मखमली क्रान्ति र जुलियस फ्युचिक: शब्द चित्रमा

इतिहास

जय कार्की प्रकाशित मिति : आइत, मंसिर १, २०७६

जय कार्की

चेक राज्यलाई मखमली क्रान्ति(भेल्भेट रिभोलुसन, १९८९ नोभेम्बर,१७) को धङधङीले केही दशक त थामेको थियो, अब भने समाजबाद अर्थात कम्युनिष्ट सत्ताले हुर्काएको, बढाएको, आत्मास्वाभिमानी नागरिक बनाएकोे झलझल्ती उनीहरुका मानसपटलमा घुम्नमात्र पुगेको छैन । मखमली क्रान्तिकै विरुद्धमा लाखौं जनता सडकमा उत्रनु पर्ने दिन आएको छ, मखमली क्रान्तिका नायकहरुलाई सत्ताबाट सडकमा पछार भनि लाखौं युवा सडक संघर्षमा उत्रिनुपर्ने दिन आएको छ पूर्व चेकोस्लोभाकियामा ।
यो मखमली क्रान्तिले चेकोस्लोभाकियालाई चेक र स्लोभाक गरी दुईवटा देश विभजान गर्ने र समाजवादलाई ध्वस्त पार्ने काम गर्वका साथ गरेपनि विकासको गति अघि बढेन, जनताले सुखानुभूति गरेनन ।

भ्रष्टाचार, आर्थिक असमानता तथा नव उदारवादका विरुद्धमा नोभेम्बर १६ का दिन दुई लाखको जनता सडक संघर्षमा

आजको दिन अर्थात क्रान्तिको ३० वर्षपछि नोभेम्बर १७, २०१९ का दिन क्रान्ति पश्चात दुई देशमा विभक्त चेक र स्लोभाकका जनताहरु झन गरिब, कम्जोर, हतोत्साहित, महंगीका कारण शिक्षा र रोजगारीमा आएको अभावमा अर्को क्रान्तिको सुरसारमा जाग्दैछन । राजधानी प्रागस्थित न्यु योर्क विश्व विद्यालयको निर्देशक जिरी पेहेका भनाई अनुसार स्लोभाक राज्यको पचास प्रतिशत जनता र चेक राज्यको ४० प्रतिशत जनताको एउटै भनाई र भोगाई रहेको छ उनिहरु भन्छन “हाम्रो जीवन कम्युनिष्ट सत्तामा अहिलेको अवस्थाभन्दा निक्कै उत्तम थियो ।” ३० वर्षपछि पनि नसुध्रिएको र धनीहरुको पोल्टामा देशको ढुकुटी केन्द्रिकृत भएकोमा सबैभन्दा आक्रोशित छन युवा पुस्ता । भेलभेट क्रान्तिका नायक भाक्लाभ हावेललाई संसारकै स्वतन्त्रता सेनानी हो भनि साम्राज्यवादी संचार जगतले प्रचार गथ्र्यो तर अहिले अवस्था ठीक उल्टो हुँदै गएको छ । क्रान्ति भनेको जनतालाई सुखी बनाउनु हो, स्वाभिमानी बनाउनु हो । बाह्ये हस्ताक्षेपबाट भय मुक्त गराउनु हो । सम्पन्नताको मार्ग चित्र कोर्नु हो ।
यो त्यही देश हो जस्लाई हिटलरले सैनिक अखडामा बदलेको थियो, चेकोस्लोभाकियाको अस्तित्व नै मटियामेट पारेको थियो । समाजवादी तथा राष्ट्रवादी शक्तिहरु तानाशाह हिटलरको विरुद्ध अनेकौं मोर्चा बनाएर लडिरहेका थिए । त्यसमध्ये एकजना युवा निकै सक्रिय थिए । उनको नाम हो जुलियस फ्युचिक । उनको देशलाई सोभियत संघको लालसेनाले हिटलरबाट मुक्त गरेको थियो ।
यो मखमली क्रान्तिले हिटलरको फासीबादका विरुद्ध लड्दा लड्दै फाँसीको फन्दामा परेका महान योद्धा तथा पत्रकार जुलियस फ्युचिकको सालिक ढालेको थियो, जसरी लेनिन र स्टालिनको सालिकहरुलाई ध्वस्त गरेको थियो । तर, आज फेरी उनको संझना गर्न थालेका छन । र, युवा पुस्ता त्यसरी नै अर्को क्रान्तिको लागि सडकमा उत्रिएको छ । उनै फ्युचिकको संझनामा केही शब्द सुमन ।

