देशकै सबै भन्दा ठुलो पार्टी नेकपाको शक्ति हस्तान्तरण पुष्पकमल दाहाल प्रचण्डलाई

प्रकाशित मिति : शुक्र, कार्तिक २९, २०७६

काठमाडौं,- हालसम्म दुई अध्यक्षको सल्लाह र सामुहिकताका आधारमा निर्णय हुने गरेको नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक, निर्णयको प्राधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा हस्तान्तरण हुने भएको छ ।

शुक्रबारको सचिवालय बैठकमा उक्त प्राधिकारमा सर्वसम्मत निर्णय गराउने प्रयत्नमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लागेका हुन् । मन्त्रिपरिषद्को बैठक डाक्ने र अति नै महत्वबाहेकका निर्णय गर्न सक्ने अधिकार भने वरिष्ठ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिन लागिएको बताइएको छ ।

सचिवालय बैठकमा सरकारका मन्त्री हेरफेरका विषयमा पनि चर्चा हुनेछ । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री पोखरेलबाहेकका अन्य मन्त्रीको विकल्पबारे राय सुझाव माग गरेको बताइएको छ ।

स्वास्थ्यका कारण प्रधानमन्त्री अति सक्रिय हुने अवस्था नरहेको तथा उपचारका लागि विदेश जान पर्ने भएकाले प्रचण्डलाई पार्टी र पोखरेललाई सरकारको कार्यकारी अधिकार दिन लागिएको उच्च स्रोतले जनाएको छ ।