न्यूनतम् वेतन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभए दशैं–तिहार लगतै आन्दोलन – अन्टुफ अध्यक्ष

प्रकाशित मिति : बुध, अशोज १५, २०७६

अन्टुफ प्रदेश पाँचको बैठक तथा प्रशिक्षण कार्यक्रम

दाङ । अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यबाहक अध्यक्ष जगतबहादुर सिम्खडाले न्यूनतम् वेतन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने औधोगिक प्रतिष्ठानहरूविरुद्ध आन्दोलन शुरु गर्न निर्देशन दिएका छन्् ।
बिहीबार दाङको भालुवाङमा आयोजित महासंघको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै ३ नंं. प्रदेश सांसद समेत रहेका कावा अध्यक्ष सिम्खडाले सामाजिक सुरक्षामा सुचीकृत नहुने र श्रमिकको सूचीकरण नगर्ने प्रतिष्ठानविरुद्ध दशैं–तिहार लगतै श्रमिकहरूलाई आन्दोलनमा उत्रन निर्देशन दिएका हुन् ।
उक्त बैठकबारे संक्षिप्त प्रतिक्रिया दिँदै महासंघ ५ नं. प्रदेश अध्यक्ष दानबहादुर ओलीले अन्टुफ–जिफन्ट एकताको तयारीका लागि प्रदेशस्तरीय बैठक बसेको जानकारी दिए ।

नेता ओलीले मंसिरभित्र सबै जिल्ला र स्थानीय तहसम्म एकता तयारी बैठक तथा सांगठनिक अभियान सञ्चालन गरिसक्ने साथै सामाजिक सुरक्षा कोषमा सुचीकृत नहुने, न्युनतम् वेतन कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध सशक्त संघर्षमा उत्रन समेत कावा अध्यक्ष सिम्खडाले निर्देशन गरेको जानकारी दिए ।
उनले बैठकमा महासंघका उपाध्यक्षद्वय धनबहादुर वि.क. र सोमबहादुर थापाले श्रम ऐन २०७४ मा रहेको सकारात्मक र नकारात्मक दफाबारे प्रशिक्षण दिएको र सचिव एवम् प्रदेश नं. ५ का इन्चार्ज समेत रहेकी सांसद लालकुमारी पुन सुशीलाले सांगठनिक विषयमा प्रशिक्षित गरेको बताए ।


यस्तै अध्यक्ष ओलीले महासंघ सचिवालय सदस्य कुमार पन्तले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनबारे प्रशिक्षण दिएको जानकारी दिए ।