दाेलखा जिल्ला भ्रमण गर्नैपर्ने कारणहरु (फोटोसहित)

भ्रमण वर्ष २०२०मा घुमन दोलखा जाउ

प्रकाशित मिति : शुक्र, पुस १८, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बुधबार सुरु भएकाे छ । काठमाडौंको दशरथ रंगशालासँगै सातै प्रदेशका राजधानीबाट भ्रमण वर्षको औपचारिक सुरुवात गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२०मा २० लाख पर्यटक भित्र्याउने सरकारकाे लक्ष्य छ । देशैभर भ्रमण वर्षको उत्सव मनाइरहँदा दोलखामा पनि सदरमुकाम चरिकोट र जिरीमा ‘भिजिट नेपाल २०२०’ लाई भव्य रुपमा स्वागत गरियाे। अंग्रेजी नयाँ वर्ष अर्थात भ्रमण वर्षको दिन मात्रै दोलखा घुम्नका लागि १० हजार पर्यटक पुगेका छन् ।

दोलखा भन्ने वित्तिकै धार्मिक तथा साँस्कृतिक जिल्लाको रुपमा हेरिन्छ । यो जिल्ला मन्दिरै मन्दिर भएको जिल्लामा हाे । धेरैलार्य दोलखा भिन्ने बित्तिकै भिमेश्वर मन्दिर, कालिञ्चोक भगवती र जिरीको सम्झना आइहाल्छ । यति मात्रै नभएर, सय थुम्का भएको शैलुङले झन सबैलाई मोहित गराउँछ ।

यी ठाउँबाट देखिने हिमश्रृंखला आफैमा सुन्दर देखिन्छन् । यहाँ प्रसिद्ध भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती, शैलुङ, हनुमन्तेश्वर, महाङकाल, रम्बोले माई, त्रिपुरासुन्दरी, सुन्द्रावती, गौरीशंकर हिमाल(गौरीशंकर महादेव), देउलाङश्वरी महादेव लगायतका धार्मिक एवं साँस्कृतिक सम्पदाको धनि दोलखा पर्यटकका लागि आकर्षक गन्तव्य हो ।

मनै लोभ्याउने हिमश्रृंखला, सुन्दर पहाडी क्षेत्र, हरियाली, नागबेली तामकोसी दृश्य दोलखाको अनुपम प्राकृति दृश्य हो । यही दृश्य हेर्नका लागि लाखौं पर्यटक दोलखा पुग्ने आउने गरेको भ्रमण वर्ष जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए ।

पर्यटकीय आकर्षणको केन्द्र दोलखाको सदरमुकाम चरिकोट, पर्यटकीय आकर्षणको केन्द्र जिरी, कालिञ्चोक बेश क्याम्प कुरी, ऐतिहासिक दोलखा बजार क्षेत्रमा सुविधा सम्पन्न होटलको सुविधा छ ।

दोलखा भीमेश्वर (भीमसेन)

 

दोलखाको भीमेश्वर (भीमसेन) नेपालकै प्रसिद्ध धार्मिकस्थल हो । त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पूजा गरिन्छ। त्यसैले एक शिला तीन अवतार मानिएको छ । केहीले यो मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मान्रे गरेका छन् । शिवको अर्को रूप भैरव, भीम पनि हो । त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ ।

देशमा कुनै भवितव्य अथवा संकट आउने संकेत भीमेश्वरको मुर्तिले दिने गरेका छन् । जब जब भिमेश्वरको मूर्तिमा पसिना आउँछ, त्यो समयमा देशमा कुनै न कुनै प्रकारको संकट आउँछ भन्ने मान्यता रहेको छ ।

कालिञ्चोक भगवती

 

पछिल्लो समय दोलखाको कालिञ्चोक पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट ३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले महत्वपूर्ण मानिन्छ ।