 विश्व प्रशिद्ध चेकोस्लोभाक पत्रकार, लेखक जुलियस फयूचिक

जुलियस फयूचिक एक जना विश्व प्रशिद्ध चेकोस्लोभाक पत्रकार, लेखक तथा चेक कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य थिए । उनको जन्म सन १९०३ को फरवरीका दिन राजधानी प्रागमा एक मजदुर परिवारमा भएको थियो । उनका पिता स्पात कारखानामा काम गर्दथे । सन १९१३ मा फ्युचिक परिवारको साथ प्रागवाट पिल्सेन भन्ने स्थानमा बसाई सरेका थिए । र, त्यहीं सरकारी ब्यवसायिक स्कूलमा भर्ति भएका थिए । उनले १२ वर्षको उमेरमै स्लोभान नामको खबरपत्र संचालन गर्ने योजना बनाएका थिए ।
उनको रुचि राजनीति र साहित्य दुवैमा थियो । किसोरावस्थामा नै स्थानीय नाटयशालामा अभिनय पनि शुरु गरेका थिए । हिटलरको नाजिवादी हस्तक्षेपको कटु आलोचक मात्रै हैन फासिवाद विरुद्धको शसक्त अभियन्ता नै थिए । त्यसैले उनलाई हिटलरको गुप्तचर विभाग गेष्टापोले २४ अप्रिल १९४२ को वसन्तमा प्रागबाट गिरफ्तार गरी प्रागमा रहेको गेष्टापोको केन्द्रीय कार्यालयमा पहिलोपटक बन्दि बनाईएको थियो ।
त्यसपछि गेष्टापोले दिने संसारको सवैभन्दा कहालीलाग्दो यातनाहरु भोगेका थिए । कैदी जीवनकै अवधिमा उनले कागतको सानासाना टुक्रा र ठुटे पेन्सिलले फासिष्टहरुको अत्याचारहरुलाई दैनिकीका रुपमा लेख्दै उनलाई माया गर्ने र सहानुभूति राख्ने देशभक्त जेलको वार्डेनको सहयोगमा उनको श्रीमती गुस्तिनाले संकलन गरेको दैनिकी नै नेपालीमा प्रकाशित पुस्तक झुण्डयाउँदा झुण्डयाउँंंदै नामक विश्व प्रशिद्ध कृति हो । यो किताव फ्यूचिकले पैंक्रेटस जेलमा बन्दी जीवन बिताउँदा हरेक दिन मृत्युसित भिडन्त गर्दै मृत्युको हरेक पल गन्दै लेख्नु भएको थियो । यो संसार प्रशिद्ध कृतिको समीक्षा गर्दै बिख्यात प्रगतिवादी लेखक हार्वार्ड फास्टले संसारको उत्कृष्ट कृति भनि दिल खोलेर प्रसंसा गर्नु भएको छ भने भारतीय प्रगतिशील लेखक शैलेन्द्र प्रसादले पनि फाँसीको फन्दामा झुन्डिनु अघि यति हिम्मतसित नाजीवादको भण्डाफोर गर्नु र फासिष्टहरुको अन्त्यको लागि आन्दोलनरत रहनुलाई निकै महत्वपुर्ण ढंगले चर्चा गर्नुभएको छ ।
यो कृति झण्डै सयौं भाषामा प्रकाशित कृति हो । फ्यूचिकलाई नाजीहरुको अदालतले २५ अगस्त १९४३ मा फाँंसीको संजायको आदेश दिएको थियो भने मृत्युदण्ड ८ सेप्टेम्वर १९४३ मा बर्लिनमा उनी लगायत १४३ जनालाई मृत्युदण्ड दिएको थियो । संयोगको कुरा भन्नुपर्छ त्यहि ८ सेप्टेम्वरका दिनवाट हिटलरको फासिवादी सत्ता अन्त्यको दिन गन्ती निकै ठूलो पराजयसहित शुरु भएको थियो । अर्थात कुस्र्कको लडाईमा जर्मन फासिष्टहरुको लज्जास्पद पराजय सोभियत लालसेनाले चखाएका थिए ।
फ्यूचिक सोभियत संघप्रति निकै आशावादी थिए । सोभियत संघमाथि हिटलरको हमला विरुद्ध र आफ््नै देशमाथि फासिवादले कब्जा गरेकोमा त्यसका विरुद्ध प्रतिरोध आन्दोलन चलाएका थिए । हरेक ८ सेप्टेम्वरका दिन जुलियस फ्यूजिकको स्मृति दिवस संसारभरका समाजवादी, देशभक्त, फासीवाद विरोधी तथा क्रान्तिकारी पत्रकारहरुले मनाउने गरेका छन ।
अल्ला गिग्गस पपुलर मुभमेन्टका सचिव भन्छन यतिखेर चेकोस्लोभाकियाले जुलियस फ्यूचिकको शालिक अर्थात फासिवाद विरोधी प्रतिमाहरु फ्यूचिकको नाममा स्थापना गरिएका विश्व विद्यालय, विशाल पार्क, नाटयघर, विशालकाय कारखाना तथा फ्यूचिकको नाममा स्थापित सैनिक टुकडीको नाम परिवर्तन गर्ने, सडकको नामहरु बदल्ने र प्रतिमाहरु हटाउने अनि पाठयपुस्तकवाट जुलियस फ्युचिकको विषयमा समावेस भएको पाठलाई हटाएर पुनः फासिवादको सेवा गरिरहेको छ ।
हिटलरलाई पुज्न थालेको छ, देशभक्तहरुलाई माटोमा पुर्न थालेको छ । अमर शहीदहरुलाई ध्वस्त गर्न लागेको छ । के यो कुनै पनि सच्चा देशभक्त र समाजवादीलाई सैहय हुन्छ । यो संभव छैन, जुलियस फ्यूचिक, बुल्गेरियाका राष्ट्रपति ज्यार्जी दिमीत्रोभ र लेनिनको शवलाई अपमान गर्ने धृष्टता गरेर मानवीय संवेदनहीन पुँजीवादको पनि भविश्य छैन ।
त्यसैले हाम्रो गौरवको अन्त्य गर्न दिनुहुदैन । त्यसमाथि पुँजीवादी धावा बोल्न दिनुहंदैन । जुलियस फ्युचिकको शालिक प्रागको चोकबाट हटाउंदैमा, उनको नामको सडक र कारखानाको नाम फेर्दैमा समाजवाद हराएर जांदैन, कम्युनिष्ट कदापी मर्दैन भन्नु हुन्छ ।
स्मरण रहोस चेकोस्लोभाकियाको कम्युनिष्ट सरकारले फ्यूचिकको धर्मपत्नी गुस्ता फुचिकोभालाई महिला संगठनको धेरै दशकसम्म सम्मान गरेर अध्यक्ष पदमा स्थापना गरायो भने फ्युचिकको तस्वीर पार्टी कार्यालय र पार्टी मिटिङ्गमा अनिवार्य गराएको थियो । उनी चेकोस्लोभाकियाको नायक थिए ।
चेकोस्लोभाकियालाई सोभियत लालसेनाले हिटलरको सेनालाई नाङ्गै आएको थिइस नाङ्गै फर्की भन्दै जर्मनीतिर लखेटेका थिए । त्यसपछि फासिष्ट हिटलरको कब्जावाट यो देश मुक्त भएको थियो ।
 

