चियाको बुटामा अल्झेको जिन्दगानी- अर्जुन शर्मा निरौला

अर्जुन शर्मा निरौला प्रकाशित मिति : आइत, अशोज १२, २०७६

अर्जुन शर्मा निरौला कालेबुङ, गीतखोला

बिशाल देश भारत
गणतान्त्रिक भारत
प्रजातान्त्रिक भारत।
खोई प्रजातन्त्र
खोई गणतन्त्र ?
खोई न्याय
श्रमजीवीहरूलाई ?

चिया श्रमिक हामी
दार्जीलिङ तराई डुवर्स
बिश्व प्रसिद्ध चिया। ।
अठारौं शताव्दीको कथा
अंग्रेजले पसिना खाए
दास बनाए
मान्छे गनेनन् ,
हामी गोर्खा-आदिवासीहरूलाई।

पशु सरह व्यवहार गरे
सहे पिता पुर्खाहरूले यी काला कानुन ।
सहिरहेछौं हामी नात-पनात पनि।
अंग्रेज फर्के तर कालो कानुन फर्किएन
मालिक फेरियो, कानुन फेरिएन।

पुस्तौं बिते हाम्रो
कमानको घण्टीको तालमा।
लोकड़ा
छोकड़ा
औरत
मरद
कामदारी
चप्रासी
मुन्सी
बस् – हाम्रो तरक्कीहरू।

मालिकहरू
मदन-मदिरा, सुख सयन सबै हाम्रा पसिनाहरू।
साईली र माईलीका फुटेका हत्केलाहरू
रामबहादुर र बिर्खबहादुरहरूको
टुमटुम जिन्दगीहरू
भोट हाल्ने मसिन हामी ।

खोई नेता ?
हाम्रै पसिनामा, रोटी सेक्नेहरू ।
तालाबन्दी हुन्छ बगानमा
पत्तीको सिजन सकिएपछि ।
खोई तलब ?
खोई मौलिक हक ?
नेता दुलो पस्छ (भोट पाएपछि)।

सिजन हुन्छ
कमान खुल्छ ।
नेता भुक्छ
हामीले बगान खोल्यौ।

यो देश
कमिशनखोरहरूको देश
पाईला पाईलामा कमिशन चल्छ यहाँ ।
नेतालाई कमिशन
कार्यकर्तालाई कमिशन।
जन्ताको पसिना हारालुछ हुन्छ यहाँ ।

नारा जुलुस र झण्डाहरू
घरमा छोरा छोरी कुपोषणको शिकार छन्
भोको पेट, श्रमिकहरू
आफ्नो पसिनाको मोल मांग्न
घोक्रो सुकिन्जेल कराउॅनुपर्छ
शहर जानु पर्छ अधिकार मांग्न।
हाम्रो बोनस दिनैपर्छ
रोज बृद्धि हुनैपर्छ
इत्यादि इत्यादि।

खोई ?
शिक्षाको अधिकार
स्वास्थ्य सेवा
असल घर
पिउॅने पानी
शौंचालय
खोई निम्नतम् सुबिधा ?

खोई ?
हाम्रो परिचय
आफ्नै भूमिमा सुक्कुमवासी हामी।
बंगोप सागरमा छ हाम्रो नाकदोरी
मधेशमा छ चाबुक। ।
कति सहने ?
कति खप्ने ?
कति मागिरहने ?
आफ्नै घरमा किरायदार हामी
पुर्खाको माटोमा सुक्कुमवासी हामी
श्वास फेर्नलाई पनि सोध्नु पर्ने अवस्था ।

अब
सुत्नु हुँदैन हामी
खोस्नुपर्छ हक अधिकार।
बिउॅझिनुपर्छ
हाम्रो पसिनाको कमाई हामीले
खान पाउॅनुपर्छ।
मालिक भएर बाँचौं
रैती नबनौं अब।
बिशाल देश भारत
गणतान्त्रिक भारत
प्रजातान्त्रिक भारत ।

…………………………………
कविताको शीर्षक हामीले परिवर्तन गरेको जानाकारी गराउँछौं । यो कविताको शीर्षक चियाको बोट र श्रमिक थियो । धन्यवाद