प्रदेश प्रमुख नियुक्त, पूर्वएमाले र माओवादीको भागमा कति

प्रकाशित मिति : सोम, कार्तिक १८, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सात वटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले भागबन्डाकाआधारमा प्रदेश प्रमुख नियुक्त गरेको छ ।

बैठकको निर्णयअनुसार ७ मध्ये ४ वटा प्रदेशप्रमुख पूर्व एमाले र ३ वटा पूर्व माओवादी केन्द्रले पाएको छ ।

पूर्व एमालेका तर्फबाट धर्मनाथ यादव (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (काश्की) , विष्णु प्रसाई (झापा)र गोविन्द कलौनी(डडेलधुरा) तथा पूर्व माओवादी केन्द्रबाट अमिक शेरचन(चितवन), तिलक परियार (बाँके)र शर्मीला त्रिपाठी(काठमाडौं) प्रदेश प्रमुख बनेका छन् ।

को हुन् सरकारले नियुक्त गरेका प्रदेश प्रमुख ?

चितवनका शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । एक समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय थिए ।

प्रदेश प्रमुखमा सिफारिस भएका सिराहाका यादव नेकपाका केन्द्रीय सदस्य समेत हुन् । प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए ।

यस्तै चितवनकी त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो ।

पूर्वसभासदसकेत रहेका कास्कीका अधिकारी प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारको दाबेदार थिए । बाँकेका तिलक परिवार पूर्वसभासद हुन् ।

शिक्षण पेसा छोडेर राजनीतिमा आएका कलौनी सुदूर पश्चिम क्षेत्रका पूराना वामपन्थी नेता हुन् । कलौनी २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धामा उत्रिएका थिए । तर, उनी देउवासँग पराजित हुन पुगे ।

कलौनी २०५६ को चुनाव छिमेकी बैतडीबाट लडे । २०६४ को संविधान सभामा उनी कञ्चनपुरबाट उठे । तर उनले कहिल्यै जित हात पारेनन् ।

२५ वर्षअगाडि देउवासँग हारेका कलौनी अन्ततः संवैधानिक पदमा पुग्न सफल भए ।