कालिञ्चोकमा हिउँ पर्ने बित्तिकै विदेशी पर्यटकभन्दा पनि स्वदेशी पर्यटक जाने गरेका छन् । विशेषगरी हिउँ खेल्न पर्यटक कालिञ्चोक पुग्छन् । यहाँबाट गौरीशंकर हिमालको श्रृंखला आँखै अगाडि हेर्न सकिन्छ ।

यस्तै हिन्दु र बुद्धिष्टले कालिञ्चोक भगवतीलाई श्रद्धाका साथ पूज्ने गरेका छन् कालिञ्चोक माईको दर्शन गर्नाले मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ ।

यहाँ नयाँ वर्ष, दसैँ, जनैपूर्णिमाको तिथिमा मेला लाग्ने गरेको छ । अहिले कालिञ्चोकमा केबलकार समेत सञ्चालन भएको हुनाले पर्यटक थप आकर्षित हुन्छन् ।

शैलुङ डाँडा

दोलखाको अर्को पर्यटकीस्थल शैलुङ डाँडा हो । जहाँ एकसय थुम्का रहेका छन् । हिन्दु र बौद्धमार्गीले शैलुङलाई फरक फरक आस्थाले पूजा गर्छन् ।

हिन्दुहरुले शैलुङलाई शैलुङगेश्वर महादेवको रुपमा पुज्ने गरेका छन् । बौद्धमार्गीले गुरु रिम्पोच्छेले शैलुङमा ध्यान गरेको भूमिको रुपमा लिने गरेका छन् । यसकारण बौद्धमार्गीहरु शैलुङमा एक पटक पुग्नै विश्वास गर्छन् ।

यहाँबाट दोलखाको सुन्दर प्राकृतिक दृश्य पनि देख्न सकिन्छ ।

जिरी

 

जिरीलाई नेपालको स्विजरल्याण्डको रुपमा व्याख्या गरिन्छ । यहाँको हावापानी, भूगोलका आधारमा जिरीलाई स्विजरल्याण्डको रुपमा नामकरण गरीएको पाइन्छ ।

यो पर्यटकीय नगरी हो । जहाँ जिरेल समुदायको बाक्लो बस्ती रहेको छ ।

जिरी, सगरमाथाको प्रवेशद्धार भनेर चिनिने पर्यटकीय नगरी पनि हो । सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी जिरी पदमार्ग हुँदै सगरमाथाको आधार शिविर पुगेका थिए ।

यो पुरानो पदमार्ग हो । अहिले पनि यो पदमार्ग पछ्याउनेहरु धेरै रहेका छन् ।

च्छोरोल्पा हिमताल

 

दोलखाको पर्यटकीय अर्को गन्तव्य च्छोरोल्पा हिमताल पनि हो । हिउँबाट बनेको यो ताल जाडो मौसममा जम्ने गरेको छ ।

ताल जमेपछि यसमाथि सजिलै हिड्न सकिन्छ । गर्मी मौसममा पनि तालमा परार्वतन भएको हिमालको मनोरम दृश्य हेर्न सकिन्छ ।

ताल पुग्नका लागि स्वीस सरकारको सहयोगमा दोलखाको गौरीशङ्कर गाँउपालिकाको छेतछेतबाट च्छो रोल्पा हिमतालसम्मको ४० किलोमिटर पदमार्ग पुनर्निर्माण तथा स्तरोन्नति गरिएको छ ।

गौरीशंकर हिमाल

दोलखा जिल्ला र चीनको सीमामा रहेको हिमाल हो,‘गौरीशंकर हिमाल’। ७१३४ मिटर अग्लो हिमालबाट नेपालको प्रमाणित समय निर्धाण गरिएको छ ।

हिन्दु धर्मावलम्वीका अराध्यादेव शिव र पार्वतीको प्रतिकको रुपमा गौरीशंकर हिमाललाई हेरिन्छ । अहिलेसम्म धार्मिक आस्थाको कारण गौरीशंकर आरोहण गर्न प्रतिबन्ध छ ।

