कविता: म (बलात्कृत अबलाहरूको नाममा )-

कविता

अबीर खालिङ प्रकाशित मिति : सोम, मंसिर १६, २०७६

अबीर खालिङ

महाअसन्तुष्टीको छाता
हातमा झुण्ड्याएर
भिज्नुको अभीष्टमा
वर्षाको गीत गाउँदै र
आदिमताको कलेवरले
आफूलाई ढाकेर
शिकार खेल्न निस्कन्छु म
फुलको।

मलाई तिम्रो हात होइन
अङ्गालो होइन,
अङ्गालो भित्रको क्षितिज
होइन
केही होइन ,
पाश्विकताको जङ्गल विस्तार गर्न
एउटा बेखबर, उर्बर र
कोमल बस्ती चाहिएको छ।

महाभोकको स्वादमा
नुहाउनलाई कोमल
रक्तकुण्ड खोजिरहेछु म ।
तिम्रो सासको बाँसुरी
बजाएर
म ताण्डव नाच्छु ।
ब्रम्हत्वको नाद
दुर्योधनको हत्केलामा सारेर
खेलिरहन्छु
चीरहरणको आदिम खेल।
मलाई तिम्रो ओँठ होईन
ओँठको मुस्कान होईन
ओँठको आकाशबाट उदाउने
शब्दको सूर्य होईन
अरु केही चाहिन्छ ।

किन हिँडिरहन्छु
खेल्दै शिकार यो ममताको
मुलुकमा ।
किन सुन्न सक्दिनँ
त्यो रुदनमय आवाज
कसरी म बैह्रा भएँ ?
मान्छेत्वको नाश गरेर म
कहिलेदेखि राक्षस भएँ ?

किन च्यातेर आनन्दित छु
सम्बन्धको साइनो रु
उन्मादको गीत गाउँदै
च्यातिबस्छु फुल
चुसिबस्छु रस/रगत ।
म कहिलेदेखि नरभक्षी
राक्षस भएँ ?
म कहिले हरामी पिसाच भएँ ?

रौद्र रूपकी काली!
अब प्रतिशोधमा मलाई
चौकमा उधोमुण्टे
झुण्डयाएर
तिमीले देखेका कल्कलाउँदा
सपनाहरू देखाउनू,
सम्बन्धको गणित पढाउनू
र,
एउटा राक्षसलाई
मान्छेको सपना तुहेपछि
बाँच्नु कति गाह्रो हुन्छ
त्यसको अर्थ बुझाउनू।