”मार्क्स फर्किए” आजदेखि प्रज्ञा भवन कमलादीमा

प्रकाशित मिति : मङ्ल, पुस १, २०७६

आज पुस- १,२ र ३ गते प्रज्ञा भवन, कमलादीमा मार्क्सको जीवनी र विचारलाई सटिक अंशमा नाटक मार्फत पस्कने जमर्को गरिएको छ ।
आज विश्वमा पुँजीवादले निम्त्याएको संकटको कारण `इतिहासको अन्त्य´ भयो भनेर मार्क्स वा मार्क्सवादी विचारको अन्त्य भएको डंका पिटिएको पश्चिमा जगतमा समेत फेरि मार्क्सलाई चियाउने, मार्क्सवादमाथि फेरि विमर्श गर्ने लहर चलिरहेको छ । नवउदारवादको संकटसँगै मार्क्सवादमाथि फेरि मानव समाजद्वारा आशातीत नजर तेर्सिएको छ । तर, स्वयम् मार्क्सको जीवन दर्शन के थियो ? वस्तुतः मार्क्सवाद के हो, के होइन ? मार्क्सको विचार स्वयम् तथाकथित मार्क्सवादी भनिएकाहरूबाट के-कसरी विद्रुप पारियो ? भन्ने आदि सवालमा प्रसिद्ध अमेरिकी इतिहासकार हवार्ड जीनद्वारा सन् १९९९ मा `Marx in Soho´ नाटक मार्फत प्रस्तुत गरिएको थियोे । उक्त कृतिमा आधारित भएर नेपालीकरण गरि `मार्क्स फर्किए…´ नेपाली रंगमञ्चका प्रख्यात रंगकर्मी सुनिल पोखरेललाई कार्ल मार्क्सको भूमिकामा, निशा पोखरेल जेनी मार्क्सको भूमिकामा उतारिएको छ । जसलाई प्रवीण खतिवडाले निर्देशन गरेकाछन् ।
यो नाटक वस्तुतः मनोरञ्जनात्मक मात्रै नभएर विचारपरक अभियानको अंश समेत हो । यसमा तपाईंहरूको सहभागिता रहनु भनेको नेपालमा जारी मार्क्सवादी अभियानमा तपाईंको संलग्नता र अनुमोदनको द्योतक समेत हो । राजनीतिमा जसरी कम्युनिस्ट आन्दोलनको उर्वर भूमिको रूपमा नेपाल स्थापित छ, त्यसरी नै विचार र दर्शनको तहमा मार्क्सवाद स्थापित गर्नु यो अभियानको ध्येय हो । जसले कहिलेकाहीँ राजनीति अल्मलिन खोज्दा विचारले सही मार्गमा डोर्‍याउन भूमिका खेलोस ।
तसर्थ, आउनुस यो नाटक हेरौं । यो मार्क्सको जीवन र विचारलाई चियाउने आँखीझ्याल हो । यसबाट जाग्ने विचारको भोकले मार्क्सवादी आन्दोलनलाई सशक्त बनाउनेछ भन्ने अपेक्षा गरिएको छ ।
यो नाटक, कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा आरोहण र गुरूकुलद्वारा प्रस्तुत गरिएको हो ।