उपत्यकामा गुड्ने सवारी साधनलाई ट्राफिकले ल्यायो यस्तो नियम

प्रकाशित मिति : मङ्ल, मंसिर १०, २०७६

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो ।

ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृ’दयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । हर्नमा कडाइ गरेसँगै महाशाखाले आज १८८ सवारी साधनलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी हर्नमा कडाइ गरिएको जानकारी दिनुभयो । ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउने उहाँको भनाइ छ ।

महाशाखाले २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरेको थियो । ट्राफिक प्रहरीले हालसम्म जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारवाही गरिसकेको जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर रु ५०० जरिवाना गर्न सक्ने व्यवस्था छ ।

हस्तकलाका सामग्री चोर्ने पक्राउ
प्रहरीले रु १२ लाख मूल्य बराबरको हस्तकलाका (काँस तथा पित्तल) सामग्री चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले काठमाडौँ महानगरपालिका–१५ चमतीमा काभ्रेका २९ वर्षीय रमेश रसाइलीले सञ्चालन गरेको कारखानाबाट सामान चोरी गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो ।

“चोरी भएका सामग्री वनस्थलीस्थित रोशनको कोठामा लुकाएर राखेको भेटियो”, उहाँले भन्नुभयो । वृत्तले काँसको जस्तो देखिने घण्टी ४४५, काँस र पित्तलजस्तो देखिने नौसिङ्गे दोर्जे १५०, चारसिङ्गे एण्डी ११५ र घण्टीमा जोड्न प्रयोग गरिने विभिन्न पाटपुर्जा ६०५ थान बरामद गरेको छ ।