नेपाल नयाँ र उज्जवल भविष्यतिर, विकास र समृद्धिको युगतिर प्रवेश गर्दैछ – प्रचण्ड

SB Thapa प्रकाशित मिति : बिहि, अशोज ३०, २०७६

नेपाली चाडपर्वहरूको शुभकामना मात्रै दिन आएको छुप्रधानमन्त्री

यसैगरी उक्त चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूले चियापान कार्यक्रममा नेपाली चाडपर्वहरूको शुभकामना मात्रै दिन आएको बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री कमरेड प्रचण्डले सम्बोधन गरिसक्नुभएको भन्दै प्रधानमन्त्री ओलीले आफूले चाडपर्वहरूको शुभकामना मात्रै दिने बताएका हुन् ।

‘सबैभन्दा पहिले त म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई २०७६ सालको बडादशैं, तिहार, नेपाल सम्वत्, छठ ल्होसार, उधौली–उभौलीको अवसरमा हार्दिक बधाई एवम धेरै धेरै शुभकामना भन्न चाहन्छु’ अध्यक्ष ओलीले भने, ‘मैले राष्ट्रिय सन्दर्भमा पनि भन्नेवाला छैन्, अन्तर्राष्ट्रिय सन्दर्भमा पनि भन्नेवाला छैन् । म खाली चाडवाडको शुभकामना मात्रै भन्नेवाला छु । मैले अरु कुरा राजनीतिक फोरममा गर्नेछु, यहाँ भन्नुपर्ने कुरा कामरेड प्रचण्डले राखिसक्नुभएको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातदशक लामो नेपाली जनताको संघर्षको रुपमा आएको यो परिवर्तनलाई कसैले चुनौति दिन नसक्ने बताएका छन् ।

नेकपाले बुधबार प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको चियापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा नेकपाका अध्यक्ष प्रचण्डद्वारा गरिएको सम्बोधनको सम्पादित अंश :

“…पछिल्लो चरणमा आउँदा त्यो एउटा नयाँ उचाईतिर, नयाँ अग्रगमनतिर नेपालको राष्ट्रिय हित र समृद्धिमा सहायक हुने गरी सम्बन्धहरू विकसित भएका छन् ।

भारतसँग भएको तेलको पाइप लाइन उद्घाटन गर्ने विन्दुसम्म आइपुग्दा र भर्खरै चीनका महामहिम राष्ट्रपति सी जिनपिङको सफल र ऐतिहासिक भ्रमणकाक्रममा विकसित भएको विश्वास र सद्भावको नयाँ उचाई साथसाथै त्यसक्रममा गरिएका सहमति र समझदारीहरूले नेपाल नयाँ र उज्जवल भविष्यतिर, विकास र समृद्धिको नयाँ युगतिर प्रवेश गर्दैछ ।

हामीले भन्दै आएको ‘त्यो भाषा’ चिनियाँ राष्ट्रपतिले पनि दोह¥याउनु भयो, ‘नेपाल भू–परिवेष्टित होइन भू–जटित देशमा परिणत गर्न हाम्रो सहयोग रहन्छ ।’ यसले के पुष्टि गदर्छ भने हाम्रा छिमेकीहरूको विकासबाट लाभान्वित हुने, नयाँ राजनीतिक विश्वासको वातावरण बन्दैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चिनियाँ राष्ट्रपतिले एकदिन छलफल गरेर नेपाल आई जुन विश्वास र समझदारीको वातावरण बनेको छ, मैले केही वर्ष पहिले भारत भ्रमणमा जाँदा होस् वा चीन भ्रमणमा जाँदा हाम्रो विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय आर्थिक विकास रणनीतितिर हामी जानुपर्दछ भनेर प्रस्ताव अगाडि सारेको थिएँ । अब त्यो त्रिदेशी साझेदारीको आर्थिक विकासको आधारहरू तयार हुँदै गइरहेको छ, त्यो समझदारी बन्दै जान थालेको सुन्नुभएको होला, टू प्लस वन भनेर । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिचमा पनि छलफल अघिबढ्न थालेको छ र एउटा नयाँ परिस्थिति बन्न थालेको छ ।

हामी नेपालीको काँधमा ठूलो जिम्मेवारी छ । संवैधानिक, कानुनी र राजनीतिक वातावरणलाई हामी नयाँ संकल्पको साथ नयाँ राष्ट्रिय एकताको उचाइको साथ हाम्रो राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुद्धृढ गर्दै नेपाली जनताको छिटोभन्दा छिटो विकास र समृद्धि हेर्न चाहने आकांक्षालाई सम्बोधन गर्न हामी सबैले नयाँ संकल्प गर्न जरुरी छ ।

यस खालका कार्यक्रमबाट हामीले गर्ने प्रतिबद्धता भनेको अझ सुदृढ राष्ट्रिय एकता हो । जसको सहमतिबाट युद्धलाई हामीले शान्तिमा रुपान्तरण ग¥यौं ती राजनीतिक प्रमुख दलहरू; जसको सहमतिबाट हामीले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनायौं; जसको सहमतिबाट निर्वाचन सम्पन्न गरेर नयाँ राजनीतिक स्थायीत्वको बातावरण बनायौं; अब यसलाई शक्तिको रुपमा विकासको निम्ति, समृद्धिको निम्ति रुपान्तरण गर्ने दायित्व हाम्रो काँधमा आएको छ ।

लोकतन्त्रमा, यो ऐतिहासिक उपलब्धिकाविरुद्ध विभिन्न कोणबाट टिकाटिप्पणी हुने कुरा त होलान् तर सात दशक लामो नेपाली जनताको संघर्षको रुपमा आएको यो परिवर्तनलाई कसैले चुनौति दिनसक्ने स्थिति छैन् । अहिले पनि संसदमा भएका सबै राजनीतिक दलहरू यो राजनीतिक परिवर्तन, यो संविधान र विकास र समृद्धिको नारामा एकमत छौं । हामी एकमत भएर नै अगाडि जान्छौं ।

अन्तमा, २०७६ सालको जाँदै गरेको विजया दशमी र आउँदै गरेको दिपावली, नेपाल सम्बत्, छठ, ल्होसार लगायतका पर्वहरूको शुभकामना ।”

बडादशैं, तिहार, नेपाल सम्बत्, छठ लगायत नेपाली चाडपर्वहरूको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा शीर्षस्थ नेताहरू, मन्त्रीहरू, सांसदहरू साथै हजारौं नेता, कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।