सामाजिक सुरक्षा योजनालाई कार्यान्वयन गर्न, गराउन सरकारले भूमिका खेल्नु पर्छ : ट्रेड युनियनहरु

प्रकाशित मिति : बुध, मंसिर ११, २०७६

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयन गर्न, गराउन सरकारले प्रभावकारीरुपमा भूमिका खेल्नुपर्ने बताएको छ ।

बुधबार राजधानीमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको “सामाजिक सुरक्षा दिवस-२०७६” लाई सम्बोधन गर्नेक्रममा महासंघका कार्यबाहक अध्यक्ष जगत बहादुर सिम्खडाले ऐन कार्यान्वयनमा रोजगारदाताहरु इमान्दार नभएकाले सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन् ।

सामाजिक सुरक्षा योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न, गराउन र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन सरकारको गम्भीर ध्यानकर्षण गराउँदै कावा अध्यक्ष सिम्खडाले भने, “सामाजिक सुरक्षा कार्यान्वयनको लागि रोजगारदाताहरु इमान्दारीपूर्वक नआउने हो भने सम्पूर्ण मजदुरहरु आन्दोलनमा जान बाध्य हुनेछन् ।”

उनले आगामी दिनमा प्रतिष्ठानहरु कोषमा सुचीकरण हुने म्याद थप गर्ने सम्बन्धमा अखिल नेपाल ट्रेड युनियन महासंघ सहमत हुन नसक्ने बताए । साथै, सुचीकरणमा नआउने प्रतिष्ठानहरुलाई कडाइका साथ सुचीकरणको दायरमा ल्याउन सरकार र सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

श्रम ऐन २०७४ को दफा १४५ र १०९ लगायत मजदुर विरोधी प्रावधानहरुले आम श्रमजीवी मजदुर वर्गको ट्रेड युनियन अधिकारलाई कुण्ठित गरेको भन्दै कावा अध्यक्ष सिम्खडाले संशोधन गर्नुपर्ने र श्रम ऐन २०४८ को दफा ४१ ले ग्यारेन्टी गरेको आवास सम्बन्धी अधिकार श्रम ऐन २०७४ मा समेट्नु पर्ने बताए ।

सामाजिक सुरक्षा कोषले आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कानूनको पालनाबाट भाग्ने छुट कुनै पनि रोजगारदातालाई नभएको बताएका थिए भने श्रममन्त्री रामेश्वर राय यादवले तत्कालका लागि औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको भन्दै अनौपचारिक र स्वरोजगारमा संलग्नलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हालसम्म १० हजार भन्दा बढी रोजगारदाता र १ लाख १५ हजार श्रमिकहरु कोषमा सुचीकृत भएको बताएका थिए ।

हरेक वर्षको मंसिर ११ गतेलाई सरकारले सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने निर्णय गरेसँगै यस वर्ष सामाजिक सुरक्षा दिवस २०७६ मनाइएको हो ।