पश्चिम नेपाल अर्थात् प्रदेश ५ मा माघी र माघे संक्रान्तिको रौनक छायो

प्रकाशित मिति : बुध, माघ १, २०७६

प्रदेश ५ मा विशेषगरी थारु र मगर समुदायले माघीरमाघे संक्रान्तिलाई मुख्य चाडका रुपमा धुमधामका साथ मनाउने गर्छन् । माघ १ लाई थारु समुदायले नयाँ वर्ष प्रारम्भका रूपमा माघी नामले मनाउने गर्छन् भने मगर र खस आर्यले माघे संक्रान्तिका रुपमा ।

पश्चिम नेपाल थारु र मगर वाहुल्य प्रदेश हो । मगर समुदायले यो पर्वलाई माघ्या र सेल्र्हेस पनि भन्छन् । प्रदेश ५ सरकारले समेत माघीरमाघे संक्रान्ति मनाउनका लागि दुई दिन सार्वजनिक विदा दिएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुस मसान्तकै सांझ बुटवलस्थित आफ्नो सरकारी निवास परिसरमा सयौं जनालाई माघी विशेष भोज खुवाएर माघीरमाघे संक्रान्तिको स्वागत गरेका छन् । माघीलाई थारुहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ ।

माघीका दिन दाङ–देउखुरीमा पर्ने धार्मिकस्थल रिहारमा स्नान गर्न र मेला भर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्दछ । रिहारलाई थारु समुदायको परम्परागत देवथानको रूपमा लिइन्छ । त्यहाँको तातो कुण्डमा स्नान गर्न पश्चिम नेपालका थारु मात्र नभई भारतबाट समेत ठूलो संख्यामा तीर्थालुहरू आउँछन् । त्यहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने धार्मिक विश्वास छ । दाङ–देउखुरीकै गोबरडिहाको जंगल कुट्टीमा पनि माघीमा मानिसहरू रातभरि जाग्राम गरी पूजाआजा गर्छन् ।

यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ । त्यस्तै, दाङ देउखुरीकै कालापानीको कुण्डमा स्नानका लागि मानिसहरुको पुग्ने गर्छन् । यो ठाउँ स्थानीय थारु भाषामा खौराबाबाको नामले प्रख्यात छ ।

खौराबाबालाई शिवजीको अर्को रूप मानिन्छ । थारु समुदायले माघीमा सुँगुरको मासु, ढिकरी, माछालगायतको परिकार खानपिन गरेर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

माघीमा थारुहरुले ‘धमार’ गीत गाउँदै मघौटा नाच नाच्छन् । माघे संक्रान्तिको दिन बिहान थारु समुदाय खोलानालामा नुहाउन जाने चलन पनि छ । यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइ सकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलाबाट आशीर्वाद लिइन्छ । माघीमा आफ्नो चेलीबेटीहरूलाई उपहार दिने चलन छ । यसलाई थारु भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउस्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ ।
माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन् । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन छ । यो दिनलाई ‘खिचरहवा’ भनिन्छ । माघी पर्वका अवसरमा थारु वाहुल्य वस्तीहरुमा माघी मेला र महोत्सव आयोजना गर्ने लहर नै चलेको छ । ठाउँ–ठाउँमा हुने माघी महोत्सवमा थारु गीत र नाच प्रस्तुत गर्ने, थारु संस्कृति झल्किने परम्परागत पहिरन, भेषभुषा, थारुहरूको मौलिक खानाको परिकार घोंगी, ढिक्रीलगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगान, हस्तकला प्रदर्शनीजस्ता कार्यक्रम गरिन्छ ।

माघे संक्रान्तिका अवसरमा गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरुक्षेत्र रिडीमा पनि ठूलो मेला लाग्ने गर्छ । रुरु क्षेत्र रिडीमा तीन दिनसम्म धार्मिक मेला लाग्छ । हजारौं भक्तजनको उपस्थिति रहने रिडी मेला जेठी, माइली र कान्छी संक्रान्तिका रूपमा तीन दिन लाग्छ । मेलाको पहिलो दिन बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ । कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन रिडी मेलामा आउँछन् ।

रिडी मेला पछिल्लो समय व्यापारिक मेला र सांस्कृतिक महोत्सवमा परिणत हुन थालेको छ । माघे संक्रान्ति मेलाको अवसरमा एकहप्तासम्म व्यापार मेला र दर्जनौं राष्ट्रिय कलाकारको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ । उता, नवलपरासी पश्चिमको त्रिवेणी धाममा पनि माघे संक्रान्तिमा स्नान गर्ने भक्तजनको भीड हुने गर्दछ । रिहार, गोबरडिहा,रिडी,त्रिवेणीलगायत तराईका ६ र पहाडका ६ गरी प्रदेशका १२ वटै जिल्लाका दर्जनौं स्थानमा माघीरमाघे संक्रान्ति विशेष कार्यक्रमहरु आयोजना गरिएका छन् । मगर वाहुल्य पाल्पा,रोल्पा,रुकुममा पनि मगर समुदायले माघे संक्रान्तिलाई हर्ष–उल्लासका साथ मनाउँदै छन् । मगर समुदायले आफ्ना छोरी चेलीलाई घरमा बोलाएर पूजाआजा गर्ने, तरुल, कन्दमुल खाने, सोरठी, कौडा नाच नाच्ने, धनुष बाण हान्ने प्रतियोगिता गरेर मनाउँछन् । ‘माघ १ गते मगर र थारु जातिको मुख्य पर्व हो,’ रूपन्देही रुद्रपुरका मगर अगुवा बोम दर्लामी मगरले भने, ‘मगर र थारु समुदायसँगै छन्त्याल र खस आर्य समुदायले पनि माघे संक्रान्तिलाई आ–आफ्नै ढंगले धुमधामका साथ मनाउँछन् ।’