट्दै जाने प्रणाली कार्यान्वयन गर्न लागिएको छ । मंगलबारको गोरखापत्र दैनिकबाट