गौरीशंकर हिमाल हेर्नकै लागि पनि पर्यटक दोलखा पुग्ने गरेका छन् ।

जटापोखरी

दोलखाको जिरी नगरपालिकामा पर्ने अर्को पर्यटकीय धार्मिक गन्तव्य हो ‘जटापोखरी’ ।

यो पोखरी समुन्द्री सतहबाट झण्डै ४५०० मिटर उचाइमा छ । जटापोखरीमा जनैपूर्णिमाको दिन ठूलो मेला लाग्छ ।

जनैपूर्णिमाको दिन हजारौं दर्शनार्थी जटापोखरीमा महादेवको दर्शनका लागि पुग्छन् ।

देउलाङ्गेश्वर महादेव

 

श्री स्वस्थानी ब्रत कथाको सुरुवातसंगै दोलखाको लामाबगरमा रहेको देउलाङ्गेश्वर महादेव मन्दिरमा मेला लाग्छ ।

देउलाङ्गेश्वर महादेव मन्दिर रहेको ठाँउलाई हिन्दुहरुको पवित्र धार्मिक पुस्तक श्री स्वस्थानीमा उल्लेख भएको ‘महादेवले सतीदेवीलाई खरको भित्ता च्यातेर कैलाशको दर्शन गराएको’ विश्वास छ ।

हिन्दु मान्यताअनुसार हिमाललाई कैलाश पर्वत भनिन्छ । उलाङ्गेश्वर महादेव मन्दिर रहेको ठाँउबाट गौरीशङ्कर हिमाल देखिने भएकोले पनि श्री स्वस्थानी कथामा उल्लेख भएको कुरामा सत्यता भएको जनविश्वास रहेको छ ।

विगु गुम्बा
दोलखाको अर्को पर्यटकीय क्षेत्र विगु पनि हो । विगुमा बौद्धधर्मावलम्वीले गुम्बा निर्माण गरेका छन्। जहाँ स्वदेशी तथा विदेशीलाई बौद्धधर्मका बारेमा अध्यापन गराइन्छ ।

रोलवालिङ्ग उपत्यका

वेदिङ्ग गाउँ

गौरीशंकर गाउँपालिकामा वेदिङ्ग गाउँलाई हिम मजदुरको गाउँ भन्ने गरिन्छ । यस गाउँमा जन्मिएका शेर्पाहरुले सगरमाथा आरोहण गर्छन् भन्ने मान्यता रहेको छ ।

यस गाउँका ३० जनाभन्दा बढी आरोहीले सगरमाथाको आरोहण गरी सकेका छन् । २०४२ साल वैशाख २४ गते गौरीशंकर गाविसको टसीनामामा जम्मिएका तेम्बाछिरी शेर्पा सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति हुन ।

गौरीशंकर हिमालमुनि भएको गाउँ भएकाले पनि पर्यटकीय गन्तव्य हो ‘वेदिङ्ग गाउँ’ ।

राजा इन्द्र सिंहदेवद्वारा चाँदीको सिक्का प्रचलन

नेपालमा पहिलो पटक वि.सं. १५९१ मा दोलखाका तत्कालिन राजा इन्द्रसिंह देवले चाँदीको सिक्का प्रचलनमा ल्याएका थिए । कतिपयले त्यसकै कारण पनि दोलखा घुम्न जाने गरेको बताउँछन् ।

दोलखामा १२ आदिवासी जनजातिको बसोबास छ । उनीहरुको आफ्नै भाषा, कला संस्कृति र मौलिक परम्परा छ। यो संस्कृति हेर्न,

अध्ययन गर्नका लागि समेत दोलखामा पर्यटन पुग्ने गरेको भ्रमण वर्ष जिल्ला समन्वय समितिका संयोजक पाण्डेको भनाइ छ ।

यसकारण दोलखा साँस्कृतिक, भाषिक संस्कृतिको जीवन्त संग्राहालय रहेको पाण्डेको दवाी छ । ‘यो जीवन्त संस्कृति हेर्नका लागि पनि दोलखामा पर्यटक आउँछन,’ उनले भने ।