दसैंलाई लक्षित गरी भेडा-च्याङ्ग्रा, विभिन्न जिल्लाबाट काठमाण्डौ भित्रिदै (फोटो र भिडियो)

प्रकाशित मिति : बुध, अशोज ८, २०७६

जोमसोम । दसैंलाई लक्षित गरी विभिन्न जिल्लाका व्यापारी मुस्ताङको जोमसोम आउन थालेका छन्। सोमबार कास्की, म्याग्दी, स्याङ्जा, तनहुँ, पर्वतलगायत जिल्लाबाट व्यापारी जोमसोम आइपुगेका हुन्।

पछिल्लो समय जोमसोम-कोरला यातायात सडक सञ्जाल सहज भएकाले कतिपय व्यापारी उपल्लो मुस्ताङसम्म पुगेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।

जोमसोमका स्थानीय होटेल व्यवासायीको खोरमा रहेका भेडा-च्याङग्राको मोलतोल सुरु भइसकेको छ। यसवर्ष साविक वर्ष भन्दा कम भेडा-च्याङ्ग्रा जोमसोम झरेको म्याग्दी रघुगंगा गाउँपालिका २ का व्यापारी धुब्र खत्रीले बताए। उनले कोरलानाका हुँदै जोमसोममा भेडा-च्याङ्ग्रा कम झरेकाले मूल्य बढेको सुनाए।

‘विगत २६ वषअघिदेखि बर्सेनी च्याङ्ग्राको व्यापार गर्दै आइरहेको छु। जोमसोममै भेडा-च्याङ्ग्राको मुल्यमा ३ हजार बढीका दरले महङ्गो भएको छ’, उनले भने, ‘यही च्याङ्ग्रा महंगिएकाले बेशी बजारमा लगेर मुश्किल पर्ने देखेको छु।’ खत्रीका अनुसार मंगलबारसम्म करिब १३ हजार भेडा-च्याङ्ग्रा झरेका छन्।

म्याग्दी बेनी नगरपालिका-१० का टेकबहादुर पाइजा पनि दसैंका लागि च्याङ्ग्रा खरिद गर्न मुस्ताङ आएका छन्। विगत ७ वर्षदेखि च्याङ्ग्रा व्यापार थालेकाका पाइजाले स्थानीय व्यापारी र डोल्पाबाट च्याङ्ग्रा जोमसोम झरेको उल्लेख गरे। तिब्बतबाट भेडा -च्याङ्ग्रा कम भित्रिएकाले जोमसोममा च्याङ्ग्र्राको मूल्य बढेको बताए।
गतवर्ष मुस्ताङबाट २३ हजार भेडा-च्याङग्रा बिक्री भएका थिए। यसपटक त्यो संख्या बढ्ने देखिएको व्यापारीको अनुमान छ। स्थानीय तहले कर लिन थालेपछि मूल्य भने बढेको व्यापारी काजी बुढाले बताए।

मुस्ताङको जोमसोममा भित्रिने च्याङग्रालाई स्थानीय प्रशासनले अनिवार्य भेटनरी परीक्षण गर्न लगाएको छ। वरिष्ठ पशु चिकित्सक डा. लक्ष्मण ढकालले मुस्ताङबाट बाहिरिने च्याङ्ग्राको अनिवार्य पशु भेटनरी परीक्षण गर्नुपर्ने बताए।

उनले सर्वसाधारणको स्वास्थ्यका लागि पुश मेडिकल परीक्षण आवश्यक भएको जनाए। चिकित्सक ढकालका अनुसार यसवर्ष खाद्य संस्थानले मुस्ताङबाट २ हजार च्याङग्रा खरिद गरेको छ।

खाद्यले गतवर्ष मुस्ताङबाट १ हजार च्याङग्रा खरिद गरेको थियो। पशु चिकित्सक ढकालका अनुसार मुस्ताङबाट जिउँदो च्याङग्रा प्रतिकेजी ५ सय ६० र गोठाला खर्च २ सय २५ जोडेर ८ सय २५ मा बिक्री गर्ने जनाएको छ। अन्नपुर्णबाट साभार