कविता- सुन्दैछौ सरकार ?

कविता

स्वर्णिम गुरुङ प्रकाशित मिति : शुक्र, मंसिर २०, २०७६

स्वर्णिम गुरुङ, कालेबुङ, भारत

हे ! देशका सम्पूर्ण नारी हो।

चर्काउनुपर्छ स्वर

हल्लाउनु पर्छ देश

कामपिपाशुहरूलाई थर्काउनुपर्छ।

दिन दिनै बढ्छ बलात्कार र

नारी हिंसाको घटना देशमा

हर दिन बलत्कृत छोरीहरू

भेटिन्छ नग्न मृत सडकमा।

सरकार गुँगो, बहिरो,

अन्धो बनि बसेको छ

नरपिशाचहरूको मनोबल

बढेको बढेकै छ।

भन्न त भन्छ देशमा

नारी सुरक्षा सम्बन्धि ऐन छ

तर सबै कानुनको किताब

भित्रै बन्द छ।

गौहत्या गर्दा दण्ड पाउँने

मेरो देशमा

बलात्कारी हत्याराहरू किन

काकुनको हातबाट सजिलै छुट्छ ?

औ मेरो देशको सरकार!

तिमी बोल।।

जवाब देऊ।

किन मिल्दैन यो देशमा न्याय

बलात्कृत महिलालाई ?

किन मिल्दैन यो देशमा कठोर दण्ड

बलात्कारी हत्यारालाई ?

जसरी लगाउँछौ नारा नारी हितमा

किन चुँ सम्म बोल्दैनौ नाबालिक

छोरीको बलात्कार र हत्यामा ?

के तिम्रो खाने र देखाउने दाँत

भिन्नभिन्नै छ ?

गाईलाई माता मानेर पुज्ने

तिम्रो नजरमा

के नारीको अस्मिता र अस्तित्व

पशुको भन्दा न्यून छ ?

भो सरकार धेरै भो!

फ्यातुलो कानुनले रोक्न सक्दैन

हौसला यी नरपिशाचहरूको

कानुनका किताबभित्र बन्द ऐनले

रोकिन्दैन घटना नारी उत्पिडनको।

यसैले सरकार..

नारी सुरक्षा सम्बन्धि कानुन

बलियो बनाउ र चाँडै लागू गर।

नत्र …

सक्दैन रोक्न भविष्यमा

नारी आक्रोशका शैलाबलाई

कानुनका कुनै धाराहरूले,

हर घरमा जन्मिनेछ रणचण्डिकाहरू

आफ्नो अस्मिता र अस्तित्व रक्षार्थ

उर्लनेछ नारीशक्तिका भंयकर सुनामी

कुकर्मीहरूलाई स्वंय सजाय दिन हेतु।

सुन्दैछौ मेरो देशको सरकार ???

 

डिसेम्बर ३, २०१९

कालेबुङ