यो गोर्खे पल्टने जिन्दगी -बि.कुलुङ राई रंगबुले

प्रकाशित मिति : आइत, भदौ ८, २०७६

बि.कुलुङ राई रंगबुले

नियमवालीको गह्रौं चाँपले थिचिएको
अज्ञात तर
यो गोर्खे हवल्दारे शिथिल शरीर
त्यहीमाथि
गह्रौं बन्दुक र गोलाहरुको थप भारहरुसँगसँगै
देशको सिङ्गै सुरक्षाको
अभिभारहरुले कुजिएको यो कुम
देशको मायालाई छातीमा रोपेर
मृत्युको झारहरुलाई पन्साउदै
जिन्दगीको क्षितिजलाई हेर्नु पर्ने
बकबास यार !
यो गोर्खे पल्टने जिन्दगी !
ड्युटी अवाधि
सर्दी जुखाम लागोस् कि
चाहे मलेरिया इबोलाले नै किन नछुवोस्
ड्युटी अवाधि…
हिउँ झरोस् कि चाहे
लू नै किन नलागोस्
जे होस्
तगडा छ यार !
यो पल्टने जिन्दगी।
ब्वाङ्ग कि ब्वाङ्ग मैले
सेलेरी थापेर आएको मात्रै भन्दै होलौ,
ढ्याङ्ग कि ढ्याङ्ग मैले
पैसा कमाएर ल्याएको मात्रै देख्दै होलौ!
त्यहाँ
जुन मोड(मोडहरुमा
बिछ्याइएको थियो माइनहरु
म त्योहि रोड भएर आए
त्यहि माइनहरुलाई नाधेर
आए यसपालिको
छुट्टीमा
त्यहाँ
ताजा कारतुस र
तातो बुलेटहरुको त
बौछार थियो यार ! बौछार
म जुन सिमाना छोडेर आए
यसपालिको यो छुट्टीमा
मैले मेरो
त्यो आफ्नो मृत्युलाई एकछिन बिसाएर नै आए !
अङ्गालोमा हाल्छु भन्दै थियो
मलाई
जिन्दगीको छुट्टी मिलादिन्छु भन्दै
असुभचिन्तक मेरो ऊ सुसाइड बम्बरहरुले
म जुन अबस्थाबाट जोगिएर आए
यसपालि
मैले मेरो कर्तव्यहरुलाई एकछिन
भुलेर
म मेरो हक छुट्टीमा आए !
मतलब साफ छ यार !
जुन दिन यो गोर्खे हवल्दार
सहिद बन्नेछ
तिरङ्गाले बेह्रेको काठको कफिनभित्र
सिमित रहने छ
एउटा गोर्खे हवल्दारको शौर्य कथा

नाङ्गो आकाशले
मेरो नाममा
थाप्नेछ बाह्रनाल बन्दुकको सलामी ?
दुई चार अर्थहीन त्यो पित्तले तक्माहरुको
दन्ते कथाहरु त
के हाक्नु र अब
जो रिटायर
गोर्खे फौजहरुले आफ्नो
जन्मसिद्ध अधिकार खोज्दै प्रदर्शन गर्ने हुदा
निधार फुटाई मागेका धुव्र सत्य
खडा छ सामुन्ने
फालिन लागेर
नेशनल मिडिया समेतसम्म आई नपुग्ने
देशको
मानचित्रबाट नै मेटिएको यो मेरो रैथानेमा
आउनु त आइपुगे
म हवल्दार
जसोतसो छुट्टीमा यो साल
दुसरा साल रु
देखा जाएगा यार !!