फयुचिकको कृति Notes From The Gallows (फांसीको फन्दावाट टिपोट)

फयुचिकको Notes From The Gallows (फांसीको फन्दावाट टिपोट) अर्थात झुण्डयाउँदा झुण्डयाउँंदै नामक कृति गुस्तिानाले सि.पि.सी.को सहयोगमा सम्पादन गरी सन १९४७ मा प्रकाशित गरेकी थिइन । भनिन्छ यो पुस्तक स्टालिनले चेकोस्लोभाकियामाथि सन १९४८ मा हस्तक्षेप गरेपछि सवैभन्दावढि लोकप्रिय भएकाले ९० वटा भाषामा प्रकाशित भएको थियो ।
फ्युचिकसित सहानुभुति राख्ने जेलका वार्डेनहरु कोलिन्सी र होरा नाम गरेका दुई जना थिए । जसको सहायताले नै सिगरेटको कागतको टुक्रामा लेखिएको दैनिकीहरु बाहिर पठाइन्थे ।
मई महिनाको १९४३ मा फ्यूचिकलाई जर्मनीमा ल्याइएको थियो प्रथम त उनलाई झण्डै दूई महिनाभन्दा बढि बाजेन भन्ने ठाउँमा राखिएको थियो । त्यसपछि बर्लीनमा । फ्यूचिकसंगै उनका साथी जारोस्लाभ क्लेकानलाई पनि प्लोटजेन्सी जेलमा फाँसीको फन्दामा झुण्डयाएर हत्या गरिएको थियो । तर अरुको जस्तो गरी उनको टाउको गिँंडिएको थिएन ।
हामी कम्युनिष्ट राजनीतिमा अचेल आफु बाँंच्नको लागि सिंगो पार्टी हेडक्वार्टरदेखि पार्टीको सिंगो योजना शत्रुहरुलाई प्रमाण जुटाई दिएर बांँचिरहेका उदाहरणहरु सुन्छौं । तर फ्यूचिकले सवैलाई वचाउन सँंधै सबैभन्दा बढि यातना खाएका थिए । तर कहिल्यै पनि पार्टी नेतालाई पोलेका थिएनन । यसकारण पनि उनी सदासर्बदा स्मरणीय रहेका छन । उनका भत्काइएका सालिकहरुको पुन निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।