संगठनभित्र आर्थिक अनियमितता गर्नेहरु कसैलाई छुट दिँईदैन- अध्यक्ष जगत सिम्खडा

प्रकाशित मिति : बिहि, कार्तिक ७, २०७६

७ कार्तिक ०७६, काठमाडौं,अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यवाहक अध्यक्ष जगत सिम्खडाले संगठनभित्र रहेका आर्थिक अनियमिततालाई रोक्ने बताएका छन् । प्रदेश ३ का प्रदेशसभा सदस्य समेत रहेका कावा अध्यक्ष सिम्खडाले बुधबार दशैैं, तिहार, नेपाल सम्वत, छठ पर्व लगायतका चाडपर्वहरूको उपलक्ष्यमा महासंघको केन्द्रीय कार्यालय कोटेश्वरमा अखिल नेपाल सेक्युरिटी मजदुर संघले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । ‘संगठनको सबै तहमा तहअनुसारको भ्रष्टाचार र अनियमितता रहेकाले महासंघले आर्थिक मामिलामा कसैलाई छुट दिँदैन’ कावा अध्यक्षले भने, ‘यदि मैले एक रुपैयाँ मात्र विधिभन्दा बाहिर गएर लिएको र खर्च गरेको प्रमाण आए संगठनमा एक मिनेट पनि बस्दिन र यदि कसैले गर्छ भने महासंघले आवश्यक कारवाही गर्छ ।’ ‘हिजोका दिनमा संगठन जसरी चल्यो, चल्यो, अबका दिनमा त्यसरी चल्ने छैन्, उनले भने, ‘अब विधि र प्रक्रियामा मात्रै संगठन चल्छ, ढुक्क हुनुस् ।’ उनले सेक्युरिटी संगठनमा मूल इकाइदेखि जिल्ला, प्रदेश र केन्द्रसम्म आर्थिक अपारदर्शिता भएको सुन्न आएकाले यदि साँच्चिकै गडबडी भएको प्रमाण आए महासंघले आवश्यक कदम चाल्ने बताए ।

अर्को एक प्रसंगमा अध्यक्ष सिम्खडाले इजाजत नलिई कुनै पनि सेक्युुरिटी कम्पनी लगायत उद्योग सञ्चालन गर्नेहरूको महासंघले भण्डाफोरसहित संघर्षको कार्यक्रम गर्ने बताए । साथै, न्यूनतम् बेतन, सामाजिक सुरक्षा कार्यान्वयन, श्रम ऐनका सवालमा तिहार लगतै महासंघले देशभर कार्यक्रम लैजाने बताए ।

यस्तै जिफन्टसँगको एकता प्रक्रियाका सन्दर्भमा अन्टुफले मई दिवससम्म महासंघको एकतालाई सम्पन्न गर्ने गरी सांगठनिक तयारी गरिसकेको पनि उनले बताए । उक्त चियापान कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष जय कार्की, धनबहादुर विक, एस.बी.थापा, उषा देवकोटा, उपमहासचिव शालिकराम काफ्ले, विष्णुकुमारी थापा, प्रकाश श्रेष्ठ, कोषाध्यक्ष घनश्याम ठकुरी लगायत विभिन्न पेशाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अखिल नेपाल सेक्युरिटी मजदुर संघका कार्यवाहक अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतामा आयोजित चियापान कार्यक्रममा स्वागत मन्तव्य सेक्युरिटी मजदुरका उपाध्यक्ष नारायण खरेलले राखेको थियो भने सञ्चालन महासचिव मानबहादुर थिङले गरेको थियो ।