स्वर्णिम गुरुङको कविताः उमार्नै पर्छ क्रान्ति !

कविता

स्वर्णिम गुरुङको कविताः प्रकाशित मिति : सोम, मंसिर १६, २०७६

स्वर्णिम गुरुङ: कालेबुङ, भारत

हे स्रष्टाहरू हो !
आउ अब हामी मिलेर
यस्तो कविताको खेती गरौं
जहाँ शब्दका बीउ छरेर
चेतनाको
विरूवाहरू
शुद्ध भावनाले गोडमेल गरौं र
उमारौं जागृतिको फसल
ताकि …
भाग्य खोसिएका
अधिकार लुटिएका
आफ्नै द्वारा ठगिएका
शोषित पिडित
अर्धमुर्छित हाम्रा जाति
ब्युँतिएर
क्रान्तिका पताका हाथमा उठाई
एकपटक फेरि
जाति र माटोको उन्मुक्तिका निम्ति
अस्तित्व र चिन्हारीका निम्ति
पूर्खाका किपटमा
हस्ताक्षर गराउनका निम्ति
जुरमुराई उठोस यो माटोमा ।
पलावोस बिप्लवका मुना
हरेक गोर्खे हृदयमा
शोषण र अत्यचार विरूद्ध
छलकपट,जाति माथिको विस्वासघात विरूद्ध।
अब आउने क्रान्ति
विशुद्ध क्रान्ति नै होस
नहोस फगत आडम्बर
तृप्त आँतहरूका।
किनकि देखिसक्यौं हामीले क्रान्ति
अघाएका पेटहरूका
हेरिसक्यौं क्रान्ति हामीले
हरिया नोटहरूमा साटिएका।
यसैले आउन पर्छ अब क्रान्ति यहाँ
चिसो चुल्होहरूबाट
आउन पर्छ अब क्रान्ति
बाँझो खेतका गराहरूबाट
आउन पर्छ अब क्रान्ति
चियाका बोटहरूबाट
र आउनपर्छ अब क्रान्ति
पटुकी कसिएका भोका पेटहरूबाट।
यसैले आउ साथी हो
धेरै बिसाइसक्यौं यहाँ हामीले
दुस्ख र वेदनाहरू
धेरै सिंगारिसक्यौं हामीले
जून तारालाई शब्दहरूमा।
तर .. अब हामीले
उमार्नु पर्छ चेतना
उमार्नु पर्छ जागृति
उमार्नु पर्छ क्रान्ति
उमार्नै पर्छ क्रान्ति ।।